विमानस्थलमा ढिलाई

कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटबाडामा सुनथराली विमानस्थल निर्माण थालिएको चार दशक पुग्न थाल्यो । २०४२ सालदेखि विमानस्थल निर्माणको योजना अघि बढेको थियो । स्थानीय नागरिकको पहलमा त्यतिबेला तत्कालीन जिल्ला विकास समिति कालीकोटले एक लाख रकम विनियोजन गरेर विमानस्थल निर्माणको काम सुरु गरिएको हो । त्यसको ६ वर्षपछि २०४८ मा मात्रै सरकारले सुनथराली विमानस्थललाई आफ्नो योजनामा राखेर बजेट विनियोजन गरेको थियो । सरकारको योजनामा परेपनि निर्माणको काम भने नियमित हुन सकेन । बिचमा द्वन्द्वका कारण पनि विमानस्थल निर्माण कार्य अवरुद्ध भयो भने द्वन्द्वपछि पनि बिचमै अलपत्र छोड्दा लामो समयसम्म विमानस्थल सञ्चालन हुन नसकेको हो । ३७ वर्षपछि विमानस्थलका लागि पूर्वाधार तयार भएको छ । तर निर्माण सम्पन्न भइसक्दा पनि परीक्षण उडानमै अमलम देखिएको छ ।

गत वैशाखमै परीक्षण उडान गर्ने भनिएको थियो । नयाँ वर्षकै दिन परीक्षण उडान गर्ने तयारीसहित बाँकी रहेको काम पनि तीव्र गतिमा गरिएको थियो । तर दुई महिना बित्न लागिसक्दासम्म सुनथरालीमा परीक्षण उडान हुन सकेको छैन । परीक्षण उडान नै नहुँदा विमानस्थल सञ्चालनमा थप अलमल देखिएको छ । विमानस्थल सञ्चालनका लागि आवश्यक निर्माणको काम सकिएको छ । यद्यपि, विविध कारण देखाउँदै परीक्षण उडान पर धकेलिएको छ । नेपाल वायु सेवा निगमले अहिले जहाज नभएको भन्दै परीक्षण उडान गर्न ढिलाइ गरेको छ । वैशाख १ गते गर्ने भनिएको परीक्षण उडान आगामी असारमा गर्ने तयारी गरिएको बताइएको छ । निगमले वैशाख पहिलो सातामा पूर्वाधार निर्माणको काम नसकिएकाले उडान गर्न नसकिएको जनाएको छ । यद्यपि, विमानस्थल आयोजनाले भने परीक्षण उडानका लागि प्राविधिक समस्या नरहेको बताएको छ । विमानस्थल निर्माणको काम सम्पन्न भएकाले परीक्षण उडान गर्न सकिने अवस्था रहेको जनाइएको छ । त्यति मात्रै होइन आयोजनाले पूर्वाधार निर्माणको काम सकिएको प्रतिवेदन सम्बन्धित ठाउँमा बुझाइ सकेको छ । परीक्षण उडानबाट सञ्चार, कन्ट्रोल टावरसहित विमानस्थलमा जडित उडान–उपकरणहरूले काम गरे–नगरेको पत्ता लाग्नेछ । यस्तो फ्लाइटमा विज्ञहरू सहभागी हुन्छन् । कम्युनिकेशन र कन्ट्रोल टावरसँग सम्बन्धित उपकरणको परीक्षण सफल भएपछि जहाज उडान÷अवतरणको बाटो खुल्ने हो ।

परीक्षण उडान सफल भएपछि मात्र नागरिक उड्डयन संगठनबाट मान्यताप्राप्त रूट स्थापित गर्नुपर्ने हुन्छ । रूट प्रकाशित भइसकेपछि भने व्यावसायिक उडानको बाटो खुल्नेछ । परीक्षण उडान सफल भएपछि मात्र ‘आयोजनाको काम सम्पन्न भयो’ भन्न सकिन्छ । तर अहिलेसम्म परीक्षण नै हुन सकेको छैन । निर्माण भइसक्दा पनि परीक्षण उडानमै भएको अलमल अन्त्य गरेर जतिसक्दो छिटो विमानस्थल सञ्चालनमा ल्याउनेगरी काम अघि बढाउन जरुरी देखिन्छ ।

प्रकाशित मितिः   २६ जेष्ठ २०८०, शुक्रबार ०५:०३