चौरजहारी विमानस्थल: चार वर्षदेखि हवाई सेवा बन्द

विमानस्थलमा ताला, नेपालगञ्ज सारियो कार्यालय

सुर्खेत: रूकुम–पश्चिमको चौरजहारी विमानस्थल विगत चार वर्षदेखि बन्द छ । २०७६ सम्म नियमित सञ्चालनमा रहेको विमानस्थल त्यसयता भने सञ्चालन हुन सकेको छैन । अहिले हवाइ सेवा पूर्णरूपमा बन्द छ ।

रूकुमसहित छिमेकी जिल्ला जाजरकोट, सल्यान र डोल्पालाई समेत लक्षित गरी २०२८ सालमा चौरजहारी विमानस्थल बनाइएको थियो । विमानस्थल बनेदेखि २०४९ सम्म नियमित उडान भएको स्थानीय रिरूप्रसाद लामिछाने बताउँछन् । त्यसपछि भने कहिले सञ्चालनमा आउने र कहिले बन्द हुने क्रम चलिरहेको छ । २०५० देखि २०५५ सालसम्म आंशिक रूपमा विमानस्थल सञ्चालन भएको थियो । २०५५ देखि २०६१ सम्म भने विमानस्थल पूर्ण रूपमा बन्द भयो । त्यसपछि पुनः २०६२ देखि २०७० सालसम्म पनि आंशिक रूपमा चल्यो । त्यतिबेला जहाजको कमिका कारण फाटफूट चलेको थियो ।

कच्ची धावनमार्गमा जहाज अवतरण गर्न समस्या भएपछि ४२ वर्षपछि २०७० सालमा कालोपत्रे गरेर धावनमार्ग स्तरोन्नति गरिएको थियो । २०७२ सालमा कालोपत्रे गर्ने काम सम्पन्न भयो । त्यसपछि २०७२ देखि २०७६ सम्म आंशिक रूपमा विमानस्थल सञ्चालनमा आएको लामिछाने बताउँछन् । नियमित हवाई उडान भइरहेको बेला कोरोना महामारीका कारण २०७६ देखि भने विमानस्थल फेरि बन्द हुन पुग्यो । त्यसयता भने चौरजहारी विमानस्थलमा जहाज अवतरण नै भएका छैनन् । स्थापनाकालदेखि नै बेला–बेला खुल्ने र बन्द हुने गरेको विमानस्थल अब कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने टुँगो छैन ।

 

विमानस्थलको कार्यालय फरक प्रदेशमा

विमानस्थल सञ्चालनका लागि कतिसम्म लापरबाही गरिएको छ भने चार वर्षदेखि उडान बन्द गरेर कार्यालय नै अर्को प्रदेशमा सारिएको छ । कर्णाली प्रदेशको रूकुमपश्चिममा रहेको विमानस्थलमा उडान हुन छाडेपछि टावर घरमा ताला लागेको छ । यात्रुलाई टिकट दिने, जहाज चढाउने र अरु व्यवस्थापनको काम गर्ने नेपाल वायु सेवा निगमले चौरजहारीबाट कार्यालय नेपालगञ्ज सारेको छ । विमानस्थलमा रहेका सबै सामान नेपालगञ्ज लगिएको छ । विमानस्थल सञ्चालन हुनेसक्ने अवस्थामा हुँदाहुँदै पनि बन्द गरेर कार्यालय नै लुम्बिनी प्रदेशमा सारिएको हो ।

यसअघि नेपाल वायु सेवा निगम चौरजहारी कार्यलयका जुनियर सहायक स्टेशन इन्चार्जको काम गरेका सुरेन्द्र नेपालीले विमानस्थल अहिलेपनि पूर्णरूपमा सञ्चालन गर्न योग्य रहेको बताए । उनका अनुसार कालोपत्रे गर्नुअघि काठमाडौं–चौरजहारी –नेपालगञ्ज र नेपालगञ्ज–चौरजहारी–काठमाडौं उडान हुने गरेको थियो । ‘जहाज नियमित भए यात्रु सजिलै पाइन्छन्,’ उनले भने, ‘तर नियमित नहुँदा नै समस्या भइरहेको छ ।’

चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादीले नेपाल वायु सेवा निगमले जहाज अभाव हुँदा उडान गर्न नसकिएको जवाफ दिएको बताए । नागरिकको सहजताका लागि उनी वायु सेवा निगममा पुगेका थिए । विमानस्थल जतिबेला पनि सञ्चालनमा ल्याउन सकिने खालको भएकाले सबैले पहल गरेको खण्डमा पुनः सञ्चालन आउने वादी बताउँछन् । ‘चौरजहारी अस्पतालबाट रिफर हुने बिरामी र अशक्त–अपाङ्गका लागि जहाज सेवा सुचारु गर्नुको विकल्प छैन’ उनले भने, ‘यसबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराइरहेका छौँ ।’

यसैबीच संघीय सरकारले चौरजहारी विमानस्थलको स्तरोन्नति गर्ने योजना बनाएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा उक्त विमानस्थल स्तरोन्नति गर्ने योजना समावेश गरेको हो । बजेटमा समावेश भएकाले विमानस्थल पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।

यता कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले पनि विमानस्थल सञ्चालनका लागि पहल भइरहेको जनाए । संघीय सरकारले बजेटमै विमानस्थलको विषय समेटेकाले चाँडै नै सञ्चालनमा आउने उनको भनाइ छ । लामो समयदेखि सञ्चालन र बन्द हुँदै आएको विमानस्थलको स्वरूप परिवर्तन गरेर नियमित सेवा दिने मुख्यमन्त्री शर्माले बताए । विमानस्थललाई थप व्यवस्थित बनाएर नियमित सञ्चालन गर्नतर्फ प्रदेश सरकारले समन्वय गर्ने उनले बताए ।

रूकुमपश्चिम जिल्लामा दुई विमानस्थल छन् । सदरमुकाम खलंगास्थित सल्लेमा रहेको विमानस्थलले भने सातामा दुई पटक उडान गर्ने गरेको छ । आइतवार र मंगलवार सल्लेदेखि काठमाडौं उडान गरिरहेको छ । आइतवार काठमाडौं–चौरजहारी–नेपालगञ्ज र मंगलवार नेपालगञ्ज–चौरजहारी–काठमाडौंका लागि उडान गर्दै आएको छ ।

प्रकाशित मितिः   २६ जेष्ठ २०८०, शुक्रबार ०५:०५