खानेपानी अभाव

प्रदेश राजधानी वीरेन्द्रनगरमा खानेपानीको पर्याप्त स्रोत छैन । स्रोत न्यून हुँदा बर्सेनि खानेपानीको संकट हुने गरेको छ । विशेष गरेर गर्मी मौसममा पानीको समस्याले सधैँ सताउँछ । यो समयमा एकातर्फ पानीको स्रोत घटेको हुन्छ भने अर्कोतर्फ सबैभन्दा बढी पानीको खपत हुने मौसम यही हो । जसका कारण खानेपानीको संकट चुलिने गरेको छ । उपत्यकामा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले मागअनुसार पानी पु¥याउन सकेको छैन । संस्थाले हाल झुप्राखोला, खरीखोला, बोरीखोला र उपत्यका आसपासका केही साना मुहानबाट ल्याइएको पानी वितरण गरिँदै आएको छ । मागअनुसार आपूर्ति नहुँदा उपभोक्ताका धारामा आलोपालो प्रणालीबाट पानी वितरण हुँदै आएको छ ।

सुर्खेत उपत्यका खानेपानी संस्थाले वीरेन्द्रनगरमा एक सय २० घण्टामा एक पटक पानी वितरण गर्ने तालिका बनाएको छ । स्थानीय उपभोक्ताले भने तालिका अनुसार पानी नआएको बताउँदै आएका छन् । पानीको मुहान सुक्न थालेकाले पानी पर्याप्त मात्रामा पु¥याउन नसकिएको हो । प्रतिसेकेन्ड दुई सय ७५ लिटर खानेपानीको माग हुने गरेकोमा प्रतिसेकेन्ड ८० लिटर मात्र उत्पादन हुने गरेको छ । प्रादेशिक केन्द्र बनेपछि वीरेन्द्रनगरमा दिनहुँ जनसंख्या बढ्दो क्रममा छ । अन्य जिल्लाबाट बसाइँ सरी आउने र नयाँ घर बन्ने क्रम झनै तीव्र रूपमा बढ्दो छ । यसले खानेपानीको समस्या बढ्दै गएको छ । संस्थाले २० हजारभन्दा बढी धारामा पानी दिने गरेको छ । बढ्दो सहरीकरण, प्रशासनिक, शैक्षिक, पर्यटकीय, औद्योगिक र व्यापारिक केन्द्रको विकाससँगै उपत्यकामा दिनानुदिन जनसंख्या बढ्दै गएपछि खानेपानीको माग र आपूर्ति बीचमा असन्तुलन देखिएको छ ।

वीरेन्द्रनगरमा खानेपानीको समस्या समाधान गर्नका लागि विकल्पको खोजी गरिएको छ । दीर्घकालीन रूपमा समस्या समाधान गर्न भेरी नदीको पानी पम्पिङ गरी ल्याउनका लागि असारसम्म टेण्डर आह्वान गरिने नगरपालिकाले जनाएको छ । वल्र्ड बैंक, नेपाल सरकार र नगरपालिकाबीच त्रिपक्षीय सम्झौता यसअघि नै भइसकेको छ । आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) सम्पन्न भइसकेको छ । असारभित्रै ठेक्का प्रक्रिया सुरु हुने जनाइएको छ । आयोजना सुरु भएपछि भेरी नदीको पानी पम्पिङ गरी वितरण गरिने छ । यसले उपत्यकाको खानेपानी अभाव समाधान हुने अपेक्षा गरिएको छ । बर्सेनि भइरहने खानेपानी समस्यालाई समाधान गर्न भेरीको पानी ल्याउने प्रक्रिया सुरु भइसकेको छ । हालै आयोजनाको डिपिआर सम्पन्न भएको छ । भेरी पम्पिङ आयोजना नै वीरेन्द्रनगरको खानेपानी समस्या समाधानको दीर्घकालिन विकल्प हुनेछ ।

प्रकाशित मितिः   २४ जेष्ठ २०८०, बुधबार ०५:०३