सुर्खेतमा बढ्दै दादुरा–रुबेला
दुई चरणमा खोप अभियान सञ्चालन हुँदै
सुर्खेत: सुर्खेतमा दादुरा–रूबेला रोगको संक्रमण दिनहँु बढ्दै गएको छ । जिल्लामा यो वर्ष ६५ जना शंकास्पद बिरामीको चेकजाँच गर्दा पाँच जनामा दादुरा भेटिएको थियो । गुर्भाकोटका एक जना, चिङ्गाड र वीरेन्द्रनगरका दुई/दुई जनामा दादुरा भेटिएको सर्भिलेन्स मेडिकल अफिसर डा. श्रद्वा पंगेनीले जानकारी दिइन् । उनका अनुसार अझैं थुप्रै बालबालिकाहरू दादुरा–रुबेला रोगबाट ग्रसित छन् ।
बिरामीहरू रोग परीक्षणको दायरामा आउन सकेका छैनन् । दादुरा रोगको राष्ट्रिय तथ्याङ्कअनुसार सन् २०२२ मा कर्णाली प्रदेशमा एक सय २२ जनामा संक्रमण देखिएको थियो । त्यसमध्ये ११ जनामा पोजेटिभ देखिएको थियो भने एक सय ११ जनामा नेगेटिभ देखिएको थियो । यो पटक आठ प्रतिशतमा संक्रमण देखिएको थियो । सन् २०२३ मा पनि आठ प्रतिशतमा दादुरा रोगको संक्रमण देखिएको छ । डा. पंगेनीका अनुसार सुर्खेत दादुरा–रुवेलाको उच्च जोखिममा छ ।
सुर्खेतमा दादुरा रोगको संक्रमण फैलिएपछि खोप कार्यक्रम सञ्चालन गर्न लागिएको छ । संक्रमण फैलिएको वीरेन्द्रनगरका नौ वटै स्थानीय तहमा ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकाको लक्षित जनसंख्या एक लाख ४६ हजार चार सय २२ जनालाई दादुरा र रूबेलाविरुद्धको खोप लगाउन लागिएको हो । सुर्खेतमा यहि जेठ २८ देखि असार ५ गतेसम्म दुई चरणमा दादुरा–रूबेला खोप अभियान सञ्चालन हुने भएको छ । बालबालिकालाई ‘खोज र खोप’ अभियानमार्फत दादुरा–रूबेलाको खोप लगाइने भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले मंगलवार दादुरा–रूबेला खोप अभियान सञ्चालनसम्बन्धी जिल्ला खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवालाहरूको अभिमुखिकरण कार्यक्रममा सो जानकारी दिइएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख गणेशभक्त गौतमका अनुसार सुर्खेतका पाँच सय ४७ वटा खोप केन्द्रमा दादुरा खोप लगाइने भएको भएको छ । खोप लगाउनका लागि हरेक खोप केन्द्रमा दुई जना स्वास्थ्यकर्मी र दुई जना स्वयम्सेवक खटाइने छ । खोप सञ्चालनका लागि नौ सय ६० स्वास्थ्यकर्मी, नौ सय ६० स्वयम्सेवक खटाइनेछ । खोपका लागि १५ हजार ५२ डोज भ्याक्सीन आवश्यक पर्दछ ।
यस अभियान अन्तर्गत पहिलो चरणको खोप यहि जेठ २८ गतेदेखि ३२ गतेसम्म सञ्चालन गरिनेछ । पहिलो चरणमा बराहताल र चिङ्गाड गाउँपालिका तथा भेरिगंगा र लेकवेशी नगरपालिकामा सञ्चालन गरिने जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जानकारी दिएको छ । त्यसैगरी दोस्रो चरणको खोप आउँदो असार १ गतेदेखि ५ गतेसम्म सञ्चालन गरिने छ । दोस्रो चरणमा वीरेन्द्रनगर नगरपालिका, चौकुने गाउँपालिका, सिम्ता गाउँपालिका, पञ्चपुरी नगरपालिका र गुर्भाकोट नगरपालिकामा सञ्चालन गरिनेछ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्काले दादुरा–रूबेला जो कोहीलाई पनि हुनसक्ने बताए । बालबालिकादेखि वृद्धवृद्धामा समेत यो रोग देखिएकाले सजग रहन उनले आग्रह समेत गरे । उनले भने, ‘दादुराको खोप लगाइसकेका व्यक्तिलाई पनि दादुरा हुन सक्छ । बालबालिकालाई भने छुट्टाउनै भएन । खोज र खोप अभियानलाई वडा तह मात्रै होइन हरेक विद्यालयमा समेत गुणस्तरीय रूपमा सञ्चालन गर्न आवश्यक छ ।’ अभियानकै रूपमा खोप प्रभावकारी नभए रोग अझै फैलिन सक्ने खड्काले बताए ।
प्रकाशित मितिः २४ जेष्ठ २०८०, बुधबार ०५:०१
साझा बिसौनी ।