सत्तापक्षद्वारा प्रशंसा, प्रतिपक्षद्वारा आलोचना

सुर्खेत: कर्णाली प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममाथि प्रदेशसभामा छलफल सुरु भएको छ । मंगलवारदेखि छलफल थालिएको हो । छलफलका क्रममा सत्तापक्षीय सांसदहरूले नीति तथा कार्यक्रमको प्रशंसा गरेका छन् भने प्रतिपक्षी दलका सदस्यहरूले आलोचना गरेका छन् ।

छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्ष नेकपा (एमाले) संसदीय दलका नेता यामलाल कँडेलले नयाँ सरकारले ल्याएको नीति तथा कार्यक्रम पुरानै ढर्राको भएको टिप्पणी गरेका छन् । उनले सरकार र त्यसको नेतृत्व फेरिए पनि नीति तथा कार्यक्रममा नयाँ सोच नदेखिएको जनाए । वर्तमान अवस्थाको मूल्याङ्कन गरेर ल्याउनुपर्ने कार्यक्रम हचुवामा बनाइएको भन्दै नेता कँडेलले यसको कार्यान्वयनमा संशय व्यक्त गरेका छन् ।

नेता कँडेलले नीति–कार्यक्रम सरकारको नभइ कुनै पार्टीको कार्यक्रम जस्तो बनेको भन्दै आलोचना गरे । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कुनै नयाँपन नदेखिएको र नागरिकमा उत्साह भर्नेखालको नभएको जनाए । सरकारले एक वर्षमा दश हजारलाई रोजगारी दिने भनिएता पनि कुनै ठोस आधार नभएको उनको टिप्पणी थियो । सत्तापक्ष नेपाली कांग्रेसका प्रदेशसभा सदस्य सुरेश अधिकारीले सरकारले ल्याएको नीति तथा कार्यक्रम समयसापेक्ष भएपनि केही कुरा परिवर्तन गर्न जरुरी देखिएको बताए । संघीयतालाई कमजोर बनाउन खोजिएको जस्तो नीति तथा कार्यक्रम देखिएको भन्दै उनले प्रदेश सरकारलाई कम प्राथमिकतामा राखिएको जनाए । स्थानीय सरकारलाई मजबुद र प्रदेश सरकारलाई कामविहीन बनाउने खालका कार्यक्रम आएकोप्रति सरकारको ध्यानाकर्षण गराएका थिए ।

नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्य बीरबहादुर शाहीले सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रदेश सुहाउँदो भएकाले ‘समृद्ध कर्णाली सुखारी कर्णालीवासी’ अभियानलाई थप बल प्रदान गरेको बताए । सरकारले ल्याएको नीति तथा कार्यक्रमको सफल कार्यान्वयनमा जोड दिनुपर्ने उनको भनाइ छ ।

नेपाली कांग्रेसका प्रदेशसभा सदस्य हिक्मतबहादुर विष्टले सरकारले ल्याएको नीति तथा कार्यक्रममा शिक्षादेखि पर्यटनसम्मका सम्पूर्ण कुरा समेटिएको बताए । नीति तथा कार्यक्रममा समेटिएका कुरा कार्यन्वयनमा जानसके सार्थक हुने उनको भनाइ छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का प्रदेशसभा सदस्य तुलसा मल्लले सरकारले ल्याएको नीति तथा कार्यक्रममा कर्णाली नसमेटिएको बताइन् । नीति तथा कार्यक्रममा ‘जनयुद्ध’ शब्द राखेर सरकारले दम्भ देखाउन खोजेको भन्दै उनले आपत्ति जनाइन् । सस्तो लोकप्रियताका लागि सरकारले नीति तथा कार्यक्रम ल्याएको र कार्यान्वयनमा जान नसक्ने उनको भनाइ छ ।

सत्तापक्ष दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्य घनश्याम भण्डारीले सरकारको नीति तथा कार्यक्रमले नागरिकका सवाल समेटेको बताए । सरकारले ल्याएको ‘शिक्षा, स्वास्थ्य र रोजगार, त्यसका लागि सुशासन र पूर्वाधार’ भन्ने मूल नारा मात्र कार्यन्वयन भए प्रदेश सम्वृद्धिको यात्रामा अघि बढ्ने बताए । नीति तथा कार्यक्रममा आएका विषयवस्तु बजेटमा समेट्न उनको सुझाव थियो ।

कांग्रेसकै अर्का प्रदेशसभा सदस्य पूर्णबहादुर खत्रीले कर्णाली समृद्धिको अभियानलाई थप सहयोग हुनेगरी सरकारको नीति तथा कार्यक्रम आएको जनाए । उनले नीति तथा कार्यक्रम पूर्णरूपमा कार्यान्वयन भएको खण्डमा कर्णाली प्रदेश सरकारको लक्ष्य पूरा हुने जनाए ।

छलफलमा भाग लिँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रदेशसभा सदस्य सन्तोषी शाहीले सरकारले ल्याएको नीति तथा कार्यक्रम सान्दर्भिक रहेको बताइन् । ल्याइएका कार्यक्रम अक्षरस कार्यान्वयनमा जोड दिन सरकारलाई उनको सुझाव थियो । कृषि अनुदानको बेथितिको छानविन नगरी अनुदानका कार्यक्रम राखिएको भन्दै उनले त्यस्ता कार्यक्रम कार्यकर्तामुखी हुने बताइन् ।

कर्णाली प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूले भाग लिएका थिए । मंगलवार सुरु भएको बजेटमाथिको छलफलको कार्यक्रम बुधवार पनि जारी रहनेछ ।

प्रकाशित मितिः   २४ जेष्ठ २०८०, बुधबार ०५:०५