बजेटको सदुपयोग

संघीय सरकारले संसद्मा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पेस गरिसकेको छ । बजेट आइसकेपछि यतिबेला त्यसमाथि चर्चा–परिचर्चा भइरहेका छन् । बजेटको प्राथमिकतामा संघीयतालाई मजबुत बनाउने उल्लेख गरिएको छ । तर संघीय सरकारले प्रदेश र स्थानीय तहलाई दिने अनुदान हेर्दा भने उद्देश्यअनुरूप विनियोजन भएको देखिँदैन । सरकारले आफै कार्यान्वयन गर्ने योजनाहरूदेखि तल्लो तहमा पठाएको बजेट चालु खर्च केन्द्रित छ । पुँजीगत खर्च कटौती गरिएको छ । यसको अर्थ विकास निर्माणको लागि भन्दा बढी बजेट अन्य नियमित खर्चमै हुनेछ । यसले अर्थतन्त्रलाई उकास्न वा समृद्धिको लक्ष्य हासिल गर्न ठोस योगदान पु¥याउन सक्दैन । जसका कारण यतिबेला बजेटको आलोचना बढी भइरहेको छ ।

आगामी वर्षका लागि कर्णाली प्रदेशले संघीय सरकारबाट ४३ अर्बभन्दा बढी अनुदान पाएको छ । प्रदेश सरकार र स्थानीय तहका लागि गरेर ४३ अर्ब २४ करोड ८५ लाख रूपैयाँ अनुदान छुट्याएको हो । यो चालु आर्थिक वर्षको भन्दा करिब दुई अर्बले कम हो । आर्थिक वर्ष २०७९/०८० मा प्रदेश सरकार र स्थानीय तहलाई गरेर कर्णालीले कूल ४५ अर्ब २६ करोड १५ लाख पाएको थियो । अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत संघीय सरकारले प्रदेश सरकार र स्थानीय तहलाई विभिन्न चार शीर्षकमा रहेर अनुदान दिन्छ । कर्णाली प्रदेश सरकारले मात्रै १६ अर्बभन्दा बढी अनुदान पाएको छ । प्रदेशका लागि १६ अर्ब २७ करोड ३९ लाख विनियोजन गरिएको छ । जसमध्ये चालु खर्चतर्फ ११ अर्ब ८८ करोड १७ लाख रहेको छ भने पुँजीगततर्फ चार अर्ब ३९ करोड २२ लाख रकम विनियोजन गरिएको छ । कर्णालीले पाउने रकममध्ये समानीकरण अनुदानतर्फ १० अर्ब १६ करोड ४१ लाख रहेको छ । यस्तै सशर्त अनुदानतर्फ चार अर्ब ७५ करोड तीन लाख पाएको छ । विशेष अनुदानतर्फ ५९ करोड ७९ लाख पाएको छ ।समपूरक अनुदानतर्फ ७६ करोड १६ लाख बजेट कर्णाली प्रदेश सरकारले पाएको छ । यस्तै कर्णाली प्रदेशका ७९ स्थानीय तहले आगामी वर्ष संघीय सरकारबाट २६ अर्ब ९७ करोड ४६ लाख रूपैयाँ अनुदान स्वरूप पाउने भएका छन् ।

प्रदेशको अर्थतन्त्र परनिर्भर छ । अर्थात् संघीय सरकारको अनुदानमै निर्भर छ । आन्तरिक आम्दानी निकै कमजोर छ । अर्कोतर्फ प्राप्त बजेटको कार्यान्वयन पनि निराशाजनक रहँदै आएको छ । यसले गर्दा विकासले गति पाउन सकेको छैन । बजेटको आकारमा भन्दा पनि उपलब्ध स्रोतको सदुपयोग र उपयोगमार्फत लक्षित उपलब्धि हासिल गर्ने प्रर्णालीको विकास गर्न जरुरी देखिन्छ ।

प्रकाशित मितिः   १८ जेष्ठ २०८०, बिहीबार ०५:०३