अनियमित विद्युतले सास्ती

सुर्खेत: विद्युत अनियमित हुँदा नागरिक मर्कामा छन् । पूर्वजानकारीविना नै विद्युत कटौती हुने गरेको छ । दिनमै दर्जनौं पटक विद्युत जाने गरेकाले समस्या भइरहेको गुनासो आम नागरिकको छ ।

गर्मीयामसँगै सुर्खेतसहित कर्णालीका जिल्लामा अघोषित विद्युत कटौती र भोल्टेज कम हुँदा उद्योग व्यवसाय सञ्चालनमा समेत समस्या हुन थालेको छ । गुर्भाकोट नगरपालिका वडा नं. २ मा रहेको देउती दुध संकलन केन्द्रका सचिव नन्दलाल भुसालले विद्युत अनियमित र भोल्टेज कम हुँदा डेरी सञ्चालनमा समस्या भएको जनाए । हरियाली कृषि बजार सहकारी संस्थाद्वारा सञ्चालित उक्त दुध डेरीबाट वीरेन्द्रनगरमा दुध आउने गरेको छ । अनियमित विद्युत आपूर्तिले समस्यामा परेको उनको भनाइ छ । ‘बिहानको दुध बजारमा गइसक्ने भएकाले खास समस्या हुँदैन, बेलुकाको दुध चिस्याउन राख्दा फाट्ने गरेको छ’ उनले भने, ‘विद्युत छिनछिनमै आउने–जाने गर्नाले दुध फाटेर खेर जाने गरेको हो ।’ कहिलेकाहीँ बजारमा पु¥याउनुपर्ने दुध फाल्नुपर्ने अवस्था समेत सिर्जना हुनेगरेको छ । उनका अनुसार बेला–बेला बत्ती जाने, भोल्टेज कम आउने समस्या छ ।

विद्युतकै समस्याका कारण हरियाली दुध चिस्यान केन्द्र तीन वर्षदेखि सञ्चालनमा आउन सकेको छैन । पशुपक्षी विकास निर्देशनालय र हरियाली कृषि बजार सहकारी संस्थाको ५०/५० प्रतिशत लगानिमा चिस्यान केन्द्र बनाइएको हो । दुवैको साझेदारीमा ४६ लाख लागतमा निर्माण गरिएको चिस्यान केन्द्र प्रयोगविहीन बनेको छ । थ्री–फेज लाइन विस्तार नहुँदा चिस्यान केन्द्र सञ्चालनमा आउन नसकेको भुषालले बताए । उनका अनुसार सो स्थानमा टू–फेज लाइन विस्तार भएको छ । केही समय जेनेरेटरबाट समेत चिस्यान केन्द्र सञ्चालन गर्न प्रयास गरिएको थियो ।

यस्तै वीरेन्द्रनगर नगरपालिका वडा नं. १ मा रहेको विवेक शुभलक्ष्मी समिलका सञ्चालक विवेक वलीले पनि विद्युत अनियमितताले व्यवसाय नै धरापमा परेको गुनासो गरे । सबैभन्दा बढी साँझको समयमा बढी विद्युत अनियमित हुने गरेको छ । उनले भने, ‘बिजुली झ्याप–झ्याप जाँदा काम गर्न सकिँदैन । अर्कोतर्फ विद्युतकै भोल्टेज पनि कम आउन थालेको छ । जसले गर्दा उद्योग सञ्चालन गर्न समस्या हुने गरेको छ ।’ यसरी नै विद्युत अनियमित हुने र भोल्टेजसमेत कहिले बढी र कहिले निकै कम आउने हो भने उद्योगका लाखौँ मूल्य पर्ने मेसिनसमेत बिग्रने उनी बताउँछन् । उनले विद्युत समस्याकै कारण अहिले उत्पादन निकै कम हुन थालेपछि व्यापार पनि निकै प्रभावित भएको बताए ।

विद्युत अनियमित र भोल्टेज कम हुँदा उद्योगी व्यवसायी सबैभन्दा बढी मारमा परेको सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्षमण कँडेलले बताए । उनले भने, ‘सबैभन्दा बढी उद्योगी व्यवसायी मारमा परेका छन् । विद्युत अनियमित र भोल्टेज कम हुने समस्या छ ।’ दिनमा बिजुली झ्याप्प झ्याप जाँदा उद्योग व्यवसाय सञ्चालनमा अवरोध भइरहेको र उत्पादनसमेत निकै घट्दै गएको उनले बताए । विद्युत समस्याकै कारण अहिले जिल्लाका अधिकांश ठूला उद्योगको उत्पादनमा प्रभाव पारेको उनी बताउँछन् ।

विद्युत वितरण केन्द्र सुर्खेतका प्रमुख युवराज रावलले भने सिस्टममा समस्या आएका कारण विद्युत अनियमित हुने गरेको बताए । विद्युत खपत अत्याधिक बढेकाले भोल्टेज कम हुने गरेको उनको भनाइ छ । एक सय ३२ केभिए प्रशारण लाइन नजोडिदासम्म यो समस्या हल नहुने उनी बताउँछन् ।

यसैबीच कर्णाली प्रदेशका आठ जिल्लामा विद्युतको राष्ट्रिय प्रसारण लाइन विस्तार भएको छ । दश जिल्लामध्ये हालसम्म आठ वटा जिल्लामा राष्ट्रिय प्रसारण लाइन जोडिएको हो । साविक कर्णालीको दुर्गम डोल्पा जिल्लामा प्रसारण लाइन पुगेसँगै कर्णाली प्रदेशका आठ जिल्लामा राष्ट्रिय प्रसारण लाइनको बिजुली बलेको हो ।

यसअघि नै कर्णालीका जुम्ला, कालीकोट, दैलेख, सुर्खेत, सल्यान, जाजरकोट र रूकुम–पश्चिममा राष्ट्रिय लाइन पुगिसकेको छ । नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालयका प्रमुख कुशे यादवले मुगुलाई एक महिनाभित्रै प्रशारण लाइनमा जोड्नेगरी काम भइरहेको बताए । हुम्लालाई आगामी वर्षमा राष्ट्रिय प्रसारण जोड्नेगरी संघीय सरकारले नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

यता कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत प्रसारण लाइन विस्तारको काममा भने ढिलाइ भइरहेको छ । हालसम्म ६० प्रतिशत काम सम्पन्न भएको जनाइएको छ । अहिले विद्युत प्रसारण लाइन विस्तार हुँदैछ । आर्थिक वर्ष २०७७ असारदेखि सुरु भएको आयोजनाले हालसम्म ५० वटा हाइटेन्सन लाइनको टावर निर्माण गरिएको छ । अहिले सव–स्टेशनको काम भइरहेको आयोजना प्रमुख रविकुमार चौधरीले बताए । कर्णालीको विद्युतको समस्या समाधान गर्ने प्रशारण लाइनका रूपमा १३२ केभीए विद्युत लाइनलाई हेरिएको छ ।

प्रकाशित मितिः   १८ जेष्ठ २०८०, बिहीबार ०८:३७