सक्रिय हुन थाले संसदीय समिति

सुर्खेत: कर्णाली प्रदेशसभामा रहेका संसदीय समितिहरू सक्रिय हुन थालेका छन् । नेतृत्व चयन भएसँगै समितिले आफ्ना कामकारबाही अघि बढाउन चालेका हुन् । प्रदेश सभामा चार वटा विषयगत समिति रहेका छन् ।

प्रदेश मामिला समिति र सार्वजनिक लेखा समितिले नेतृत्व चयन भएपछि पहिलो बैठक गरेका छन् । प्रदेश मामिला समितिले पहिलो बैठक गर्दै कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान स्थापना तथा सञ्चालनसम्बन्धी विधेयकमाथि छलफल सुरु गरेको छ । प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनमा उक्त विधेयक प्रदेश सभामा छलफल भएर थप छलफलका लागि प्रदेश मामिला समितिमा पठाइएको थियो । समितिका सभापति कल्याणी खड्काले विधेयकमाथि सैद्धान्तिक छलफल सुरु गरेको बताइन् । प्रदेश मामिला समितिले प्रशिक्षण प्रतिष्ठान विधेयकमाथि छलफल गर्न मंगलवार र बुधवार गरेर दुई पटक बैठक बसिसकेको छ ।

यस्तै सार्वजनिक लेखा समितिको पहिलो बैठकले समितिको कार्यसञ्चालन कार्यविधि परित गरेको छ । समितिका सदस्य सचिव उपेन्द्रकुमार गुरुङ्गले समितिको कार्य सञ्चालनका लागि कार्यविधि पारित गरिएको जानकारी दिए ।

जेठ १४ गते समितिका सभापतिको चयनपछि विषयगत समितिहरूले सक्रियता बढाउन थालेका हुन् । पहिलो अधिवेशनको बैठक बसेको चार महिना पछि प्रदेशसभामा रहेका विषयगत समितिहरूले सक्रियता बढाएका छन् । प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको बैठक पुस १८ गते बसेको थियो । अहिले प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन चलिरहेको छ । मिनि संसदको रूपमा रहेका प्रदेश सभाका विषयगत समितिले प्रदेश सभाको भूमिकालाई प्रभावकारी बनाउन, नियमित र आकस्मिक कार्यहरूलाई निरन्तर अघि बढाउन भूमिका खेल्छन् ।

यस्तै प्रदेश सभाबाट समितिमा आएका विधेयकहरूलाई परिमार्जन गरी गर्ने, प्रदेशसभाका काम कारवाही प्रति प्रदेशसभा सदस्यहरूलाई जागरुक बनाउन तथा जिम्मेवार बनाउन र प्रदेश सरकारलाई जनताप्रति उत्तरदायि र जबाफदेही बनाउन, प्रदेश सरकारका भए गरेका कामकारबाहीको अनुमगन र मुल्याङ्कन गरी आवश्यक निर्देशन, राय सल्लाह दिने भूमिका महŒवपूर्ण जिम्मेवारी रहेको हुन्छ ।

प्रदेशसभा सचिव जिवराज बुढाथोकीले सभामा गठन भएका समितिहरूले काम थालेको बताए । बाह्रै महिना चल्ने भएकोले विषयगत समितिहरूको भूमिका महŒवपूर्ण हुने उनको भनाइ छ । उनले भने, ‘प्रदेशसभामा जनताको प्रतिनिधि हुन्छन् भने समितिमा सभाको पनि प्रतिनिधि हुन्छन् । समिती कुनै विधेयकमा गहिरिएर छलफल गरेर सभामा पेस गर्ने हुन्छ । सरोकारवालालाई बोलाएर छ्लफल गर्नु सक्छन् । समितिको काम अलि खुल्ला र व्यापक हुन्छ । त्यसैले समितीहरूको महŒवपूर्ण भूमिका हुन्छ ।’

प्रकाशित मितिः   १८ जेष्ठ २०८०, बिहीबार ०५:०१