विद्यार्थीको चाप

नयाँ शैक्षिक सत्र सुरु भइसकेको छ । एक महिना लामो विद्यार्थी भर्ना अभियानसँगै कक्षा सञ्चालनमा आएका छन् । नयाँ शैक्षिक सत्रमा वीरेन्द्रनगरभित्र सञ्चालित सामुदायिक विद्यालयमा विद्यार्थीको चाप निकै बढेको छ । नयाँ भर्ना हुने विद्यार्थीको संख्या दोब्बरले वृद्धि भएको देखिन्छ । विद्यार्थीको चाप बढेपछि विद्यालयलाई भने अनेक समस्या देखिएका छन् ।

वीरेन्द्रनगर–१२ मा रहेको अमरज्योति नमुना माध्यमिक विद्यालयमा गत वर्षको तुलनामा यसपक विद्यार्थी संख्या दोब्बरले वृद्धि भएको छ । कक्षा ६ मा मात्र यो वर्ष एक सय ७५ जना नयाँ विद्यार्थी भर्ना भएका छन्, जुन अघिल्ला वर्षको तुलनामा दोब्बर हो । यसैगरी कक्षा ७ मा नयाँ शैक्षिक सत्रमा ५० जना नयाँ विद्यार्थी थपिएका छन् । सात कक्षामा जम्मा दुई सय विद्यार्थी छन् । वीरेन्द्रनगरकै श्री कृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय इत्राममा पनि विद्यार्थीको संख्या बढेको छ । यो वर्ष मात्र कक्षा ५ मा ३९, कक्षा ६ मा ४७, कक्षा ८ मा ७० जना नयाँ विद्यार्थी थपिएका छन् । विद्यार्थीको संख्या बढेपछि एकातिर कक्षाकोठाको अभाव भएको छ भने अर्कोतर्फ पर्याप्त शिक्षक पनि छैनन् । एउटा कक्षामा धेरै विद्यार्थी राखेर पढाउनुपर्ने बाध्यता रहेको छ । विद्यालयले प्रत्येक कक्षामा तीन÷चार सेक्सनमा पठनपाठन गराइरहेको छ । नयाँ शैक्षिक सत्रमा कक्षा आठसम्म मात्र विद्यार्थी भर्ना लिएको थियो । भवन अभावको कारण कतिपय कक्षामा सेक्सन समेत छुट्याउन समस्या भइरहेको छ । भौतिक संरचना र पर्याप्त जनशक्ति नभएको भन्दै जन माध्यमिक विद्यालयले यसपटक थोरै संख्यामा मात्रै नयाँ विद्यार्थी भर्ना गर्‍यो ।

पछिल्लो समय वीरेन्द्रनगरभित्रका सामुदायिक विद्यालयमा विद्यार्थीको चाप निकै बढिरहेको छ । सुर्खेतकै ग्रामीण क्षेत्रका साथै कर्णाली प्रदेशका अन्य जिल्लाहरूबाट पनि बर्सेनि ठूलो संख्यामा विद्यार्थी वीरेन्द्रनगर आउने गरेका छन् । अन्यत्रभन्दा सुविधासम्पन्न र शैक्षिक गुणस्तर हुने भन्दै अभिभावकहरू पनि सदरमुकामकै विद्यालय रोज्ने गरेका छन् । विद्यालयमा अंग्रेजी माध्यममा पठनपाठन हुनु, शैक्षिक गुणस्तर राम्रो भएकाले पनि अभिभावकको रोजाइमा सामुदायिक विद्यालय परेको हो । यहाँका अधिकांश विद्यालयमा अहिले अंग्रेजी र नेपाली माध्यमबाट पठनपाठन भइरहेको छ । सामुदायिक विद्यालयहरूमा अंग्रेजी माध्यममा पढाइ सुरु भएपछि विद्यार्थी संख्या बढ्न थालेको छ । सामुदायिक विद्यालयका शिक्षकहरूले पनि त्यही अनुसार मेहनत गर्दै गएका छन् । प्रधानाध्यापकले आफ्नो भूमिका कसिलो बनाउँदै लगेका छन् । अहिले विद्यालयको अवस्था फेरिएको छ । विद्यालयमा विद्यार्थी संख्या बढेर दोब्बर पुगेको छ ।

प्रकाशित मितिः   १० जेष्ठ २०८०, बुधबार ०५:०३