बाढीपीडितको बिचल्ली
सुर्खेत: पश्चिम सुर्खेतको चौकुने गाउँपालिका वडा नम्बर ८ का बाढीपीडितलाई पीडामाथि पीडा थपिएको छ । गत भदौ ३१ गते पहिरोसहित बाढी बस्तीमा पसेपछि उनीहरू खुला चौरमा पाल टाँगेर बसिरहेका थिए । सोमवार साँझ आएको हावाहुरीले त्रिपाल पनि उडाइदिएपछि उनीहरू खुला आकाशमुनि रात बिताउन बाध्य छन् । बालबालिका र वृद्धवृद्धा बढी समस्यामा परेका हुन् ।
तीव्र हावाहुरीसँगै वर्षा हुँदा उनीहरूको बिचल्ली भएको छ । साँझ करिब नौ बजे पछि आएको हावाहुरीसँगैको वर्षाले त्रिपाल उडाएको हो । बाढीपीडित टेकबहादुर विकले त्रिपालसहित सबै तहसनहस पारेको बताए । ‘खाद्यान्नसमेत भिज्यो । रातभर भागदौड भयो’ उनले भने, ‘हावाहुरी र पानीले पाकेको खाना पनि खान पाएनौँ, ओभानो खाना पकाउने ठाउँ छैन । दाउरासमेत छैन । आफन्तको घरमा आश्रय लिइरहेका छौँ ।’ सरकारले आफूहरूको दुःख नदेखेको उनको भनाइ छ । महिनौदेखि त्रिपालमुनी बसिरहँदा समेत सरकारले नहेरेको उनले बताए । विकले भने, ‘अब त कसरी बाँच्ने भन्ने पीर छ । गाँस, बासको कुनै टुँगो छैन । बालबच्चा कसरी पाल्ने ?’
त्रिपालमा बस्दै आएकी जानकी विकले आफूहरूले भोक सहन सके पनि बालबालिका र वृद्धवृद्धालाई समस्या भएको बताइन् । ‘घर बाढीले बगायो, त्रिपाल हावाले उडायो । जाने ठाउँ छैन, अब के गर्ने ?’ उनी भन्छिन्, ‘खुल्ला आकाशमुनि बस्न पनि हामीलाई छुट भएन । अब कहाँ जाने ? निकै समस्यामा परेका छौँ ।’ हावाहुरीले रेडक्रसलगायत विभिन्न संघसंस्थाले वितरण गरेको त्रिपालको टहरासमेत भत्काइदिएको उनले बताइन् । सरकारले आफ्ना समस्याहरूको सम्बोधन नगरेको विक बताउँछिन् । सरकार भएको अनुभूतिसमेत नगरेको उनको भनाइ छ ।
अर्की बाढीपीडित दुर्गा थापाले आफूहरू ठूलो समस्यामा परेको बताइन् । सरकारले पीडितको दुःख नबुझेको उनको गुनासो छ । थापाले भनिन्, ‘बाढीले घरखेत बगायो, त्रिपाल बेरेर टहरा बनाएका थियौँ, त्योसमेत हावाहुरीले उडायो । ओभानो ठाउँ अभावमा रात काट्नसमेत सकेनौँ । आफन्तको घरमा बसेका छौँ ।’ सरकारले सुरक्षित अस्थायी बसोबासका लागि छाप्रो हाल्न जस्तापाता र बाँस उपलब्ध गराइदिएपछि आफैं घर बनाउन सक्रिय हुने उनी बताउँछिन् । त्रिपालमुनि बस्दै आएका बालबालिका र वृद्धवृद्धामा स्वास्थ्य समस्या देखिन थालेको उनले बताइन् ।
चौकुने गाउँपालिकामा सोमवार साँझको हावाहुरीसहितको वर्षाले दुई सय घरधुरी र सात वटा विद्यालयमा क्षति पुगेको गाउँपालिकाका अध्यक्ष खड्क विकले जानकारी दिए । उनका अनुसार यो प्रारम्भिक जानकारी हो । घरका छाना उडाएको छ भने कुनै घरमा पूर्णरूपमा क्षति पुगेको छ । गाउँपालिकाका दशवटै वडामा क्षति पुगेको उनले बताए । अध्यक्ष विक भन्छन्, ‘सबैभन्दा बढी क्षति वडा नं. ८ मा भएको छ । त्रिपालमुनी बसेकाको बिचल्ली छ । पटक–पटक आउने विपत्तिले ठूलो क्षति बेहोर्नु परिरहेको छ ।’ क्षतिको विवरण संकलनको काम भइरहेको उनले बताए । ‘गत असोजको क्षतिको घाउ पुरिन नपाउँदै फेरि विपत्ति आयो’ उनले भने, ‘समस्या समाधानमा पालिका लागिरहेको छ । प्रदेश र संघीय सरकारसँग पनि क्षतिपूर्तिका लागि माग गरिरहेका छौँ ।’ स्थानीय सरकारले मात्रै राहत दिन सम्भव नरहेको उनी बताउँछन् । ‘विपत्मा परेकाको राहत र सहयोगमा स्थानीय सरकार पूरै परिचालन भएको छ । तर हामीले मात्रै यो समस्या समाधान गर्न सक्दैनौँ,’ उनले भने, ‘संघ र प्रदेशले सहयोग नगरेसम्म बाढीपीडितको पुनस्र्थापना सम्भव छैन ।’
कर्णालीमा प्राकृतिक विपत्तिबाट ठूलो धनजनको क्षति हुने गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार वैशाख महिनामा मात्र प्राकृतिक विपत्तिबाट तीन जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् । वैशाखमा मात्र २४ वटा विपत्का घटना भएका थिए । दश घरमा क्षति पुगेको छ भने प्रकोपमा परी तीन पशुचौपाया मरेका थिए । जेठ महिनाको यो अवधिसम्म सात वटा विपत्तिका घटना भएका छन् । जसमा परी सात पशुचौपाया मरेका छन् भने दुई वटा घरमा क्षति पुगेको छ ।
प्रकाशित मितिः १० जेष्ठ २०८०, बुधबार ०५:०५
रजनी याेगी ।