आफ्नै घरमा दृष्टिविहीन दम्पती

सुर्खेत: जुम्लाको त्रिवेणीबाट पूर्व १० किलोमिटरको दुरीमा रहेको सर्मी गाउँछेउको साङ्लपाटा पुगेपछि एउटा मिठो अनुभूति सञ्चारित हुन्छ । सर्मी पुग्नेहरूका नयन साङ्लीपाटो एउटा सानो घरमा मुस्कुराइरहेको हँसिलो अनुहारमा ठोकिन्छन् । त्यो हँसिलो अनुहार दृष्टिविहीन दम्पती गोरिकला तिरुवा र मानबहादुर कुँवरको हो । उनीहरू भर्खरै भोटानचौरबाट सरेर यहाँ बसिरहेका छन् । यो दम्पतीका रमाएका मुहार देख्दा लाग्छ, उनीहरू नै यस धर्तीका सबैभन्दा सुखी प्राणी हुन् । सधँै अरुको साहरामा बाँचेको दम्पती यो वर्षबाट आफ्नै घरको छानामुनि छ । गाउँदेखि तीन किलोमिटर टाढा एकान्त क्षेत्र भोटानचौरमा गाउँलेको घरमा बसिरहेका उनीहरूलाई तातोपानी गाउँपालिका वडा नम्बर ७ ले आधारभूत सुविधासहितको आवास निर्माण गरिदिएको छ ।

उनीहरूसँग भोकै सुतेका कैयौँ रातहरू छन्, अपमान सहेका दिनहरू छन् । चार वर्ष अघि मात्रै उनीहरूले अन्र्तजातीय विवाह गरे । पे्रमले जीवन उज्यालिएको छ । जातीय विभेदको जालो तोडेको योगदान कुनै समय कालमा मुल्यांकन हुने आशा व्यक्त गर्दै गोरिकलाले भनिन्, ‘अब आफ्नै घरमा मर्ने धोको पूरा भएको छ, वडा कार्यालयले संरक्षण गरेकोमा खुसी छौँ ।’

दुई लाख लागतमा खानेपानी धारा, शौचालयसहितको दुई कोठे घर निर्माण गरिएको तातोपानी ७ का अध्यक्ष तिलक रावतले बताए । ‘सामाजिक सुरक्षा भत्ताको सहारामा बाँचेको यो परिवार भोटानचौरमा अर्काको घरमा बस्दा निकै समस्या भएको थियो, हिमपात हुँदा र वर्षाको समयमा जोखिम भएकोले गाउँमै आवास निर्माण गरिएको हो’ अध्यक्ष रावतले भने । अहिले घरसँगै धारा र शौचालय पनि बनाइएको छ ।

विभेदविरुद्ध उभिएको जोडि

अहिले ३४औँ बसन्त मा प्रवेश गरेका दृष्टिविहिन मानबहादुरले वाल्यकालमै आमा बुवा गुमाए । दुई वर्षको उमेरमा दुवै आँखाको ज्योति गुमाएका उनले तेस्रो आँखा अर्थात् ‘शिक्षाको आँखा’ ले दुनियाँ नियाल्ने रहर गरे । २०६० सालमा सिंजामा रहेको भैरव माध्यमिक विद्यालयमा भर्ना भएर पढाई सुरु गरे तर कक्षा ७ मा पुगेपछि औपचारिक शिक्षा आर्जनमा पूर्णविराम लाग्यो ।

जन्मघर सर्मीबाट धेरै टाढा छ, सिंजा नराकोटको भैरव मा.वि. । त्यतिबेला अहिलेको जस्तो सवारी सुविधा पनि थिएन । घरबाट नराकोट पु¥याउने कोही भएन । बुवाआमाको मृत्युपछि मानबहादुरलाई खरानीको थुप्रोमा नयाँ जीवनको सुरुवात गर्नु सरह थियो । ‘दृष्टिविहीन हुनुको पीडाबोध त्यतिबेला भयो, जतिबेला एक दिनको पैदल यात्रा गर्न नसकि पढ्ने चाहनालाई तिलाञ्जली दिनु प¥यो । दृष्टिविहीन नभएको भए आज मेरो यो हाल हुने थिएन होला’ उनी भन्छन् ।

घरमा एक्लो भएपछि मानबहादुर छिमेकी गाउँ ताम्तीमा गएर दिदीको घरमा बस्न थाले । विनाकाम दिदीको घरमा बस्न अप्ठ्यारो महशुस हुनथालेपछि उनले झन्डै तीन सय घरधुरी रहेको ताम्ती गाउँको तिर्खा मेटाउने जिम्मेवारी काँधमा लिए, गाउँमा चार वटा पानिका धारा खोल्ने र बन्द गर्ने ‘चौकिदार’ बने । उनले चौकिदारी गरेवापत वर्षमा चार क्विन्टल अन्न पाउन थाले । जीन्दगी जसोतसो चलिरहेको थियो । गाउँमा मानवीय संवेदना नबुझ्नेका लागि मानबहादुर मजाकको पात्र बन्न पुगे । फरक क्षमता भएकालाई सहयोग गर्नुको साटो मजाकमा उडाउने र अपमान गर्नेहरूको लागि मानवीय संवेदना ‘चरिको दुध’ जस्तै भयो ।

गिज्याउनेहरूको भिडमा अपमानित महशुस गर्न थालेपछि ताम्ती गाउँ छोड्न मन लाग्यो । एक मनले भन्थ्यो, यस्तो मन होस्, जसले सबैको घृणा, अपमान पचाउन सकोस्, अर्को मनले भन्थ्यो, कसैको बिगार नगरेर पनि अपमान र घृणा सहने हृदय पनि त छैन । ‘कस्तो जिन्दगी न समुन्द्रमा डुब्न सक्यो, न किनारा लाग्न सक्यो’ अहिले पनि मानबहादुर तितो विगत सम्झदै मनको आधा झण्डा झुकाउन्छन् ।

तीन वर्ष अघि उनले तिला–३ दानीबाडाबाट अन्र्तजातीय विवाह गरे । रुढीवादी समाजले कथित दलितसँग विवाह गरेको भन्दै मानबहादुरलाई गाली गर्न थाल्यो । ‘सुरुमा क्षेत्रीको छोरोले किन दलितसँग विवाह गरेको भनेर व्यापक आलोचना भयो, अहिले विस्तारै विभेदको जालो तोडिँदै गएको छ’ उनी भन्छन् । ‘अरु आँखाले देख्छन्, हामी मनले देख्छौँ, सबैको अधिकार र कर्तव्य समान हुन्छ, हाम्रो मनले यहि देख्छ, जातीय विभेदको परम्परा भत्काएको भन्दै अहिले यहि समाजले हाम्रो योगदानलाई स्विकार गरेको छ’ गोरिकलाले भनिन् । दृष्टिविहीन दम्पतीको आफ्नो घर भने छैन । स्थानीय काले कुँवरले तीन वर्षदेखि निःशुल्क बस्न दिएका छन् । कोरोनाको बेला भोकै रहेको समाचार प्रकाशित भएपछि जुम्लाका मनकारी युवा अमर विष्टले चार पटक खाद्यान्न सहयोग गरेका थिए । सामाजिक सुरक्षा भत्ताले मात्रै नपुग्ने भएपछि अहिले पनि भोकै बस्नुपर्ने बाध्यता रहेको गोरिकलाले गुनासो पोखिन् । उनले ठाडिभाका मार्फत मनको बह यसरी पोखिन्,

पाक्या फल चरिले खायो, काँचो फल रुखै छ
जहाँसम्म जीन्दगी रहला त्यहाँसम्म दुखै छ ।

प्रकाशित मितिः   २६ बैशाख २०८०, मंगलवार ०७:३७