कृषिमा युवा
नेपाल कृषिप्रधान मुलुक हो । यहाँका अधिकांश नागरिक कृषिमै निर्भर छन् । तर पनि हामी परनिर्भर छौँ । आफैलाई आवश्यक खाद्यन्नको माग आफ्नै देशको उत्पादनबाट पूर्ति हुन सकेको छैन । आयात गर्नुपर्ने हुन्छ । यो विडम्बना हो । परनिर्भरताले देश विकसित हुन सक्दैन । समृद्धिको लक्ष्य हासिल हुन सक्दैन । त्यसैले खाद्यन्नमा आत्मनिर्भर बनाउनेतर्फ केन्द्रित हुन जरुरी भइसकेको छ । निर्वाहमुखी कृषिबाट न व्यक्तिको जीवन समृद्ध बन्छ र न त्यसले मुलुकको समृद्धिमा थप योगदान पु¥याउन सक्दछ । ठूलो संख्यामा युवाहरू बेरोजगार भइरहेको समयमा उनीहरूको श्रमशक्ति कृषिमा लगाउन सकेको खण्डमा मुलुकले फड्को मार्न सक्दछ । त्यसका लागि आजका युवाहरूलाई उत्पदनमा जोडन जरुरी छ ।
मुलुकको हरेक परिवर्तनमा युवाहरूको भूमिका महत्वपूर्ण रहँदै आएको छ । युवा शक्ति कुनै पनि देशको राजनैतिक, आर्थिक र सामाजिक परिवर्तनको संवाहक हो । यो समूह जनसंख्याको सर्वाधिक सक्रिय, उर्जावान र गतिशील समूह पनि हो । युवा राष्ट्रिय विकासका प्रमुख मानव स्रोत र साधन भएकोले यिनको विकास नभइ देशको विकास असम्भव छ । पछिल्लो समय युवाहरू कृषिमा आकर्षित भने भइरहेका छन् । यो सकारात्मक संकेत हो । उच्च शिक्षा अध्ययन गरेका युवाहरू पनि कृषि गर्न थालेका छन् । जुम्लाको चन्दननाथ नगरपालिका वडा नं. ४ का सरोज शाही ३५ वर्षका भए । उनी विगत ६ वर्षदेखि व्यावसायिक रूपमा फलफूल खेती गर्दै आएका छन् । त्रिभुवन विश्वविद्यालयबाट पर्यटन विषयमा स्नातकोत्तर गरेका शाहीले ४५ लाखबाट व्यवसाय सुरु गरेर अहिले एक करोड लगानीमा फलफूल खेती गरिरहेका छन् । जुम्लाकै गुठीचौरका भीमबहादुर भण्डारीले २२ हेक्टर क्षेत्रफलमा ४८ हजार फुजी स्याउका बिरुवा लगाएका छन् । २२ करोड लगानीमा तीन वटा पलटमा स्याउ खेती गर्दै आएका छन् । उनीहहरू त उदाहरण मात्रै हुन् । फलफूल खेती सफल भएपछि स्थानीय युवा किसान फलफूल खेतीमै आकर्षित भएका छन् ।
कृषि विकासका कार्यक्रम सरकारले सञ्चालन गर्दै आएको छ । तर सञ्चालित कार्यक्रमहरूले अपेक्षित प्रतिफल दिन सकेका छैनन् । यसको हुनुका कारण के हो भने सरकार प्रभावकारी योजना निर्माणमा भन्दा लोकप्रिय हुने खालका कार्यक्रममा केन्द्रित हुने गरेको छ । यसले तत्कालिन अवस्थामा लोकप्रिय देखिए पनि अन्ततः त्यसले दीर्घकालीन परिणाम दिन सक्दैन । त्यसैले युवाहरूलाई समेट्नेगरी कार्यक्रम बनाउन आवश्यक छ । जसले सक्रिय युवाशक्तिलाई उत्पादनसँग त जोड्छ नै अर्थतन्त्र बलियो बनाउने अभियानमा पनि योगदान पु¥याउँछ ।
प्रकाशित मितिः २४ बैशाख २०८०, आईतवार ०५:०३
सम्पादकीय ।