प्रादेशिक युवा महोत्सव हुँदै
सुर्खेत: कर्णालीमा प्रदेशस्तरीय नीति संवाद एवम् युवा महोत्सव हुने भएको छ । बालबालिका, किशोर÷किशोरी तथा युवाको क्षेत्रमा काम गर्दै आएको संस्था युवालयले सुर्खेतमा दुई दिने महोत्सव आयोजना गर्न लागेको हो ।
युवालयले राष्ट्रिय युवा परिषद्को सहकार्य र कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयसँगको समन्वय तथा विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय संघसंस्थाहरूको सहयोगमा महोत्सव आयोजना गर्दैछ । युवालयका अध्यक्ष सन्तोष महर्जनले वैशाख २४ र २५ गते महोत्सव सञ्चालन हुने जानकारी दिए ।
महोत्सवमा वित्तीय साक्षरता, उद्यमशीलता, सुरक्षित वैदेशिक रोजगारी, सीप तथा अवसर, गलत वा मिथ्या सूचना, दुष्प्रचार तथा घृणास्पद अभिव्यक्तिजस्ता विषयमा अधिकतम् युवालाई सहभागी गराइ छलफल गरिने जनाइएको छ । विभिन्न क्षेत्रका विषय विज्ञहरूमार्फत युवाहरूलाई अभिमुखीकरण प्रदान गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ ।
युवाहरूको अर्थपूर्ण सहभागितामा युवालक्षित प्रदेशस्तरको नीति तथा कार्यक्रममा छलफल सत्र सञ्चालन गर्ने, बालविवाह अन्त्यका लागि साझा संकल्प लिने, लैङ्गिकतामा आधारित हिंसा, यौन, प्रजनन् स्वास्थ्य र अधिकारका बारेमा युवालाई सचेत गराउँदै युवामैत्री प्रदेश निर्माणमा उनीहरूलाई परिचालन गर्ने ध्येय रहेको युवालयका अध्यक्ष मर्हजनले जनाए ।
यसका साथै महोत्सवमा कर्णाली क्षेत्रका सीमान्तकृत समूहको मूलप्रवाहिकरण दलित अधिकार अभियानका बारेमा चर्चा गर्नका लागि प्रदेशका १० वटै जिल्लाका युवाहरूको प्रतिनिधित्व रहेनछ । महोत्सवमा मन्त्रालय मातहतका निकाय, गैरसरकारी तथा निजी संघसंस्था, मिडिया लगायत विभिन्न निकायसँग सर्वपक्षीय बैठक तथा समन्वय, प्रादेशिक नीति संवाद एवम् युवा भेला, युवामैत्री खेल क्रियाकलापमा छलफलबाट आएका मुख्य मुद्दाहरूलाई समेटेर घोषणा पत्रसमेत जारी गरिनेछ ।
प्रकाशित मितिः २४ बैशाख २०८०, आईतवार ०५:०१
साझा बिसौनी ।