जलवायु परिवर्तन नियन्त्रण

जलवायु परिवर्तन विश्वककै लागि चुनौती बनेको छ । विश्वव्यापी रूपमा तापमान र मौसमको स्वरूपमा परिवर्तन आइरहेको छ । जलवायु प्राकृतिक रूपमा नै परिवर्तनशील छ तर हालको जलवायु परिवर्तन भने विश्वव्यापी तापमानमा वृद्धिका कारण भएको विज्ञहरू बताउँछन् । यसको मुख्य कारक मानवीय गतिविधि हुन् जसले वायुमण्डलको संरचनामा बद्लाव ल्याएको छ । यसरी वायुमण्डलमा आएको बदलावले प्रकृति र मानवजीवनलाई समेत असर पुर्याएको छ । कर्णाली प्रदेश पनि जलवायु परिवर्तनको चपेटामा छ । कृषि, जलस्रोत, वनस्पतिमा जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव देखिएको छ । कृषि र वनस्पतिमा मात्र नभइ प्रदेशका नागरिकको जीवनयापनमा समेत असर देखिन थालेको विज्ञहरू बताउँछन् ।

पछिल्लो समय हिमाली क्षेत्रका नदिनाला सुक्दै जानु, हिउँ पर्ने क्रम पनि कम हुनु, खेतिबालीमा रोगकिराको प्रकोप बढ्नु जलवायु परिवर्तनको असर हो । हिमालको हिउँ पग्लने क्रम बढ्दैछ, हिउँ पर्ने क्रम रोकिएको छ । सानातिना नदिनाला सुक्दै गइरहेका छन् । बढ्दो तापक्रमले परिवर्तन ल्याएको छ । यसमा कर्णाली जलाधारमा पनि प्रत्यक्ष प्रभाव देखिन्छ । सिँगो नेपाल नै जलवायु परिवर्तनको उच्च जोखिममा छ । तर जानकारहरूका अनुसार त्यसमा पनि कर्णाली झनै विशेष छ । हिमाली जिल्लाहरूमा हिमताल बढेका छन् । जसले गर्दा बाढी आउने सम्भावना बढी छ । पछिल्लो समय मनसुन परिवर्तनसँगै पानीको मात्रा घटबढ भइरहेको हो । ५÷६ दिनमा पर्ने पानी एकैदिनमा पर्ने र त्यसले ठूलो क्षति गर्ने गरेको छ । जलवायु परिवर्तनको असर शिक्षा, कृषि, स्वास्थ्यलगायतका क्षेत्रमा देखिएको छ । जलवायु परिवर्तनकै कारण पछिल्ला वर्षहरूमा कृषि उत्पादनमा ह्रास आएको छ । नयाँ खालका रोगहरू देखा पर्न लागेका छन् । यसले कर्णाली प्रदेशको कृषि उत्पादन घट्दै गएको छ । जलवायु परिवर्तनको असर कृषि पर्दा उत्पादन घट्दै गएको पाइएको हो । बाढी–पहिरोले खेतियोग्य जमिन बगाएको छ । फलफूलमा विभिन्न किसिमका रोगकिराको प्रकोपले गर्दा उत्पादन घटेको छ । फल्ने समयभन्दा अगाडि नै फलफूल फूल्ने, दाना लाग्ने भइरहेको छ । जसले गर्दा उत्पादन र गुणस्तर कम हुन्छ ।

जलवायु परिवर्तनको असर विभिन्न क्षेत्रमा देखिन थाले पनि सरकारी तहबाट त्यसलाई नियन्त्रण गर्न प्रभावकारी कदम भने चालेको पाइदैन । जलवायु परिवर्तनले उत्पादनमा ह्रास, रोजगारी गुम्नु, बाढी पहिरो, अतिवृष्टि, अनावृष्टि, खडेरी र भोकमरी लगायतका समस्या देखा पर्दै जाने संकेत विज्ञहरूले गरेका छन् । तर सम्बन्धित निकाय भने गम्भिर बनेको छैन । जलवायु परिवर्तनका असर र यसका असरलाई कम गर्न समुदायमा सचेतनाका कार्यक्रम आवश्यक रहेको छ ।

प्रकाशित मितिः   २१ बैशाख २०८०, बिहीबार ०५:०३