व्यवहार नसुध्रिए गठबन्धन भत्किन सक्छः नेपाल

 

सुर्खेत: नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनप्रति असन्तुष्टि जनाएका छन् । बुधवार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले सरकार र गठबन्धनभित्र आफ्नो दललाई बेवास्ता गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

नेपालले विशेष गरी प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आलोचना गरेका छन् । प्रचण्डलाई भुक्तभोगीको संज्ञा दिए । प्रचण्ड गठबन्धन गरेर चुनावमा गएको र नतिजापछि भुक्तभोगी भएर ओलीको शरणमा पुगेको उल्लेख गर्दै फेरि चुनावी गठबन्धनमै फर्किनुपरेको उनले सम्झना गरे ।

आफूहरूले देश विकास र परिवर्तनको पक्षमा अग्रसर हुनुपर्छ भनिरहेको र माओवादीहरू घमण्डमा चलिरहेको उनको भनाइ थियो । पूर्वप्रधानमन्त्री नेपालले एउटा पाटो मात्र हेरेर मूल्याङ्कन नगर्न र आफूहरूले गरिरहेको योगदान नबिर्सन प्रचण्डलाई आग्रहसमेत गरे । साथै उनले आफ्नो पार्टी नेपालको राजनीतिको एउटा महŒवपूर्ण पक्ष रहेको बताउँदै उक्त कुरा कसैले बिर्सन नहुने चेतावनी पनि दिए ।

प्रचण्डलाई संकेत गर्दै नेपालले भने, ‘पहिला केपी ओलीले घमण्ड गरे, त्यसपछि शेरबहादुर देउवाले, फेरि केपी ओलीले गरे । अब कसको घमण्ड गर्ने पालो आएको छ । उनलाई (प्रचण्ड) घमण्ड नगर्न आग्रह गर्दछु ।’

पार्टी एकताको विषयमा अध्यक्ष नेपालले त्यो तत्काल सम्भव नहुने बताए । सकेसम्म सबै कम्युनिष्टलाई मिलाउन चाहिरहेपनि अहिले नेताहरूको प्रवृत्तिबाट आफू सन्तुष्ट नरहेको जिकिर गरे । ‘अहिले देखिरहेको यस्तो प्रवृत्तिले त के होला र ?,’ भन्दै उल्टै प्रश्न गरे । नेपालले मिठो कुरा गरेर मात्र केही नहुने बताउँदै आफूहरू केटाकेटी नभएको स्पष्ट पारे । ‘सानो केटाकेटीलाई ‘ल बाबु, पापा खाऊ !’ भनेजस्तो भइरहेको छ, हामी त्यस्ता त होइनौँ ’ उनले भने, ‘सन्तुलित तरिकाले अघि बढ्नुपर्छ ।’

आफूले पाएको पीडा कर्णालीमा आएर पोखेको र मनमा शान्ति लिएर काठमाडौं फर्कन बताएका नेपालले सञ्चारमाध्यमबाट नै प्रचण्डलाई सन्देश पठाउन खोजेको पत्रकार सम्मेलनमै बताए । अध्यक्ष नेपालले कर्णालीमा माओवादी र कांग्रेसले आफ्नो दललाई पुरै पुरै बेवास्ता गरेको भन्दै आक्रोश पोखे । माओवादीले एकलौटी गर्न खोजेको र त्यो राम्रो नभएको बताउँदै उनले गठबन्धनभित्र यस्ता कार्यको आलोचना साथै निन्दा गरिने बताए । ‘निकै गलत काम भएको छ, म माओवादी पार्टी र त्यसका अध्यक्ष प्रचण्डजीलाई भन्न चाहन्छु, तपाईंहरूले जसरी हामीलाई बेवास्ता गरेर सरकारमा एकलौटी गर्नुभएको छ, त्यो हामीलाई स्वीकार्य छैन,’ नेपालले भने, ‘यस्तै खालको प्रवृत्ति हावी हुँदै जाने हो भने गठबन्धन तोडिन, मोडिन सक्छ ।’

मान्छेहरूले गठबन्धनको विषयमा अनेक प्रश्न उठाउन थालिरहेको बताउँदै नेपालले आफूहरू टिकाउन लागिपरेको भएपनि व्यवहारबाट वाक्क भइरहेको उल्लेख गरे । उनले अगाडि भने, ‘हामी टिक्छ भनिरहेका छौँ, टिकाउने खुबी, क्षमता र हिस्सेदारी पनि हामीसँग छ । तर, व्यवहार भने हामीलाई पीडा दिने खालको देखिसकेपछि हामी मर्माहत भएका छौँ ।’

उनले केन्द्रमा मन्त्रालयका बजेटको आकार घटाएकोप्रति पनि आक्रोश पोखे । प्रदेशमा आफ्नो दललाई सम्मानजनक व्यवहार नगरे जुनसुकै कदम चाल्न तयार रहेको चेतावनी पनि दिए । सुरुमा जनताको पक्षमा रहेर सरकारले काम गरोस् भन्ने आम मान्छेको चाहना रहेको बताएका नेपालले जनता खुसी र समाज समृद्ध भएमात्रै सबै प्रसन्न हुने बताए । साथै, उनले आफ्नो पार्टी नयाँ अभियानका साथ अघि बढिरहेको र भ्रष्टाचार र सबै खालका विकृतिबाट टाढा रहनुका साथै अरूभन्दा भिन्न देखिने गरी अग्रसर भइरहेको सुनाए ।

प्रकाशित मितिः   २१ बैशाख २०८०, बिहीबार ०५:०२