संरचना सुधार्न बजेट अभाव

जुम्ला: कुनै समय सिटामोलसमेत नपाइने कर्णालीमा अहिले विशषज्ञ स्वास्थ्य सेवादेखि डाक्टर पढाइ समेत भइरहेको छ । २०६८ मा स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनस्वास्थ्य, नर्सिङ र चिकित्सा शिक्षाका कार्यक्रम सञ्चालित छन् । एक दशक अघिसम्म हवाई जहाजमा बिरामी पठाउने जुम्लाले अहिले डाक्टर उत्पादन गरे मुलुकलाई दिने अवस्थामा पुगेको छ ।

तीन सय सैड्ढयाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्णाली लगायत विकट क्षेत्रको भरोसा बनेको छ । पहिले गाउँका विपन्न नागरिक रोग पालेर मृत्यु कुर्न बाध्य थिए । विकटको स्वास्थ्य सेवाको भाष्य बदलेको छ । प्रतिष्ठानले कोरोना महामारीको बेला कर्णालीलाई सुरक्षित राखेर प्रदेशका अधिकांश जिल्लामा ६० जना डाक्टर परिचालन गरेर महामारी विरुद्धमा लडेको थियो । ‘प्रतिष्ठान कर्णालीको गौरव हो, कर्णालीको आयु हो, प्राण पनि हो’ नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले भने ।

विगतमा स्वास्थ्य सुविधाको त कुरै छोडौँ, कसैको अस्वभाविक मृत्यु भएमा पनि लास पोष्टमार्टमका लागि डाक्टर कुर्नुपथ्र्यो, सामान्य हात खुट्टा पलास्टर गर्न पनि नेपालगञ्ज, काठमाडौं लगायत ठूला सहरमा जानु पथ्र्यो । ‘पैसा हुनेहरू सुविधा सम्पन्न अस्पताल खोज्दै जिल्ला बाहिर जान्थे, विपन्नहरू रोग पालेर मृत्यु पर्खेर बस्नुपर्ने बाध्यता थियो’ श्रीमतिको उपचारका लागि प्रतिष्ठानमा पुगेका भेरिखोलाका देविलाल रावलले सुनाए, ‘जुम्लामै अत्याधुनिक सुविधासहितको प्रतिष्ठान हुँदा खाना खर्च बाहेक अरु केही लागेन, विपन्नको लागि यो प्रतिष्ठान भरोसा बनेको छ ।’ प्रतिष्ठानमा सस्तो, सुलभ र सहज उपचार सेवा पाउँदा दुर्गमका नागरिक खुसी छन् ।

प्रतिष्ठानले २०७१ सालमा सेवा सुरु गरेपछि हालसम्म तीन लाख ८० हजार ६ सय ५३ जनाले बहिरंग सेवा लिएका छन् । ३२ हजार सात सय ४० जनाले अन्तरंग र ४८ हजार तीन सय बिरामीले आकस्मिक सेवा लिएका छन् । त्यस्तै सात हजार एक सय १९ गर्भवती महिलाले प्रसूति सेवा लिएका छन् भने मेजर अपरेसन चार हजार तीन सय ८५ वटा गरिएको छ ।

यसरी कर्णालीको भरोसा बन्दै गएको प्रतिष्ठान अझै पनि विभिन्न समस्यासँग जुधिरहेको छ । १४ वटा घर भाडामा लिएर प्रतिष्ठान सञ्चालन भइराखेको छ । आवश्यक भौतिक संरचना निर्माणमा बजेट अभाव भएको छ । जुम्लाको चेरेचौरमा शैक्षिक भवन, कलेज होस्टेल, प्रशासनिक भवन, आवासी भवन निर्माणका निम्ति झन्डै साढे ६ अर्ब बजेट आवश्यक पर्ने देखिएपनि सरकारले बेवास्ता गरेको प्रतिष्ठान जुम्लाका प्रवक्ता रमेश भट्टराईले बताए । ‘चन्दननाथ नगरपालिकाभित्र पर्ने चेरेचौरमा प्रशासनिक तथा शैक्षिक भवन निर्माण गर्न स्थानीयले झन्डै पाँच सय रोपनी जग्गा दान गरेका छन्, तर प्रतिष्ठान बजेट अभावले थला पर्दैछ’ भट्टराईले भने ।

प्रतिष्ठानले हाल एमडी, एमएड, एमबीबीएस, बीएनएस, बीएमएस, बीपीएच र बी फर्मालगायतका कक्षा सञ्चालन गरेर जनशक्ति उत्पादन गरिरहेको छ । कर्णालीकै स्वास्थ्य क्षेत्रको धरोहर प्रतिष्ठानमा बजेट व्यवस्थापनका लागि जुम्लाबाट प्रतिनिधित्व गर्ने चारैजना सांसदले साझा पहल गर्ने प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाही बताउँछन् । प्रतिष्ठानमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सासंद शाहीले भने ‘जुम्लाबाट प्रतिनिधित्व गर्ने चारै जना सांसदहरू प्रतिष्ठानका लागि एकै ठाउँमा उभिने छौँ, बजेट व्यवस्थापनको लागि आवाज उठाउने प्रतिवद्धता जाहेर गर्दछौँ ।’ पश्चिम नेपालकै ठूलो स्वास्थ्य संस्थालाई उचित बजेट व्यवस्थापन गरि दुर्गमको स्वास्थ्य पहुँचलाई सुनिश्चित गर्नुपर्ने स्थानीयको माग छ ।

प्रकाशित मितिः   २१ बैशाख २०८०, बिहीबार ०५:०१