बैठकमै जाँदैनन् प्रदेशसभा सदस्य

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनमा १५ वटा बैठक बस्दा राजीवविक्रम शाह १० वटामा मात्रै उपस्थित भएका छन् ।

सुर्खेत: कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन सकिएको छ । करिब चार महिना चलेको अधिवेशनमा १५ वटा बैठक सञ्चालन भएका छन् । तर पहिलो अधिवेशनमै अधिकांश सदस्यहरू सबै बैठकमा उपस्थित नभएको पाइएको छ । सबै बैठकमा उपस्थिति हुनेको संख्या आधाभन्दा पनि कम अर्थात् १९ जना मात्रै छन् । अन्य सदस्यहरू भने केही बैठकमा अनुपस्थित भए ।

संसद् छल्नेमा बहालवाला मुख्यमन्त्रीसहित मन्त्रीहरू र पूर्वमन्त्रीहरू पनि रहेका छन् । विगतमा पनि प्रदेशसभाका सदस्यहरूले संसद् बैठकभन्दा पनि पार्टीका बैठक, भेला, प्रशिक्षणलगायतका कार्यक्रमलाई प्राथमिकता दिँदै आएका छन् । संसद्मा जनताको आवाज बोलेर सरकारलाई खबरदारी गर्दै कानुन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने दायित्वबाट उनीहरू विमुख देखिन्छन् । कर्णालीका सांसदहरू जनजीविकाका सवालभन्दा सत्ता राजनीतिको खेलमा बढी रुमलिएको आलोचना समेत हुँदै आएको छ । आफ्नो दायित्व र जिम्मेवारीप्रति गम्भीर नभएर सांसदहरू पार्टी गतिविधिमा नै बढी भुलिरहेको आरोप लाग्ने गरेको हो । संसद् बैठकमा उपस्थित हुनेको संख्याले पनि उक्त आरोपलाई बल पुग्छ ।

प्रदेशसभा सचिवालयको विवरणअनुसार सबै बैठकमा उपस्थित हुने सदस्यहरू १९ जना छन् भने सबैभन्दा कम उपस्थित हुनेमा जाजरकोटबाट निर्वाचित नेपाली कांग्रेसका प्रदेशसभा सदस्य राजीवविक्रम शाह छन् । उनी १० वटा बैठकमा मात्रै उपस्थित भएका छन् । अन्य पाँच वटा बैठकमा उनको उपस्थिति रहेन ।

त्यसैगरी नौ जना सदस्यले एक एक वटा बैठक गुमाएका छन् । उनीहरू सभाका १४ वटा बैठकमा भने उपस्थित भएका छन् । सचिवालयको विवरणअनुसार सात जना सदस्य १३ वटा बैठक, दुई जना १२ वटा बैठकमा र दुई जना ११ वटा बैठकमा उपस्थित भएका छन् ।

१५ वटा बैठकमा सहभागी हुने सदस्यमा इन्द्राकुमारी शाही, खड्गबहादुर पोखरेल, उर्मिला विश्वकर्मा, गमता वि.क., जीवनबहादुर शाही, जुम्कीत लामा (कार्की), टेकराज पछाई, तुलसा मल्ल, देवेन्द्रबहादुर शाही, नन्दा गुरुङ्ग, मंगलबहादुर शाही, मिलन खड्का रोका, यशोदा न्यौपाने, यामलाल कँडेल, लक्ष्मी सुनार, बलीमाया बुढा, विजया बुढा, सन्तोषी शाही र सुरेश अधिकारी छन् । उनीहरूले कुनै पनि बैठक छुटाएका छैनन् ।

त्यसैगरी १५ बैठकमध्ये १४ वटामा उपस्थित हुने सदस्यहरूमा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जि.सी., कल्याणी खड्का, घनश्याम भण्डारी, दुर्गबहादुर रावत, पुर्णबहादुर खत्री, वीरबहादुर शाही, महेन्द्र के.सी., रणसिंह परियार, हिक्मतबहादुर विष्टसहित नौ जना रहेका छन् । संसद् सचिवालयको विवरणअनुसार उनीहरू एउटा बैठकमा मात्रै गयल भए ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्मा, आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहसहित सदस्यहरू कलबहादुर हमाल, कृष्णकुमार वि.सी., जितबहादुर मल्ल, दक्षिणा शाही, विनोदकुमार शाह गरी सात जना छन् । उनीहरूले दुई वटा बैठकमा सहभागिता जनाएनन् । मुख्यमन्त्री राजकुमार शर्मा सभाका १५ मध्ये १२ वटा बैठकमा उपस्थित भएका छन् । उनीसँगै सदस्य विन्दमान विष्ट पनि तीन वटामा अनुपस्थित रहेका छन् । जानकी सिंह र शेरबहादुर बुढा ११ बैठकमा उपस्थित भए ।

कर्णाली प्रदेशसभा सदस्यहरूले नीतिगत तथा अन्य संसद्का गतिविधिका बारेमा अध्ययन छलफल चलाएको समेत न्यून देखिन्छ । जनताको प्रतिनिधिको रूपमा प्रस्तुत नभइ सांसदहरू मन्त्री बन्न र जागिर खान चुनिएको जस्तो देखिने गरेको राजनीतिक क्षेत्रका जानकारहरू बताउँछन् । हाल कर्णाली प्रदेशसभामा ४० जना प्रदेशसभा सदस्य छन् । उनीहरूले मासिक पारिश्रमिकलगायत अन्य सुविधाबाहेक संसद् बैठकमा सहभागी भएवापत पनि भत्ता पाउँछन् । प्रदेशसभा सचिव जीवराज बुढाथोकीका अनुसार सदस्यहरूलाई दैनिक एक हजार भत्ता र पाँच सय रूपैयाँ यातायात खर्च उपलब्ध गराउने गरिएको छ ।

प्रकाशित मितिः   २१ बैशाख २०८०, बिहीबार ०५:०५