आठ महिनादेखि पालमुनि बाढीपीडित
सुर्खेत: मुगुको छाँयानाथ रारा नगरपालिका वडा नं. ८ झ्यारी गाउँका एक सय १६ बाढी पीडित पुनर्बासको पर्खाइमा छन् । उनीहरू आठ महिनादेखि पालमुनि बसिरहेका छन् । बाढीपहिरोले विस्थापित बनेको आठ महिनासम्म पनि सरकारले उचित बासको व्यवस्थापन नगर्दा पीडितहरू रारा राष्ट्रिय निकुञ्जको बाम्लीचौरमा त्रिपाल टाँगेर बस्न बाध्य भएका हुन् ।
त्रिपालमुनि बसिरहेका विरमान रावलले पहिरोले घरसहित खेतबारी बगाएपछि महिनौदेखि पाल टाँगेर बस्नुपरेको बताए । गतवर्षको असोज १९ देखि २४ गतेसम्मको अविरल वर्षासँगै आएको बाढीपहिरोले उनको घरखेत बगायो । दुई बोरा चामल, एकसरो कपडा र एउटा त्रिपाल बाहेक कुनै राहत नपाएको उनको गुनासो छ । उनी भन्छन्, ‘घरखेत सबै बगर बनेको छ । कठ्याङ्ग्रीदो चिसोमा कष्टपूर्ण दिन कटायौँ । अब वर्षायाम सुरु हुँदैछ । बिहान–बेलुकाको छाक टार्नै मुस्किल भइरहेको छ ।’ आफूहरूलाई सुरक्षित स्थानमा राखिनुपर्ने माग उनको छ । निकुञ्जले पटक–पटक बस्ती सार्न भनिरहेको रावल बताउँछन् । आठ महिनादेखि बसिरहेको स्थान रारा राष्ट्रिय निकुञ्जको वन क्षेत्र हो ।
बाढी प्रभावित अझै सामान्य अवस्थामा फर्किन सकेका छैनन् । यहाँका एक सय १६ परिवारको बासस्थान सामुदायिक वन बनेको छ । झ्यारी गाउँ नै जोखिममा रहेकाले उनीहरू सबै गाउँले नै पाल टाँगेर बस्न बाध्य भएका हुन् । बाढीले प्रभावित भएपछि जङ्गलमा त्रिपाल टाँगेर ओत बसेको आठ महिना पुगेको विष्णुुकुमारी रावलले बताइन् । ‘घरभित्रको सामान पूरै बाढीले लग्यो, घरको नाम निशाना छैन’ उनले भनिन्, ‘घर बग्यो । उब्जनी हुने खेलबारी समेत बगर बनेको छ । अन्नपात, लत्ताकपडा सबै बाढीले लग्यो ।’ ज्याला मजदुरी गरेर दैनिकी गुर्जादै आइरहेको रावल बताउँछिन् । तीन तहकै सरकारले आफूहरूलाई कुनै पनि राहत नदिएको उनले बताइन् । रावलले भनिन्, ‘विभिन्न समयमा आफूहरूको विवरण संकलन गरेर लैजान्छन् । आजसम्म केही राहत पाएका छैनौँ ।’ बाढीले परिवारको बिचल्ली भएको उनको गुनासो छ । भन्छिन्, ‘पालमुनिको बसाइ कष्टपूर्ण छ । राहतको नाममा दुई कट्ठा चामलबाहेक केही पाउन सकेका छैनौँ । के खाने भन्ने चिन्ता छ ।’
त्रिपालकै भरमा बसिरहेकी अनिता रावल बिछ्याउने कपडा, खाने अन्नपात नहुँदा समस्या भएको बताउँछिन् । ‘घर बस्न लायक नै छैन । फेरि के पो हुन्छ भन्ने डरले त्यहाँ गएका छैनौँ’ उनले भनिन्, ‘वर्षभरी खाने खेतको अन्नसमेत माटोमा मिसिएको छ । अब कसरी परिवार पाल्ने, दैनिक छाक टार्नै मुस्किल भइरहेको छ ।’ उनी ६ महिनाको बच्चासँगै पालमुनि बस्छिन् । चिसोमा पालमुनि बस्दा विभिन्न समस्या हुने गरेको बताइन् । गतवर्षको बाढीले ठूलो क्षेति पुग्यो पुनः सोही ठाउँमा जानसक्ने अवस्था छैन । ‘सरकारले सुरक्षित स्थानमा सारिदिए राहत हुनेथियो’ बाम्लीचौरका बाढीपीडितहरूले सरकारले आफूहरूलाई बेवास्ता गरेको गुनासो गरेका छन् ।
बाढीपीडितहरूको क्षतिको विवरण जिल्ला प्रशासन कार्यलयमा बुझाएको वडा नं. ८ का वडाअध्यक्ष कर्णबहादुर रावलले बताए । उनका अनुसार वडामा बाढीले सबैभन्दा बढी झ्यारी गाउँमा क्षेति पुगेको छ । अन्य स्थानका नागरिक पुनःस्थापित भइसकेको उनले बताए । निकुञ्जको क्षेत्र भएकाले उक्त स्थानमा समेत बस्न समस्या भइरहेको छ । उनले भने, ‘निकुञ्जले बस्ती सार्न ताकेता गरेको छ । प्रदेश सरकारबाट पाउनुपर्ने राहतसमेत नागरिकले पाएका छैनन् । एकिकृत बस्ती व्यवस्थापनका लागि पहल गरेका छौँ ।’
छाँयानाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामले गतवर्षको बाढीले नगरका सबै वडामा क्षति पुगेको बताए । वास्तविक क्षतिको विवरण संकलन भएकाले घर पुनःनिर्माणका लागि राहत वितरण गरिने उनको भनाइ छ । नगरपालिकाभर दुई सय ७१ घर पुनःनिर्माण गरिने उनले बताए । त्यसका लागि नगरपालिकाले ५६ लाख बजेट छुट्याएको छ । संघीय सरकारको चार लाख ७५ हजार र नगरपालिकाको २५ हजार गरी प्रति घर परिवारलाई पाँच लाखका दरले राहत वितरण गरिने उनले जानकारी दिए । अन्य बाँकी घरपरिवार पुनः सोही ठाउँमा बस्नसक्ने भएकाले उनीहरूलाई गाउँमै फर्काउन पहल भइरहेको अध्यक्ष भामको भनाइ छ । उनले भने, ‘पालमुनि बसेका स्थानीयलाई पुरानै ठाउँमा सार्न पहल गरेका छौँ । उक्त स्थानमा बस्नसक्ने अवस्था छ ।’
रारा राष्ट्रिय निकुञ्जको वन क्षेत्रमा त्रिपाल टाँगेर बसेका नागरिकलाई पुनः झ्यारी गाउँमा फर्काउन नगरपालिकालाई भनिएको मुगुका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले बताए । उनका अनुसार भत्किएका संरचना पुनर्निर्माण गरेर बस्नसक्ने भएकाले क्षतिको विवरण हेरर राहत उपलब्ध हुने उनले जानकारी दिए । राष्ट्रिय विपद् प्राधिकरणको सुत्रअनुसार संकटग्रस्त क्षेत्रका घर पुनर्निर्माण गरिने उनले बताए । स्थानीय तहलाई तत्काल नागरिकलाई पालमुक्त गर्न भनिएको उनको भनाइ छ । उनले भने, ‘एकीकृत बस्ती व्यवस्थापन गरेर उनीहरूको व्यवस्थापन गर्नुपर्छ । त्यसका लागि पालिकाले पहल थालेका छन् ।’
प्रकाशित मितिः १९ बैशाख २०८०, मंगलवार ०५:०५
रजनी याेगी ।