उपलब्धिहीन अधिवेशन
कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन अन्त्य भएको छ । आइतवार बसेको पहिलो अधिवेशनको अन्तिम बैठकमा सभामुख नन्दा गुरुङ्गले अधिवेशन अन्त्य भएको जानकारी दिइन् । पहिलो अधिवेशनको प्रथम बैठक गत पुस १८ गते बसेको थियो । त्यसयता १५ वटा बैठक बसेको छ । यस अवधिमा २० घण्टा सात मिनेट नौ सेकेण्ड सभा सञ्चालन भएको हो । पहिलो अधिवेशनले सभामुख र उपसभामुखको निर्वाचन, मुख्यमन्त्री चयन, कार्य व्यवस्था परामर्श समिति गठन, विषयगत समितिहरूको गठनलगायतका कार्यहरू गरेको छ । तर यो अधिवेशन अपेक्षित सक्रिय हुन सकेन । कार्यसम्पादन निकै सुस्त भयो ।
हिउँदे अधिवेशनको रूपमा रहेको यो अधिवेशन विधेयक अधिवेशन पनि हो । तर यो अधिवेशनमा कानुन निर्माणले प्राथमिकता पाएन । गति लिएन । अधिवेशन सुरु भएपछि पनि निकै ढिला गरेर सभामा विधेयक पेश गरिएको थियो । तर ति विधेयक पारित भने यसपटक हुन सकेनन् । विधेयकको टुँगो नलगाएर अधिवेशन अन्त्य गरिएको छ । हालसम्म दुई वटा विधेयक मात्र प्रदेशसभामा टेबुल भएका छन् । कर्णाली प्रदेश खेलकुद विकास ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान विधेयक टेबुल भएका हुन् । यी विधेयकलाई सामान्य छलफलपछि विषयगत समितिमा पठाइएको छ । अधिवेशनको अधिकांश समय प्रदेशसभा बिजेनशविहीन भयो । सरकारले आवश्यक काम दि सकेन । आवश्यकताअनुसारका विधेयक तयार गर्ने र त्यसलाई कानुनी रूप दिनसभामा पेस गर्ने जिम्मेवारी सरकारको हो । तर सरकार नै अस्थिरताको सिकार बन्यो । राजनीतिक अन्योलमा अलमलियो । जसले गर्दा कानुनी निर्माणको काम प्रभावित रह्यो । राष्ट्रिय राजनीतिमा आएको फेरबदलको प्रभाव कर्णाली प्रदेशसभामा पनि प¥यो । जसका कारण पहिलो अधिवेशनमा मुख्यमन्त्री राजकुमार शर्माले तीन पटक विश्वासको मत लिए ।
प्रदेशसभाका विषयगत समिति गठनमा समेत ढिलाइ भयो । अन्तिममा आएर मात्रै सभाका विषयगत समिति गठन गरिएको छ । सभा गठन भएको तीन महिनापछि चार वटा विषयगत समिति गठन गरिएको हो । आइतवार प्रदेशसभाको दोस्रो कार्यकालको अन्तिम बैठकमा सभामुख गुरुङ्गले विषयगत समिति गठन भएको जानकारी दिइन् । प्रदेशसभामा प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, अर्थ तथा प्राकृतिक स्रोत समिति र सामाजिक विकास समिति रहेका छन् । यसरी कानुन निर्माणमा उपलब्धिविहीन हुँदै केही प्रक्रियागत कार्य मात्रै गरेर प्रदेशसभाको पहिलो अधिवेशन सकिएको छ । उपलब्धिमूलक मान्न सकिनेगरी कुनै काम हुन सकेन ।
प्रकाशित मितिः १९ बैशाख २०८०, मंगलवार ०५:०३
सम्पादकीय ।