बालविवाहविरुद्ध अभियान

जुम्ला: पातारासी गाउँपालिकाका किशोर–किशोरीले गाउँगाउँमा कुरीति विरुद्धको अभियानको थालनी गरेका छन् । बालविवाह, छाउपडीलगाएतका परम्परागत कुरीति विरुद्धको अभियान लिएर पातारासीका बस्तीबस्तीमा पुग्ने अभियानको सुभारम्भ गरिएको छ । पालिकास्तरीय बाल सञ्जालका अध्यक्ष रमेश बुढा भन्छन्, ‘बालबालिका भविष्यका कर्णधार मात्रै होइनन्, वर्तमानका साझेदार पनि हुन्, त्यसैले पातारासीलाई सभ्य र सुसंस्कृत बनाउन वडा वडामा बाल क्लवहरू परिचालित छन्, कुरीति न्युनिकरण गर्ने संकल्पका साथ पातारासीका किशोर किशोरीले अभियाननै थालनी गरेका हुन् ।’

चालु आर्थिक वर्षमा पातारासीमा बाल सञ्जालले दुई वटा तय भएका बालविवाहसमेत रोक्न सफल भएको किशोरी विनिता बोहोराले बताइन् । ‘कानुनले नै अपराध घोषणा गरेर वर्जित गरेको बालविवाह रोक्न स्वयम् किशोर किशोरी जुट्नु पर्छ भनेर हामीले तय भएका विवाहसमेत रोकेका छौँ, शिक्षा र सूचनाको अभावले पुनः घटना नदोहोरियोस् भन्ने उद्देश्यले चेतना अभिवृद्धि र खबरदारीका लागि बस्तीबस्तीमा पुग्ने अभियान शनिवारबाट सुरु भएको छ’ अर्का किशोर बालकृष्ण बोहोराले भने । पातारासी गाउँपालिका वडा नम्बर १,२ र ३ मा जबरजस्ती तानेर विवाह गर्ने कुप्रथाले बालविवाहलाई बढवा दिइरहेको छ । यद्यपि, अहिले बाल सञ्जालको निरन्तर खबरदारीले यो कुप्रथा हराउँदै गएको छ ।

‘कुसंस्कारले निरन्तरता पाउनुमा शिक्षाकै अभावले हो । चेतनाको आवश्यकता छ । समाज रूपान्तरण गर्दै कुसंस्कार अन्त्य गर्न सबै बस्तीबस्तीमा अभियान चलाइएको हो, अभियानको पहिलो दिन आज तिन वडाका आधा दर्जन बस्तीमा पुगिएको छ’ पातारासी गाउँपालिका कि उपाध्यक्ष जनमाया रोकायाले भनिन् । भर्खरै पातारासी गाउँपालिकाको वडा नम्बर ५ लाई बालविवाह मुक्त घोषणा गरिएको छ । पाँच वर्षे कार्यकालमा पातारासी गाउँपालिकालाई नै बालविवाह मुक्त बनाउने उदेश्य लिइएको उपाध्यक्ष रोकायाले बताइन् । पातारासीका सात वटै वडाबाट बाल क्लवका प्रतिनिधिको बालभेला पछि कुरीतिको अभियान चलाइएको महिला तथा बालवालिका शाखा प्रमुख भगवती गिरीले बताइन् । ‘चालु आर्थिक वर्षमा पातारासी ५ मा १० जोडिका विवाह भएका छन्, सबै विवाह उमेर पुगेका विवाह मात्रै भएको छ । यो एक महŒवपूर्ण उपलब्धी हो’ उनले भनिन् । बालविवाह सामाजिक कुरीति मात्रै नभएर कानुनी अपराध भएकोले यसबाट टाढा रहनु पर्ने उनको भनाइ छ ।

प्रकाशित मितिः   १७ बैशाख २०८०, आईतवार ०५:०४