अलमलिएको सरकार

कर्णाली प्रदेश सरकार गठन भएको भर्खरै एक सय दिन पूरा भएको छ । यो अवधि अस्थिरतापूर्ण रह्यो । तीन पटक मन्त्रिपरिषद् विस्तार भयो । दुई पटक सत्तासाझेदार दल परिवर्तन भए । त्यति मात्रै होइन मुख्यमन्त्री राजकुमार शर्माले चार महिना नबित्दै तेस्रो पटक विश्वासको मत लिनुपर्ने अवस्था बन्यो । शुक्रवार बसेको प्रदेशसभाको बैठकबाट उनले विश्वासको मत लिएका हुन् । यो तेस्रो पटक हो । मुख्यमन्त्री शर्माले यसअघि दुई पटक विश्वासको मत लिइसकेका थिए ।

नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराइसकेपछि विश्वासको मत मागेका शर्माको पक्षमा प्रदेशसभाका २९ जना सदस्यले मत दिएका छन् । उनले आफ्नो दल नेकपा (माओवादी केन्द्र) का १३ जना सदस्यसहित नेपाली कांग्रेसका १४ जनाको मत पाए । त्यसैगरी अर्को सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का एक र स्वतन्त्र एक जना सांसदले पनि शर्मालाई विश्वासको मत दिएका हुन् । उनीहरू सबैले यसअघि (दोस्रो पटक) पनि विश्वासको मत दिएका थिए । त्यतिबेला सरकारमै सहभागी रहेको नेकपा (एमाले) ले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि शर्माले चार महिना नबित्दै तेस्रो पटक विश्वासको मत लिनु परेको हो । यसअघि सत्तामा रहेको नेकपा (एमाले) अबदेखि भने प्रमुख प्रतिपक्षी बनेको छ । एमालेसँगै सरकारलाई विश्वासको मत नदिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि प्रतिपक्षीका रूपमा रहेको छ । पहिलो पटक राप्रपा र दोस्रो पटक एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । एमाले र राप्रपा बाहिरिएपछि यसअघि प्रतिपक्ष दल रहेको कांग्रेस भने तीन मन्त्रीसहित सरकारमा गएको छ । सरकारमा सहभागी नभएपनि एकीकृत समाजवादीले भने सरकारलाई समर्थन गर्दै आएको छ ।

२०७९ पुस २७ गते नियुक्त भएका मुख्यमन्त्री शर्माले माघ ६ गते पहिलो पटक विश्वासको मत लिएका थिए । त्यतिबेला उनलाई सभामुखबाहेक नेकपा एमालेका नौ जना, माओवादीका १३ जना, राप्रपाका एक जना, एकीकृत समाजवादीका एक जना र स्वतन्त्र एक जना गरी २५ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका थिए । तत्कालीन सत्ता साझेदार दल नेकपा एमालेले समर्थन फिर्ता लिएपछि उनले शुक्रवार तेस्रो पटक विश्वासको मत लिनु परेको हो । यस्तै सुरूमा सरकारलाई समर्थन गरेको राप्रपाले फागुन १८ गते समर्थन फिर्ता लिएको थियो । त्यसपछि मुख्यमन्त्री शर्माले चैत १७ गते दोस्रो पटक विश्वासको मत लिएका थिए । त्यसबेला राप्रपाका एक जना सांसद र सभामुखबाहेक प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका ३८ जना सांसदले उनलाई विश्वासको मत दिएका थिए । यसरी सरकारले पहिलो चार महिना अस्थिरता र अन्योलमै बिताएको छ ।

प्रकाशित मितिः   १७ बैशाख २०८०, आईतवार ०५:०३