‘रंगशालालाई बजेट अभाव हुँदैन’

सुर्खेत: कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले प्रादेशिक रंगशाला निर्माणका लागि बजेट अभाव हुन नदिने बताएका छन् । उनले प्रदेश गौरवको आयोजनाका रूपमा रहेको वीरेन्द्रनगरस्थित रंगशालाका लागि आगामी आर्थिक वर्षको बजेटमा पर्याप्त बजेटको व्यवस्था गरिने बताए ।

राष्ट्रिय लेखा दिवसका अवसरमा प्रदेश लेखा नियन्त्रक कार्यालयले आयोजना गरेको खुला ब्याडमिन्टन प्रतियोगिताको शनिवार समापन गर्दै मन्त्री सिंहले कर्णालीलाई खेलकुदका क्षेत्रमा अब्बल बनाउन पनि यस क्षेत्रका लागि पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको औल्याए । उनले खेलाडीको संरक्षण र क्षमता विकासका लागि प्रदेश सरकार तयार रहेको समेत उल्लेख गरे । खेल क्षेत्रलाई मर्यादित बनाउन गर्नुपर्ने कामका लागि प्रदेश सरकार सधै तयार रहेको उनको भनाइ थियो ।

प्रतियोगितामा कर्मचारीतर्फ कविन्द्र पुन र ईश्वर रावलको समूह प्रथम हुँदा महेश सिंह ठकुरी र खगेन्द्र माझीको समूह द्वितीय भएका छन् । यस्तै, फणेन्द्र रेग्मी, तुल्सी घर्ती, कमल खत्री र रूप सिंह विकको समूह तृतीय भए । भेट्रान्सतर्फ अनिल लाखे र जयन्त श्रेष्ठको समूह प्रथम भयो । रितेश थापा र वीरेन्द्रसिंह विष्टको समूह द्वितीय हुँदा तिलक बस्नेत, कलम विक्रम शाह, धन देवकोटा र नारायण अधिकारीको समूह तृतीय भए ।

यसैगरी, खुलातर्फ सशस्त्र प्रहरी बल क्लबका सुजन थापा र प्रनिस सिंह ठकुरीको समूह प्रथम भए । त्रिभुवन आर्मी क्लबका कबिर केसी र नरेन्द्र बमको समूह द्वितीय भए । तृतीय हुनेमा अनिल मल्ल, दिनेश खड्का, राजेन्द्र बम र जितप्रसाद लामिछानेको समूह रहेको छ ।

खुलातर्फ प्रथम हुनेले ५५ हजार पाँच सय ५५, द्वितीय हुनेले ३३ हजार तीन सय ३३ र तृतीय हुनेले २२ हजार दुई सय २२ रूपैयाँ नगद प्राप्त गरेका छन् । भेट्रान्सतर्फ प्रथम हुनेले ३३ हजार तीन सय ३३, द्वितीय हुनेले २२ हजार दुई सय २२ र तृतीय हुनेले ११ हजार एक सय ११ रूपैयाँ नगद पुरस्कर पाएका प्रदेश लेखा नियन्त्रक बमले जानकारी दिए ।

उनका अनुसार कर्मचारीतर्फ प्रथम हुनेले २२ हजार दुई सय २२, द्वितीय हुनेले ११ हजार एक सय ११ र तृतीय हुनेले सात हजार सात सय ७७ रूपैयाँ पुरस्कार पाएका प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख मानबहादुर बलमे जानकारी दिए । तीन दिनसम्म चलेको प्रतियोगितामा ९३ समूह सहभागी भएका थिए ।

प्रकाशित मितिः   १७ बैशाख २०८०, आईतवार ०५:०२