सर्मी गाउँको कथा

…त्यसपछि सिकारीहरु किसान बने

खलंगाबाट १७ कोष टाढा छ, दुर्गम भेरीखोलाको सर्मी गाउँ । कूल एक सय ७० घरधुरीको सर्मी साविक ताम्ती गाविसको प्रवेशद्वार पनि हो । दैलेखको चौराठा हुँदै जुम्ला पानसय दराबाट भेरीखोलामा बसाईं सरेर सर्मी गाउँ निर्माण भएको बुढापाकाको कथन छ । भेरीखोलाको सर्मीमा कस्तुरी, झारल, बाज, च्याखुरा जस्ता पशुपन्छी प्रशस्त हुने हुँदा सिकारीका लागि उर्भर क्षेत्र मानिन्थ्यो ।

चार दशक अघिसम्म भेरीखोलामा बाज, कस्तुरी, झारललगायतका पशुपन्छीको सिकार गरिन्थ्यो । सरकारले बाजको व्यापारमा कर नै तोकेको थियो, यसबाट थाहा हुन्छ कि पुर्सो बाजको व्यापार कति मात्रामा हुन्थ्यो भनेर । खासगरी बाज भारतीयहरूलाई बिक्री गरिन्थ्यो, उनीहरुले बाजलाई मोति टिप्ने काममा प्रयोग गर्थे । स्थानीय प्रेम रावलले सुनाए, ‘च्याखुरा खेल्ने ठाउँ, बाजको खेल्ने थलो, कस्तुरी बस्ने भुरीचुला, सुनखानी भएको २२ पाटन भएको भेरिखोला छ भनेर पुर्खालाई सुरुमा सर्मी पठाइयो, सिकारी गाउँको इतिहास बोकेको सर्मी अहिले किसानको गाउँमा परिणत भएको छ ।’

सिकारी बसेर गाउँ निर्माण भएको सर्मीमा अहिले किसानहरू मात्रै छन् । २०१९ सालमा सरकारले पशुपन्छी संरक्षण ऐन ल्याएपछि सर्मीवासी सिकारीबाट किसान बने । गाउँ छेउको घट्टे खोला किसानको साहारा बनेको छ । जुम्लाका गाउँबस्तीमा खडेरी लाग्दा घट्टेखोलाले सर्मी गाउँको जमिन हराभरा छ । सर्मी गाउँमा सिँचाइ, खानेपानी, विद्युत, पानी घट्टलगायतका आवश्यकता यही घट्टे खोलाले पूरा गरेको छ । ‘सरकारले पशुपन्छी संरक्षण ऐन ल्याएपछि सिकारबाट जिवीका चलाएका सर्मीवासीको रोजीरोटि खोसियो । सिकारीबाट गाउँले किसान बन्न थाले । अनि किसानको सारथी बन्यो, घट्टे खोला । अहिले यहि खोलाले गाउँलाई खानेपानी, बिजुली, सिँचाइ, पानी घट्ट दिएको छ’ स्थानीय दलबहादुर कुँवरले भने । साविकको ताम्ती गाउँ विकास समिति रहेको भेरीखोलामा पहिलो पटक विजुली सर्मीमा बलेको थियो । अहिले पनि गाउँ झिलिमिलि छ । एक घर एक धारा छ ।

जुम्लामा कूल दुई सय ३८ गाउँ छन् । प्राकतिक भू–बनोटले कतै सहज र कतै कठीन जीवनशैली छ । सर्मीका छिमेकि गाउँ नुवाकोटको महादेव, राँका गाउँको तरापीमा खानेपानीको समेत हाहाकार छ । भेरिखोला हुदै बग्ने नदि किनारबाट भुरीचुला हिमालको मध्यान्तरसम्म घना जङ्गल छ । यहि जङ्गलका कारण सर्मी गाउँको घट्टे खोला सदावहार बगिरहन्छ ।

गाउँमा रोजगारका अवसर भने छैनन् । किसानै किसानको गाउँमा पानीले जिविका निकै सहज बनाएको स्थानीय सुर्य बुढाले बताए । गाउँमा ९५ प्रतिशत नागरिक कृषिमा आवद्ध रहेको स्थानीय मुनबहादुर कुँवरले बताए । जुम्लाको दुर्गम मानिने भेरिखोलामा सर्मीसहित एक दर्जन गाउँ छन् । भूगोल जटिल भएपनि प्राकृतिक रूपमा भने यो क्षेत्र धनि छ । यार्सा पाइने पानसय पाटन, भुरिचुला मालिका, जडिबुटी, जङ्गल र जल भेरिखोलाका सम्पति हुन् । यसको समुचित प्रयोग गरेर अघि बढ्नु पर्ने स्थानीय कृष्ण खड्का बताउन्छन् ।

प्रकाशित मितिः   ९ बैशाख २०८०, शनिबार ०५:०४