विद्यालयमा भर्ना अभियान

विद्यार्थी खोज्दै घरदैलोमा

सुर्खेत:सल्यानको शारदा नगरपालिकाले नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको छ । ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथ पालिकाभरका विद्यालयमा एकैसाथ भर्ना अभियान सुरु गरिएको हो । वैशाख ३ देखि सुरु भएको अभियान १६ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

शारदाले सबै बालबालिकालाई विद्यालयमा भर्ना गर्ने योजनासहित अभियान थालेको हो । विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयभित्र ल्याउने उद्देश्यका साथ विद्यार्थी भर्ना अभियान सुरु गरिएको पालिकाका शिक्षा शाखा प्रमुख संगिता बुढाले बताइन् । उनका अनुसार यो अभियान १६ गतेसम्म सञ्चालन गरिने भएपनि विद्यार्थी भर्ना भने वैशाख महिनाभर नै गरिनेछ ।

विद्यार्थी भर्ना अभियान अन्तर्गत विद्यालयहरूले घरदैलो समेत गरिरहेका छन् । नगरपालिकाको वडा नं.४ मा रहेको महेन्द्र माध्यमिक विद्यालयले अहिले आफ्ना सेवा क्षेत्र भित्रका टोल–टोलमा पुगेर अभिभावक भेटभाट कार्यक्रम गरिरहेको छ । विद्यालय उमेर समूहका बालबालिकाका घरमै पुगेर विद्यालयभित्र ल्याउन उत्प्रेरण दिने गरिएको हो । शिक्षक, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, अभिभावक संघका प्रतिनिधि लगायतको टोलिले घरदैलो कार्यक्रम गरिरहेको विद्यालयका प्रध्यानाध्यापक प्रकाश हमालले जानकारी दिए । उनले भने, ‘अघिल्ला वर्षहरूमा भर्ना अभियानकै रूपमा सञ्चालन गर्न पाएनौँ । कति बालबालिका विद्यालय बाहिर रहे, यसपटक घरदैलोमै पुगेर अभिभावकहरूलाई आफ्ना बालबालिका विद्यालय भर्ना गर्न अपिल गरिरहेका छौँ ।’

यस्तै दैलेखको दुल्लू नगरपालिकाले पनि वैशाख ३ देखि १५ गतेसम्म विद्यार्थी भर्ना अभियान सुरु गरेको छ । सरोकारवालासहितको भेलामार्फत बिहीवार औपचारिक रूपमा अभियानको सुरुवात भएको हो । पालिकाले वडा समितिमार्फत घरदैलो कार्यक्रम गर्ने जनाएको छ । विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयसम्म ल्याउन समितिले अभियान सञ्चालन गर्नेछ । यसैगरी नगरपालिकाका प्रत्येक विद्यालयमा विद्यार्थी भर्ना सम्पर्क व्यक्ति (फोकल पर्र्सन) तोकिएको छ । विद्यार्थी भर्ना अधियानलाई उत्साहका रूपमा सञ्चालन गरिएको पालिकाका शिक्षा शाखा प्रमुख विकासजंग शाहीले बताए । उनले भने, ‘अभिभावक, जनप्रतिनिधि, शिक्षक यो अभियानमा लाग्नु भएको छ । प्रत्येक घर–घरमा भर्ना अभियानको टोली पुगेको छ ।’ गतवर्ष मात्र एक हजार पाँच सय बालबालिकाले बिचमै विद्यालय छोडेका थिए । यस पटक ती सबैलाई विद्यालयमा ल्याउन पहल भइरहेको उनले जनाए ।

सुर्खेतको लेकवेशी नगरपालिकाले भर्ना अभियानलाई तामझामका साथ सुरु गरेको छ । ब्यानरसहित टोल–टोलमा माइकिङ गर्दै भर्ना अभियान सञ्चालन गरिरहेको पालिकाका शिक्षा शाखा प्रमुख पहलमान अधिकारीले बताए । पालिकाले वैशाख १८ गतेसम्मलाई भर्ना अभियानकै रूपमा मनाउने भएको छ । १९ गतेदेखि विद्यालय सञ्चालन गरिने उनले बताए । पछिल्ला वर्षहरूमा विद्यालय भर्ना भइसकेका विद्यार्थी पनि बीचमै विद्यालय छाड्नेको संख्या बढेपछि विद्यालयमा विद्यार्थी टिकाउने गरी भर्ना अभियान सञ्चालन भएको उनले जानकारी दिए ।

त्यसैगरी पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाले वैशाख–१ गतेदेखि नै भर्ना अभियान सुरु गरेको छ । वैशाख महिनाभर भर्ना अभियान चल्नेछ । विद्यालय उमेरका सबै बालबालिकालाई विद्यालयमा भिœयाउने उद्देश्यले अभियान सुरु गरिएको पालिकाका शिक्षा शाखा प्रमुख तुल्सी पुरीले बताइन् । ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथ अभियान चलिरहेको उनले जानकारी दिइन् । पुरीले पाँचदेखि नौ वर्ष उमेर समूहका विद्यालय बाहिर रहेका पालिकाभरका बालबालिकालाई विद्यालयमा ल्याउने लक्ष्य लिएको उनको भनाइ छ ।

भर्नासँगै हातहातमा पुस्तक

यसपटक विद्यार्थी भर्ना सँगसँगै पाठ्यपुस्तक वितरणसमेत भइरहेको छ । डोल्पाको ठूलीभेरी नगरपालिका वडा नम्बर–३ मा रहेको बालमन्दिर आधारभूत विद्यालयले विद्यार्थी भर्नासँगै हातहातमा पाठ्यपुस्तक दिने गरेको छ । वैशाख ३ गतेदेखि विद्यालयले भर्ना अभियान सुरु गरेको हो । भर्नासँगै विद्यालयमा पठनपाठनसमेत सुरु गरिएको विद्यालयका प्रध्यानाध्यापक अम्बिका हमालले बताइन् । गतवर्षको तुलनामा यो वर्ष बालबालिकाले समयमै पाठ्यपुस्तक पाएका छन् । उनले भनिन्, ‘भर्नासँगै पढाइ सुरु भएको छ । बालबालिकाको हातमा पुरै सेट किताब पुगेको छ ।’

हुम्लाको ताँजाकोट गाउँपालिकामा रहेको धर्मोदय माध्यमिक विद्यालयले पनि भर्ना हुने बित्तिकै बालबालिकालाई हातमै पुस्तक दिने गरेको छ । गतवर्षको शैक्षिक सत्रको अन्त्यमासम्म पाठ्यपुस्तक नपाएका बालबालिकाले यो वर्ष भने भर्नासँगै पुस्तक पाएका हुन् । विद्यालयले वैशाख १६ गतेसम्म भर्ना अभियान सञ्चालन गर्नेछ । हातमै पाठ्यपुस्तक पाएसँगै विद्यार्थी अभिभावक उत्साहित बनेको विद्यालयका प्रध्यानाध्यापक गंगादत्त जैसीले बताए ।

ताँजाकोटमै रहेको क्षेत्रपाल आधारभूत विद्यालयका प्रधानाध्यापक मनक्रृषि जैसीले यो वर्ष बालबालिकाले समयमै पाठ्यपुस्तक पाएको बताए । उनले भने, ‘यो वर्ष भर्नाअघि नै विद्यालयमा पाठ्यपुस्तक पुगेको हो ।’ समयमै पाठ्यपुस्तक आएका कारण पठनपाठन सञ्चालनमा समेत सहजता हुने उनले जनाए ।

प्रकाशित मितिः   ९ बैशाख २०८०, शनिबार ०५:०५