नविनतम् शिक्षण सिकाइमा जोड
सुर्खेत: कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले परम्परागत नभइ नविनतम् शिक्षण सिकाइ अहिलेको आवश्यकता भएको बताएका छन् । विश्व शिक्षाको आर्थिक सहयोग र अपाङ्ग सशक्तिकरण केन्द्र सुर्खेत लर्न परियोजनाको आयोजनामा शुक्रवार वीरेन्द्रनगरमा भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
सल्यान र दैलेख जिल्लाका ६ वटा पालिकामा लागू गरिएको उक्त परियोजनाको प्रदेशस्तरीय समीक्षा तथा अनुभव आदानप्रदान कार्यक्रममा कानुनमन्त्री जिसीले परियोजनाले बालबालिकाको सिकाइमा उत्प्रेरणा र अभिरूची हुने गरी गरिएका गतिविधिको चर्चा गर्दै यस्ता खालका गतिविधि सरकारका लागि प्रेरणादायी र सिकाइ भएको बताए । उनले कर्णाली प्रदेश सरकारबाट आगामी दिनमा प्रविधिमैत्री शिक्षण सिकाइमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
कार्यक्रम परियोजनाले हासिल गरेको उपलब्धिबारे अपाङ्ग सशक्तिकरण केन्द्र (डेक) का कार्यकारी निर्देशक विष्णुप्रसाद शर्माले जानकारी गराएका थिए । कार्यक्रममा विभिन्न विद्यालयबाट सहभागी शिक्षकहरूले परियोजना सञ्चालन भएपछि आएको परिवर्तनबारे अनुभव आदानप्रदान गरेको थिए ।
कर्णाली प्रदेशका दैलेख र सल्यान जिल्लाका ६ वटा पालिकाका जनप्रतिनिधीहरूले यस परियोजनाबाट भएको सिकाइलाई अनुशरण गरी आगामी आर्थिक वर्षमा प्राथमिकतामा राखेर पालिकाका सामुदायिक विद्यालयलाई प्रविधीमैत्री शिक्षण सिकाइमा लैजाने प्रतिबद्धता गरेका थिए ।
पालिकाका शिक्षा युवा तथा खेलकुद शाखा, परियोजना सञ्चालन गरिएका विद्यालयका शिक्षक–शिक्षिका र विभिन्न संघसंस्थाहरूका प्रतिनिधीहरूको समेत सहभागिता रहेको कार्यक्रममा आयोजना संस्थाले डेक सुर्खेतले परियोजना सञ्चालन भएका दुई जिल्लाका ५० वटा विद्यालय र ६ वटा पालिकामा भएका गतिविधिलाई तस्विर ग्यालेरी प्रदर्शनीमार्फत सहभागीलाई जानकारी गराएको थियो ।
प्रकाशित मितिः ९ बैशाख २०८०, शनिबार ०९:१८
साझा बिसौनी ।