मानवअधिकार उल्लंघन वृद्धि

सुर्खेत: पछिल्लो समय मानव अधिकार उल्लंघनका घटनामा वृद्धि भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को प्रतिवेदनअनुसार पछिल्लो तीन महिनामा कर्णाली प्रदेशभर करिव एक सय १६ माधवअधिकार उल्लंघनका घटना भएका छन् ।

इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले तीन महिनामा मानवअधिकार उल्लंघन तथा ज्यादतीका एक सय १६ वटा घटना अभिलेख भएको जानकारी दिए । महिला अधिकार उल्लंघनका घटनामा घरेलु हिंसा प्रमुख कारण हुने गरेको प्रदेश संयोजक सुवेदीले बताए । उनका अनसार परिवारजनबाट जुम्ला, सल्यान, हुम्ला र दैलेखमा चार जना महिलाको हत्या भएको छ ।

यो अवधिमा सबैभन्दा बढी महिला अधिकारका घटनामा ५७ जना पीडित भएका छन् । १९ जना बालिका पीडित भएको इन्सेकको तथ्यांकमा उल्लेख गरिएको छ । सो अवधिमा राज्यपक्षबाट ६ वटा मानव अधिकार उल्लंघन र ज्यादतीका घटना भएका थिए । जसमध्ये कुटपिटबाट पाँच जना र धम्कीबाट एक जना पीडित भएको इन्सेकको अभिलेखमा उल्लेख गरिएको छ ।

इन्सेकको अभिलेख अनुसार अन्य पक्षबाट भएका घटनामा कुटपिटबाट १५, बालअधिकारका घटनामा १९, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारबाट एक जना, अमानवीय व्यवहारबाट दुई जना पीडित भएका छन् भने १२ जनाको हत्या भएको छ । त्यसैगरी बालअधिकारका घटनामा ११ जना बालिका बलात्कारका घटनाबाट पीडित भएका छन् । त्यसैगरी शरीरिक दण्ड सजायबाट दुई जना र बालविवाहका घटनामा ६ जना पीडित भएको अभिलेखमा उल्लेख गरिएको छ ।

कर्णाली प्रदेशमा महिला अधिकार उल्लंघनका घटनामध्ये घरेलु हिंसाबाट ३९ जना, बलात्कारका घटनामा आठ र बहुविवाहको घटनामा सात जना पीडित भएका छन् । ‘बोक्सी’को आरोपमा एक, बलात्कार, बलात्कार प्रयास र यौनदुव्र्यवहारका घटनामा दश जना पीडित भएको जनाइएको छ ।

प्रकाशित मितिः   ९ बैशाख २०८०, शनिबार ०५:०१