गाउँगाउँमा बालविवाहविरुद्ध अभियान

जुम्ला: पातारासी गाउँपालिका–६ रिनी गाउँका तारादेवी बोहोराले १३ वर्षको उमेरमा विवाह गरिन् । उनको उमेर अहिले २३ वर्ष पुग्दा दुई सन्तानको आमा भइसकेकी छिन् । उमेर नपुग्दै विवाह गरेकोमा उनलाई पछुतो छ । त्यसैले अहिले उनी बालविवाह रोक्ने अभियानमा जुटेकी छिन् । अरु किशोरीले दुःख नपाउन् भनेर अभियानमा जुटेको उनले बताइन् । ‘मेरा पनि थुप्रै रहर थिए, पढौँ, लेखौँ, आत्मनिर्भर बनौँ भन्ने चाहना थियो, तर अशिक्षाका कारण बुवाआमाले १३ वर्षकै उमेरमा विवाह गरिदिए, उनीहरूलाई पनि के गुनासो गर्नु र ? मैले जस्तै दुःख अरुले खेप्नु नपरोस् भनेर बालविवाहको अभियानमा जुटेको हुँ’ उनले भनिन् ।

पहिले महिलाहरूलाई औपचारिक शिक्षामा जोडिने अवसर हुँदैनथ्यो । गोठाला लाग्नुपर्ने, मेलापात धाउनुपर्ने बाध्यता हुन्थ्यो । अशिक्षाका कारण सानैमा विवाह गर्दा जीवनभर दुःख हुने अनुभव सुनाउँदै स्थानीय राममाया बुढाले भनिन्, ‘स्वास्थ्यमा असर परेको छ, कैंयौै महिला बालविवाहकै कारण पाठेघरको क्यान्सरसँग लडिरहेका छन् ।’

अहिले पातारासीका बस्तीबस्तीमा बाल सञ्जाल गठन भएका छन् । बाल सञ्जालमा आवद्ध बालबालिकाले तय भएका बालविवाह समेत रोक्दै आएका छन् । गाँउमा बालविवाह हुन लागेको सूचना पाउनासाथ प्रहरी र जनप्रतिनिधिलाई खबर गरेर बालविवाह रोक्दै आएको किशोर दिलक खड्काले बताए । पातारासीमा अहिले पनि किशोरीलाई तानेर श्रीमती बनाउने कुप्रथा विद्यमान छ । तर विगतको जस्तो विकराल छैन । यद्यपि, चेतनाको आवश्यकता छ । समाज रूपान्तरण र कुसंस्कार अन्त्य गर्न सबै सामुदायिक विद्यालय र बस्तीबस्तीमा पुगेर अभियान सुरु गरिएको पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले बताइन् ।

पातारासी गाउँपालिका अन्र्तगतको महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीका अनुसार पातारासीका २६ वटै गाउँबस्तीमा बाल अधिकार समिति गठन गरेर कुरीतिविरुद्ध परिचालन गरिएको छ । पहिलो चरणमा पातारासी गाउँपालिका वडा नम्बर ५ लाई चालु आर्थिक वर्ष भित्रै बालविवाहमुक्त वडा घोषणा गर्ने तयारी गरिएको छ । पातारासीलाई कुरीतिको चक्रव्युबाट अन्त गर्न सके धेरै कुरामा परिवर्तन हुने पातारासी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दानबहादुर विष्टले बताए ।

पातारासी जुम्लाका आठ पालिकामध्ये सबैभन्दा बढी बालविवाह हुने पालिका पनि हो । बालविवाहले जनस्वास्थ्य र सामाजिक रूपान्तरणमा दिगो असर देखिएपछि यतिबेला जनप्रतिनिधि, प्रहरीदेखि बालबालिका सबै बालविवाह रोक्ने अभियानमा जुटेका छन् । सरोकारवाला जुटेर बस्तिबस्तिमा पुगेर बालविवाहविरुद्ध अभियान सञ्चालन गरेका हुन् ।

प्रकाशित मितिः   १५ चैत्र २०७९, बुधबार ०५:०४