खेल विकासको योजना

दुई वर्षपछि कर्णाली प्रदेशमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । कर्णालीमा पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन लागेको हो । नेपाली खेलकुदको सबैभन्दा ठूलो खेल मेला आयोजनाका लागि अहिले धमाधम पूर्वाधार विकास भइरहेको छ । यसअघि ठूला खेलकुद प्रतियोगिता सञ्चालन नगरेको कर्णालीलाई राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनमा भने निकै चुनौती हुने देखिएको छ । यद्यपि, प्रतियोगितालाई लक्षित गरी पूर्वाधार निर्माणको कामलाई तीव्रता दिइएको छ । प्रतियोगिताकै लागि केही पूर्वाधार निर्माण सुरु भइसकेका छन् । कुन जिल्लामा के–के पूर्वाधार बनाउने र त्यसका लागि कति बजेट लाग्छ भन्ने विषयमा आवश्यक छलफल र तयारी भइरहेको छ ।

दशवटै जिल्लामा पूर्वाधार निर्माणका लागि आगामी आर्थिक वर्षमा प्रदेश सरकारसँग एक अर्ब ३५ करोड बजेट माग गरिएको छ । रंगशाला निर्माणका लागि हाल एक अर्ब ५९ करोड बजेट रहेको छ । दशौँ राष्ट्रिय खेलकुद लक्षित गरी निर्माण थालिएको सबैभन्दा ठूलो योजना हो, वीरेन्द्रनगरमा निर्माणाधिन प्रदेश रंगशाला । प्रदेश गौरवको रंगशाला निर्माणको काम हालसम्म ४० प्रतिशत सम्पन्न भएको छ । प्रदेश रंगशालाबाहेक पनि विभिन्न जिल्लामा खेल पूर्वाधार निर्माणको योजना बनाइएको छ । अन्य चार जिल्लामा कभर्डहल निर्माण हुँदैछन् । सल्यान, जाजरकोट, मुगु र हुम्लामा कभर्डहल बनेका छैनन् । सल्यान र जाजरकोटमा जग्गा प्राप्तिको प्रक्रिया अघि बढेको छ । दैलेख, कालीकोट, जुम्ला र रूकुमपश्चिममा भएका कभर्डहलहरूको स्तरोन्नति गरिनेछ । आगामि आर्थिक वर्षदेखि स्तरोन्नतिको काम सुरु गरिने जनाइएको छ । राष्ट्रिय खेलकुद प्रतियोगितामा केही खेलहरू वीरेन्द्रनगर बाहिर पनि सञ्चालन गर्ने योजना परिषद्को छ । सोहीअनुसार ती जिल्लाहरूमा पनि खेल पूर्वाधारको स्तरोन्नतिमा जोड दिइएको हो । दैलेख, कालीकोट, जुम्ला, हुम्ला, मुगु र रूकुुमपश्चिममा समेत प्रतियोगिता सञ्चालन हुनेछन् । रुकुमपश्चिमको चौरजहारी रंगशाला निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढेको छ । संघीय सरकारको ८५ करोडको बजेटमा रंगशाला निर्माण हुन लागेको हो । यस्तै प्रदेश सरकारको दुई करोड लगानीमा रुकुममै क्रिकेट मैदान बन्न लागेको छ । दुई वर्षभित्र सक्नेगरी बोलपत्र आह्वान भइ सम्झौताको प्रक्रियामा रहेको छ । मैदान तयार भएमा दशौँ राष्ट्रिय खेलकुदमा क्रिकेट प्रतियोगिता रूकुममा सञ्चालन गर्न सकिने जनाइएको छ ।

अहिलेको अवस्थामा कर्णालीमा खेलकुदका पर्याप्त पूर्वाधार छैनन् । पूर्वाधार अभावकैबीच पनि खेलाडीहरूको मेहेनतले विभिन्न प्रतियोगितामा सहभागिता जनाउने र उत्कृष्ट प्रदर्शन गरिरहेको देखिन्छ । पछिल्लो समय विकास हुँदै गएको पूर्वाधारले खेल क्षेत्र उत्साहित बनेको छ । त्यसमाथि दशौँ राष्ट्रिय खेलकुद आयोजनाको अवसर कर्णालीको खेल विकासमा कोसेढुँगा सावित हुनसक्नेछ ।

प्रकाशित मितिः   १४ चैत्र २०७९, मंगलवार ०५:०३