आयोजनाले उत्साह

कर्णाली प्रदेशमा जलविद्युत उत्पादनको प्रचुर सम्भावना छ । तर यसका लागि आवश्यक लगानी हुन सकेको छैन । केही आयोजना निर्माणको क्रममा छन् भने केही आयोजना विभिन्न अड्चनमै अल्झिएका छन् । यद्यपि, केही आयोजनाको काम उपलब्धिमूलक देखिन्छ । सुर्खेत र अछाम जोड्ने गरी निर्माण हुने बेतन कर्णाली जलविद्युत आयोजनाको पूर्वतयारी अन्तिम चरणमा पुगेको छ । विस्तृत अध्ययन प्रतिवेदन तयार भएसँगै आयोजना निर्माणअघिका तयारी अघि बढाइएको हो । अहिले निर्माणपूर्वको तयारी धमाधम चलिरहेको छ । चार सय ३९ मेगावाट क्षमताको अर्धजलासययुक्त यो आयोजना निर्माणका लागि आयोजना निर्माणपूर्वका काम अन्तिम चरणमा पुगेको छ ।

आयोजनाका मुख्य संरचनाहरू अछामको ढकारी गाउँपालिका वडा नं. ६ मा निर्माण हुनेछन् । ९० मिटर अग्लो बाँध निर्माणपश्चात् २१ किलोमिटर लामो जलाशय क्षेत्र बन्ने छ । आउँदो आर्थिक वर्ष २०८०/०८१ देखि मुख्य आयोजनाको काम सुरु हुने न्यौपानले जानकारी दिए । हाल आयोजना पहुँच–मार्ग विस्तार, क्याम्पहाउस र विद्युत विस्तारलगायतका काम भइरहेका छन् । निर्माणपूर्व तीन मिटर व्यास र ७० मिटर लम्बाइका दुई तथा एकसय र दुईसय मिटर लम्बाइका एक÷एक गरी चार वटा अडिट टनेल निर्माण सम्पन्न भएका छन् । अछाम खण्डबाट आयोजनास्थलसम्म पहुँचमार्ग निर्माणको काम सम्पन्न भइसकेको छ । उक्त खण्डमा १६ किलोमिटर पहुँचमार्ग विस्तार भइ बाँधस्थल र विद्युतगृहसम्म सडक पुगेको छ । यसैगरी सुर्खेत खण्डमा १६ किलोमिटर पहुँमार्ग निर्माण गर्नुपर्नेमध्ये १२ किलोमिटर निर्माणको काम सम्पन्न भएको छ । बाँकी रहेको चार मिलोमिटर निर्माणको काम चलिरहेको छ । सुर्खेतको चौकुने गाउँपालिकाको गुटुबाट बाँधस्थलसम्म १६ किलोमिटर पहुँच–मार्ग निर्माण हुनेछ । आयोजनास्थलमा विद्युत विस्तारको प्रक्रिया पनि सुरु भएको छ । विद्युत विस्तारका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को काम सकिएको छ । अब कन्ट्रक्सनको काम सुरु हुनेछ । अध्ययनको काम सम्पन्न भइ कन्ट्रक्सनको काम सुरु हुन लागेको हो । विद्युत खरिद–बिक्रीका लागि नेपाल विद्युत प्राधिकरणसँगको सम्झौताको तयारी समेत अन्तिम चरणमा पुगेको छ ।

२०८० मा सुरु भइ पाँच वर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य छ । यो आयोजना सम्पन्न गर्न ८८ अर्ब बजेट लाग्ने छ । निर्माण पूर्वको काममा करिब ७० करोड बजेट खर्च भएको छ । मुख्य आयोजना निर्माणअघिका तयारी धमाधम चलिरहेको छ । कामको गति हेर्दा यो आयोजना समयमै अघि बढ्ने देखिन्छ । अन्य बाधा सिर्जना नभएमा समयमै निर्माण गरी आयोजना उदाहरणीय बन्नसक्नेछ ।

प्रकाशित मितिः   ९ चैत्र २०७९, बिहीबार ०५:०३