विकासमा बाधा

सुर्खेतको प्रमुख पर्यटकीय स्थल काँक्रेविहार जाने सडक वर्षौंदेखि अलपत्र परेको छ । मंगलगढी चोकदेखि लाटीकोइलीको शिवमन्दिसम्मको सडक स्तरोन्नति नहुँदा स्थानीय नागरिकले सास्ती बेहोर्नुपरेको छ । लाटीकोइली क्षेत्रका नागरिकका साथै काँक्रेविहार हेर्न आउने पर्यटकलाई सडकको नाजुक अवस्थाले दुख दिने गरेको छ । निर्माणाधिन सडक धुलाम्मे छ । पानी परेको समयमा हिलाम्मे हुन्छ । सडकमा खाल्डाखुल्टीको समस्या पनि उत्तिकै छ । स्थानीयवासीलाई त दैनिक समस्या भइरहेको छ, काँक्रेविहार हेर्न आउने पर्यटकलाई पनि सास्ती दिएको छ । कहिले धुलोले र कहिले हिलोले गर्दा निकै समस्या भएको छ ।

वर्षौंदेखिको सडक सास्तीले स्थानीय नागरिक हैरान भएका छन् । दैनिक उक्त बाटो भएर विद्यालय जाने विद्यार्थीहरू थप समस्यामा पर्ने गरेका छन् । विद्यार्थीहरू स्कुल जादाँ होस् यो ज्येष्ठ नागरिकहरूलाई सडकमा हिँड्नै अप्ठ्यारो हुने गरेको छ । अलपत्र सडककै कारण पटक पटक दुर्घटना हुने गरेको समेत उनले जनाइन् । धुलोले नागरिक स्वास्थ्यमा असर पुगेको छ । बालबालिका बढी मर्कामा परेका छन् । सडक निर्माणमा ठेकेदार कम्पनीले लापरबाही गरेको छ भने सम्बन्धित निकायले पनि बेवास्ता गरेका छन् । यसअघि प्रदेशको पूर्वाधार विकास निर्देशनालय र वीरेन्द्रनगर नगरपालिकाले संयुक्त रूपमा ठेकेदार कम्पनीसँग सम्झौता गरेर काम अघि बढाएका थिए । तर अहिले पूर्वाधार विकास निर्देशनालयले मात्रै जिम्मा लिएर ठेकेदार कम्पनीसँग नयाँ सम्झौता गरेको छ । पछिल्लो पटक २०७८ मा पुनः सम्झौता गरिएको थियो । कर्णाली प्रदेश पूर्वाधार विकास निर्देशनालयले २०७८ मंसिर १४ मा अमर–सिस्ने नेपाल–मेघा कम्पनीसँग सडक स्तरोन्नतिका लागि सम्झौता गरेको हो । सम्झौताअनुसार २०८० असार १५ गतेसम्म काम सम्पन्न भइसक्नुपर्ने छ । १२ करोड ७६ लाखमा ठेक्का सम्झौता गरिएको हो । सम्झौताअनुसार कम्पनीले काम भने अघि बढाएको छैन । दुई हजार चार सय मिटर सडकको काम अहिलेसम्म ३० प्रतिशत मात्र सकिएको छ । पूर्वाधार विकास कार्यालयका अनुसार दुई करोड ७७ लाख रूपैयाँ भुक्तानी भइसकेको छ । ठेक्का सम्झौता सकिन लगभग तीन महिना मात्र बाँकी रहेको छ ।

लामो समयदेखि जीर्ण अवस्थामा रहेको सडक स्तरोन्नति थालिएको हो । तर स्तरोन्नतिको काम नै अलपत्र परेको छ । सडक स्तरोन्नतिमा ढिलाइ भएको भन्दै केही दिनअघि स्थानीयले सडक अवरुद्ध पारेका थिए । सडकको काम सुरु गर्ने सहमति भएपछि विरोध भने रोकिएको छ । यसरी विकास निर्माणमा हुने ढिलाइले एकातिर आर्थिक भार बढाइरहेका हुन्छन् भने अर्कोतर्फ नागरिकलाई समस्या दिइरहेका हुन्छन् । त्यसैले कुनै पनि आयोजना समयमै सम्पन्न गर्नेतर्फ ध्यान दिन जरुरी छ ।

प्रकाशित मितिः   ६ चैत्र २०७९, सोमबार ०५:०३