कानुनी ज्ञान अभावले हिंसामा बढोत्तरी

सुर्खेत: दैलेखको महावु गाउँपालिका–१ की ४० वर्षिया पार्वती खत्रीलाई कानुनी ज्ञान छैन । कानुुनका बारेमा जानकारी कम हुँदा विभिन्न समस्या झेल्नुपरेको उनको अनुभव छ । आफूलाई मात्रै होइन गाउँका अधिकांश महिला कानुनी प्रक्रियाबारे जानकारी नहुँदा हिंसामा परेको अनुभूति उनलाई हुन थालेको छ ।

गाउँघरमा बालविवाह, बहुविवाह, छाउपडी प्रथा, बोक्सीको आरोपमा कुटपिटलगायत महिला हिंसाका घटना भइरहन्छन् । तर यस्ता घटना कानुनी प्रक्रियामा नगइ केही मानिसहरू बसेर गाउँघरमै मिलाउने गरेको पार्वतीले बताइन् । कतिलाई त आफूमाथि भएको हिंसाबारे थाहासमेत हुँदैन । कानुनी अज्ञानताका कारण उनीहरू चुपचाप हिंसा सहन बाध्य छन् । कानुनी प्रक्रियामा जाँदा समाजमा पुनःस्थापित हुन नसकिने डरले उनीहरू हिंसा सहेर बस्छन् । कानुनी प्रक्रिया र न्यायिक निकायको पहुँचसमेत सहज नभएको खत्री बताउँछिन् ।

महावुकै ठाउँकै ३७ वर्षिया भविसरा सावदले महिलाहरू हिंसाका घटना लुकाएर बस्न बाध्य भएको बताइन् । कानुनी साक्षरता नहुँदाँ कहाँ जाने र के गर्ने भन्ने समस्या महिलाहरूलाई रहेको उनले जनाइन् । सावद भन्छिन्, ‘यस्ता घटना दैनिकजसो घर–घरमा छन् । बाहिर ल्याउँदा पछि कसरी पुनस्र्थापित हुने भन्ने जोखिमले महिलाहरू सहन बाध्य छन् ।’ गाउँघरमै दवाव दिएर जस्तोसुकै मुुद्दा मिलाउने गरिएकाले धेरै महिलाहरूले न्याय पाउन नसकेको उनले बताइन् । ‘गाउँका अगुवा र शिक्षितहरू नै हिंसाका घटना मिलापत्र गर्न खोज्छन्,’ उनले भनिन्, ‘महिलाहरूमा पनि कानुनी ज्ञानको निकै कमी छ । जसले गर्दा हिंसाका धेरै घटना गाउँमै सामसुम पार्ने गरिएको छ ।

सोही वडाकी दिपा खत्रीलाई थोरै भएता पनि कानुनी ज्ञान छ । तर समाजको डरले गर्दा उनी आफूले जानेको कुरा भन्न सक्दिनन् । शिक्षित दिपा भन्छिन्, ‘किताबमा एउटा पढियो, व्यवहारमा अर्कै भइरहेको छ । जानेको कुरा भन्न खोजे समाजले राम्रो मान्दैन ।’ घरघरमा महिला माथि हिंसा हुने गरेको उनी बताउँछिन् । ‘हिंसा भएको थाहा हुँदाहुँदै समाजको दवाव र प्रभावमा उजुरी नगर्ने परिपाटी छ । पीडित पक्षलाई कानुनी प्रक्रियाबारे जानकारी नहुँदा न्याय पाउनबाट वञ्चित हुने गरेका छन्’ दिपाले भनिन् ।

यस्तै सुर्खेतको बराहताल–५ की ४१ वर्षीय देविसरा गन्द्रमा मगरलाई कानुुनको विषयमा सामान्य जानकारी पनि छैन । उनको गाउँमा परम्पराका नाममा हुने विभेद तथा बहिष्करणबाट महिलाहरू पीडित भइरहेका छन् । बालविवाह, बहुविवाह, बोक्सीको आरोपमा कुटपिट, घरेलु हिंसा र पछिल्लो समय दाइजो प्रथाका कारण महिलाहरू दिनानुदिन पीडित हुने गरेका छन् । कानुनी ज्ञानको अभाव र समाजको दवावका कारण हिंसा सहेर बस्नु परिरहेको देविसराले बताइन् । उनी भन्छिन्, ‘महिला हिंसा, बालविवाह र बहुविवाहजस्ता घटना गाउँमै मिलाइन्छ । कानुनी प्रक्रियामा नगइ गाउँका शिक्षित र जान्ने मान्छेहरू बसेर यस्ता घटनाहरू मिलाउने गरिएको छ ।’

अधिवक्ता इमान सुनार मानव अधिकार हनन्का घटना दिनप्रतिदिन बढ्दो क्रममा रहेको बताउँछन् । गाउँमा परम्पराका नाममा महिलाले हिंसा भोग्न परिरहेको छ । समुुदायका नागरिकलाई बालविवाह, बहुविवाह र महिला हिंसा र दुव्र्यवहारहरू गर्दा कस्ता कानुुनी सजाय हुुन्छन् भन्ने विषयमा जानकारी नहुँदा समेत हिंसा सहेर बस्ने गरेको उनले बताए । सुनारले अझैँ पनि थुप्रै ग्रामीण बस्तीहरूमा कानुनी साक्षरताको अभाव रहेको जानकारी दिए । सामाजिक अभियानहरू विपन्न समुदायमा प्रभावकारी रूपमा लिन नसक्दा चेतनास्तरमा अपेक्षित प्रगति नभएको उनको बुझाइ छ । उनी भन्छन्, ‘महिला भएकै कारण हिंसा भोग्नुपर्छ भन्ने सोच महिलामा रहेको छ । कानुनी सचेतना महिलासँगै पुरुषलाई पनि दिन जरुरी छ ।’

महिला आर्थिक रूपमा कमजोर हुँदा हिंसाको सिकार बन्ने गरेको महिला सशक्तिकरण मञ्च नेपालका अध्यक्ष सुनिता चन्द बताउँछिन् । स्थानीय सरकारले टोलस्तरमा कानुनी सचेतना फैलाउन आवश्यक रहेको उनको भनाइ छ । टोलटोलमा वडा सदस्य, आमा समूह, टोल विकास समितिमार्फत चेतना बढाउनुपर्ने उनको सुझाव छ । हिंसामा परेका महिलालाई समाजमा पुनस्र्थापित हुन समस्या हुने गरेको भन्दै उनले त्यस विषयमा सोच्नुपर्ने बताइन् । जातीय छुुवाछुुत, बालविवाह र महिलामाथि हुने हिंसाको अवस्थामा सुधार हुन नसकेको भन्दै उनले चलाइएका कार्यक्रमसमेत प्रभावकारी बन्न नसकेको बताइन् । समुदायमा कानुनी ज्ञानको अभावले गर्दा महिलाहरू दबिएर बस्नुपरेको चन्द बताउँछिन् ।

कानुनी ज्ञान अभावकै कारण मानव अधिकार उल्लंघनका घटना पनि बढेका छन् । कर्णालीमा विगत वर्षहरूमा जस्तै सन् २०२२ मा पनि पारिवारिक विभत्स घटनाहरूको संख्या उल्लेख्य रहेको पाइएको छ । यो वर्ष घरेलु हिंसाका घटनामा दुई सय ११ जना पीडित भएका छन् । त्यसमध्ये घरेलु हिंसाका घटनामा एक सय ३२ जना, बोक्सी आरोपमा एक जना, बलात्कार घटनामा ३९ जना, बलात्कार प्रयासका घटनामा ११ जना, यौन दुव्र्यवहारको घटनामा आठ, बहुविवाह घटनामा २० जना पीडित भएको इन्सेकको मानवअधिकार वर्ष पुस्तकमा उल्लेख गरिएको छ । त्यसैगरी यो वर्ष कर्णालीमा परिवारजनबाट सात जना महिलाको हत्या भएको छ । गत वर्ष घरपरिवारबाट नौ महिलाको हत्या भएको थियो ।

प्रकाशित मितिः   ६ चैत्र २०७९, सोमबार ०५:०५