जोखिमपूर्वको सतर्कता

गर्मीयाम सुरु भइसकेको छ । गर्मीको समयमा कर्णाली प्रदेशका विभिन्न क्षेत्रमा बर्सेनि आगलागीका घटना हुन्छन् । गाउँदेखि सहरसम्मै यस्ता घटनाले ठूलो मानवीय तथा भौतिक क्षति निम्त्याउँछ । यस वर्ष पनि कर्णाली प्रदेशमा आगलागीका घटना हुन थालिसकेका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको हालसम्म प्रदेशभर ६२ वटा आगलागीका घटना भएका छन् । जसबाट दुई पुरुष र एक बालिका गरी तीन जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । ४३ घरमा भौतिक क्षति पुगेको छ । तर प्रदेशका स्थानीय सरकारले भने यसतर्फ चासो नै दिएका छैनन् । आगलागीबाट भौतिक तथा मानविय नोक्सानी भइरहे पनि स्थानीय सरकार यसप्रति गम्भीर बनेका छैनन् । प्रतिकार्य योजनामा पालिकाहरूले बेवास्ता गर्दै आएका छन् । विपद्पूर्वका तयारी र क्षति न्यूनीकरणमा अधिकांश पालिकाहरू उदासीन भएका हुन् ।

विपद्सँग जुध्न पूर्वसतर्कता अपनाउनुपर्दछ । तर आगलागीको जोखिम न्यूनिकरणका लागि कुनै ठोस पहल भएका छैनन् । स्थानीय सरकारहरू अग्नी नियन्त्रक यन्त्र (दमकल) खरिद गर्न समेत संवेदनशील बनेका छैनन् । दैलेखका ११ स्थानीय तहमध्ये नारायण नगरपालिकामा मात्रै अग्नि नियन्त्रक (दमकल) खरिद गरी सञ्चालनमा ल्याइएको छ । अन्य १० पालिकामा भने दमकल छैनन् । ती पालिकाका बस्तीहरूमा आगलागी हुँदा क्षति बढी हुने गरेको छ । जुम्लामा पनि हरेक वर्ष आगलागीका घटना हुँदा ठूलो जनधनको क्षति हुने गरेको छ । तर विपद्पूर्वको तयारी पर्याप्त हुन सकेको छैन । जुम्लाका आठ वटा स्थानीय तहमध्ये चन्दननाथ नगरपालिकामा मात्रै अग्नि नियन्त्रक (दमकल) खरिद गरी सञ्चालनमा ल्याइएको छ । विगत सात वर्षदेखि दमकल सञ्चालन गरिए पनि तालिमप्राप्त जनशक्तिको अभाव रहेको छ । दक्ष जनशक्ति नहुँदा आगो नियन्त्रण गर्न समस्या हुने गरेको छ ।

दमकल खरिद गर्नुपर्ने आवश्यकता भएपनि बजेट अभाव रहेको कतिपय पालिकाको भनाइ छ । कतिपयले भने पर्याप्त सडक पूर्वाधार नबनेका कारण दमकल प्राथमिकतामा नपरेको जनाएका छन् । दमकल आगलागी भइसकेपछि छिटो त्यसलाई नियन्त्रणमा लिन प्रयोग गरिने यन्त्र हो । यद्यपि, स्थानीय सरकारले आगलागी हुन नदिन आवश्यक सतर्कताका लागि योजना बनाएर कार्यान्वयन गर्नु पनि उत्तिकै जरुरी छ । आगलागीका घटना हुन नदिन विपदपूर्वको तयारी र घटना भइसकेपछि अपनाउनुपर्ने सकर्तकताका विषयमा नागरिक सचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ । तर यस्ता अभियानका लागि सरकार गम्भिर देखिदैन । जसले गर्दा हरेक वर्ष आगलागीकै कारण पनि ठूलो क्षतिबेहोर्नुपर्ने बाध्यता कायम छ ।

प्रकाशित मितिः   ५ चैत्र २०७९, आईतवार ०५:०३