ठेकेदारको लापरबाहीले सडक अलपत्र

सुर्खेत: सुर्खेतको प्रमुख पर्यटकीय स्थल काँक्रेविहार जाने सडक वर्षौंदेखि अलपत्र परेको छ । मंगलगढी चोकदेखि लाटीकोइलीको शिवमन्दिसम्मको सडक स्तरोन्नति नहुँदा स्थानीय नागरिकले सास्ती बेहोर्नुपरेको छ । लाटीकोइली क्षेत्रका नागरिकका साथै काँक्रेविहार हेर्न आउने पर्यटकलाई सडकको नाजुक अवस्थाले दुःख दिने गरेको छ ।

स्थानीय गणेश सुवेदी सडकले सुविधाभन्दा बढी सास्ती दिएको बताउँछन् । ‘हामीलाई यो सडकले वर्षौंदेखि दुःख दिएको छ,’ उनले भने । निर्माणाधिन सडक धुलाम्मे छ । पानी परेको समयमा हिलाम्मे हुन्छ । सडकमा खाल्डाखुल्टीको समस्या पनि उत्तिकै छ । ‘यो सडकमा खाल्डाखुल्डी र धुलोधुवाँले हिँड्नै सकिने अवस्था छैन’ सुवेदी भन्छन्, ‘स्थानीयवासीलाई त दैनिक समस्या भइरहेको छ, काँक्रेविहार हेर्न आउने पर्यटकलाई पनि सास्ती दिएको छ । कहिले धुलोले र कहिले हिलोले गर्दा हामीलाई निकै समस्या भएको छ ।’

लामो समयदेखि जीर्ण अवस्थामा रहेको सडक स्तरोन्नति थालिएको हो । तर स्तरोन्नतिको काम नै अलपत्र परेको छ । सडक स्तरोन्नतिमा ढिलाइ हुँदा नागरिकले सास्ती भोग्नु परिरहेको छ ।

वर्षौंदेखिको सडक सास्तीले स्थानीय नागरिक हैरान भएका छन् । दैनिक उक्त बाटो भएर विद्यालय जाने विद्यार्थीहरू थप समस्यामा पर्ने गरेका छन् । विद्यार्थीहरू स्कुल जादाँ होस् यो ज्येष्ठ नागरिकहरूलाई सडकमा हिँड्नै अप्ठ्यारो हुने गरेको स्थानीय कोपिलाकुमारी थापा बताउँछिन् । अलपत्र सडककै कारण पटक–पटक दुर्घटना हुने गरेको समेत उनले जनाइन् । ‘अहिले सडक धुलाम्मे छ’ उनले भनिन्, ‘यसले हाम्रो स्वास्थ्यमा असर पुगेको छ । बालबालिका बढी मर्कामा परेका छन् । यो छिटो बनेको भए सबैलाई सहज हुने थियो ।’

त्यस्तै स्थानीय रमादेवी शाक्यलाई भने आउनै लागेको वर्षात्ले चिन्तित बनाएको छ । ‘पानी पर्ने समय सुरु हुनथाल्यो’ शाक्य भन्छिन्, ‘कसरी हिँड्ने ? मुख्यबजारको पानीको नाला समेत यो नालामा जोडेको हुँदा यसले नालाको नजिक भएको बस्तीलाई झन् बढी दुःख दिने गरेको छ ।’

सडक निर्माणमा ठेकेदार कम्पनीले लापरबाही गरेको छ भने सम्बन्धित निकायले पनि बेवास्ता गरेका छन् । यसअघि प्रदेशको पूर्वाधार विकास निर्देशनालय र वीरेन्द्रनगर नगरपालिकाले संयुक्त रूपमा ठेकेदार कम्पनीसँग सम्झौता गरेर काम अघि बढाएका थिए । तर अहिले पूर्वाधार विकास निर्देशनालयले मात्रै जिम्मा लिएर ठेकेदार कम्पनीसँग नयाँ सम्झौता गरेको छ । पछिल्लो पटक २०७८ मा पुनः सम्झौता गरिएको थियो ।
कर्णाली प्रदेश पूर्वाधार विकास निर्देशनालयले २०७८ मंसिर १४ मा अमर–सिस्ने नेपाल–मेघा कम्पनीसँग सडक स्तरोन्नतिका लागि सम्झौता गरेको हो । सम्झौताअनुसार २०८० असार १५ गतेसम्म काम सम्पन्न भइसक्नुपर्ने छ । १२ करोड ७६ लाखमा ठेक्का सम्झौता गरिएको हो । सम्झौताअनुसार कम्पनीले काम भने अघि बढाएको छैन । दुई हजार चार सय मिटर सडकको काम अहिलेसम्म ३० प्रतिशत मात्र सकिएको छ । पूर्वाधार विकास कार्यालयका अनुसार दुई करोड ७७ लाख रूपैयाँ भुक्तानी भइसकेको छ । ठेक्का सम्झौता सकिन लगभग तीन महिना मात्र बाँकी रहेको पूर्वाधार विकास निर्देशनालयका सब–इन्जिनियर प्रेमचन्द पाण्डेले बताए । उनले पछिल्लो पटक ठेकेदारले निर्धारित समयभित्रै काम सक्ने प्रतिवद्धता जनाएको जानकारी दिए । कार्यालयले नियमित निगरानीसमेत गरिरहेको उनले जनाए ।

ठेकेदारको लापरबाहीले सडक स्तरोन्नतिको काममा ढिलाइ हुँदा नागरिकले सास्ती भोग्नु परेको वीरेन्द्रनगर–९ का वडाअध्यक्ष ऋषि गिरी बताउँछन् । यद्यपि, जतिसक्दो छिटो बाटो निर्माण गर्न वडाले पहल गरिरहेको उनको दाबी छ । लामो समयदेखि जीर्ण अवस्थामा रहेको सडक स्तरोन्नति थालिएको हो । तर स्तरोन्नतिको काम नै अलपत्र परेको छ । सडक स्तरोन्नतिमा ढिलाइ भएको भन्दै केही दिनअघि स्थानीयले सडक अवरुद्ध पारेका थिए । सडकको काम सुरु गर्ने सहमति भएपछि विरोध भने रोकिएको छ ।

प्रकाशित मितिः   ५ चैत्र २०७९, आईतवार ०५:०५