सुर्खेतका लागि उडेको जहाज गन्तव्यमा नपुगेरै फिर्ता

सुर्खेत: शनिवार सुर्खेतका लागि उडेको जहाज गन्तव्यमा नपुगेरै फिर्ता भएको छ । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्धको जहाज प्राविधिक समस्या देखिएपछि ३२ मिनेटमै काठमाडौं फर्किएको हो ।

शनिवार बिहान त्रिभुवन विमानस्थलबाट ८ बजेर १६ मिनेटमा उडेको बुद्धको ९एन–एएमडी कलसाइन भएको जहाजको इन्डिकेटरमा प्राविधिक समस्याको संकेत देखिएपछि ८ बजेर ४५ मिनेटमा काठमाडौं फर्किएको हो । बुद्ध एयरका अधिकारीहरूले भने गतिबारे जानकारी दिने यन्त्र स्पिडोमिटरमा समस्या देखिएपछि जहाज फर्काइएको बताएका छन् । जहाजमा ६२ जना सवार थिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्गत फ्लाइट सेफ्टी स्टयान्डर्ड विभागले उक्त जहाज र चालक दललाई तत्कालका लागि ग्राउन्डेड गर्न पत्राचार गरेको छ । बुद्धले जहाजको समस्या जाँच गरी मर्मत सम्भार गरेर मात्र उडाउने बताएको छ । उक्त जहाजका यात्रुहरूलाई बुद्धले अर्को जहाजमा राखेर सुर्खेत पठाएको छ ।

यसअघि गत फागुन अन्तिम साता श्री एयरलाइन्सको जहाजमा पनि प्राविधिक समस्या देखिएपछि श्रीका सबै जहाजहरू ग्राउन्डेड गरी अनुसन्धान थालिएको थियो ।

यसैबीच खराब मौसमका कारण हिमाली जिल्ला हुम्लामा शनिवार कुनै पनि उडान हुन सकेन । बिहानैबाट मौसममा आएको खराबीको कारण उडान नभएको हो ।

समिट एयर हुम्लाका इन्चार्ज गोविन्द लामाले बिहानैबाट मौसम खराब भएको कारण उडान हुन नसकेको बताए । समिट एयरले बिहानैबाट उडान भर्ने तालिका रहेको भएपनि हुम्लामा मौसम बिग्रिएर पानी परिरहेका कारण उडान नभएको हो । हाल समिट एयरले हुम्ला मात्र नभएर कर्णालीका हिमाली जिल्लामा उडान भर्दै आएको छ ।

शुक्रवार एउटा मात्र उडान भरेको समिट एयरले शनिवार भने कुनै उडान भर्न नसकेको हो । तारा र सीता एयर नेपालगञ्जबाट पोखरा र काठमाडौं फर्केपछि ती जहाजले उडान भर्न छाडेका छन् । यद्यपि, हप्ताको एक दिन भर्नुपर्ने सेडुुअल उडान भने भर्ने गरेका छन् ।

मौसमका कारण उडान नभए पनि दुुवैतर्फका यात्रुु मर्कामा परेका छन् । दैनिक उपभोग्य सामान पनि ढुवानी हुन सकेन । उडान नभएपछि नेपालगञ्जबाट हवाई मार्गबाट ढुवानी भएर आउने कुखुुराको मासुु नआएप्छि सिमकोटलगायत आसपासका क्षेत्रमा मासुुको समेत अभाव देखिएको छ ।

प्रकाशित मितिः   ५ चैत्र २०७९, आईतवार ०५:०१