जडिबुटीमा लगानी

प्राकृतिक रूपमा सम्पन्न कर्णाली प्रदेश जडिबुटी उपलब्धताका हिसाबले पनि समृद्ध छ । यहाँ एक सयभन्दा बढी प्रजातिका महङ्खवपूर्ण जडिबुटी पाइन्छन् । तर पर्याप्त मात्रामा जडिबुटीको सदुपयोग हुन भने सकेको छैन । व्यावसायिक रूपमा जडिबुटी खेती गरेर प्रशस्त आम्दानी गर्न गरिने र नागरिकको जीवनस्तरमा सुधार गरेर समद्ध प्रदेश बनाउन सकिने सम्भावना हुँदाहुँदै पनि जडिबुटी व्यवसायप्रति राज्य उदासीन देखिन्छ । बेवास्ता गरिरहेको छ । कतिसम्म भने कर्णालीमा जडिबुटी संकलन तथा प्रशोधन केन्द्रसमेत निर्माण हुन सकेको छैन । संकलन केन्द्र नहुँदा यहाँ प्राप्त जडिबुटी संकलन हुन सकेको छैन भने प्रशोधन गरेर उचित बजारिकरणमा समेत कठिनाइ हुने गरेको छ ।

११ वर्षअघि निर्माण थालिएको जडिबुटी संकलन तथा प्रशोधन केन्द्र अलपत्र परेको छ । कर्णाली प्रदेशका १० जिल्लामा पाइने जडिबुटी संकलन गर्न वीरेन्द्रनगर ९ स्थित काँक्रेविहारमा २०६८ सालदेखि केन्द्रका लागि भवन निर्माणको काम थालिएको थियो । तर ११ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न भएको छैन । सुर्खेत उद्योग वाणिज्य संघले निजी–साझेदारी मोडेलमा केन्द्र निर्माणको काम अघि बढाएको हो । जसमा अहिलेसम्म भवन निर्माणका लागि मात्रै चार करोड रूपैयाँ खर्च भइसकेको छ । तर भवन अझै पूरा हुन सकेको छैन । निर्माणाधीन अवस्थामा रहेको केन्द्रको काम अहिले बजेट अभावले रोकिएको छ । कर्णालीमा संकलन केन्द्र नहुँदा अहिले कर्णालीको जडिबुटी लुम्बिनी प्रदेशको नेपालगञ्जमा संकलन हुने गर्दछ । कर्णालीमा एक सय ४७ प्रजातिका जडिबुटी पाइन्छन् । तर संकलन र प्रशोधन केन्द्र नहुँदा ती जडिबुटीको सही सदुपयोग हुन सकेको छैन । बजारीकरणमा पनि सरकारले बेवास्ता गरिरहेको छ । केन्द्रको भवन नै नबन्दा हिमाली जिल्लाबाट संकलन गरेर ल्याएको जडिबुटीले मूल्य नपाएको जडिबुटी व्यावसायीहरू बताउँछन् । जडिबुटी संकलन केन्द्र नहुँदा संकलनका साथै प्रशोधनमा समेत समस्या हुने गरेको छ । समयमा भवन बनेको भए कर्णालीको जडिबुटी कुहिनबाट जोगिने थियो । बजारीकरणमा पनि ठूलो सहयोग पुग्थ्यो । अहिले कर्णालीको जडिबुटी भण्डारण गर्न काठमाडौं पठाउनु पर्ने बाध्यता छ । तर यता करोडौ खर्च गर्दा पनि संकल तथा प्रशोधन केन्द्रको भवनसमेत सम्पन्न भइसकेको छैन, बनाइएको भवन पनि दिनप्रति दिन जीर्ण बन्दै गएको छ ।

रकम अभावमा निर्माण कार्य ढिलाइ भएको जनाइएको छ । प्रशोधन केन्द्र नभएकै कारण कर्णालीको बहुमूल्य जडिबुटी सस्तोमा निकासी भइरहेको छ । यो अवस्थाको अन्त्य गर्न तीनै तहका सरकार गम्भिर हुन जरुरी छ । प्रदेश सरकार र संघीय सरकार पनि कर्णाली प्रदेशको जडिबुटीलाई उपयोग गरेर आर्थिक समृद्धि हासिल गर्नेतर्फ केन्द्रित हुन जरुरी छ ।

प्रकाशित मितिः   ३ चैत्र २०७९, शुक्रबार ०५:०३