स्थापना दिवसमा अन्तरक्रिया

सुर्खेत: वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था लि. वीरेन्द्रनगर सुर्खेतको २०औँ स्थापना दिवसको अवसरमा बिहीवार वीरेन्द्रनगरमा अन्तरक्रिया गरिएको छ । ‘कृषि शिक्षा स्वास्थ्य र रोजगार, वातावरण सेवाका मूल आधार’ भन्ने मूल नाराका साथ सहकारी तथा लघुवित्तहरूको पछिल्लो अवस्थाका विषयमा अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा संस्थाका संस्थापक सल्लाहकार कमलराज रेग्मीले सहकारी तथा लघुवित्त कार्यक्रम विशेषतः मुलुकको गरिबी निवारणमा महŒवपूर्ण औजार भएपनि अहिले नकारात्मक अभियान र धारणाहरू आइरहेको बताए । सहकारी तथा लघुवित्त कार्यक्रमहरूले देशका दुर्गम गाउँ वस्तीहरूमा गएर प्रभावकारी किसिमले वित्तीयलगायतका सामाजिक सेवाका क्रियाकलापहरू सञ्चालन गरेको बताउँदै केही सीमित संस्थाका गतिविधिका कारण सिँगो लघुवित्त क्षेत्र नै अहिले सबैको निसानामा परेको उनको भनाइ थियो ।

संस्था सञ्चालक समितिका अध्यक्ष चन्द्रलाल आचार्यको अध्यक्षतामा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा संस्थाका सञ्चालक समिति, लेखा समिति तथा विभिन्न उपसमितिका पदाधिकारीहरू, शेयर सदस्यहरू एवम् अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   ३ चैत्र २०७९, शुक्रबार ०५:०१