गाउँगाउँमा एम्बुलेन्स

थुप्रै आलोचनाका बीच पनि स्थानीय सरकारले गरेका कतिपय काम प्रशंसनीय छन् । शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका क्षेत्रमा केही उल्लेखनीय काम गरेका छन् । प्रगति हासिल गरेका छन् । एम्बुलेन्स र शववाहन खरिद गरी सञ्चालन गर्नु पनि त्यस्तै उल्लेखनीय कार्यहरूमध्येकै हुन् । कर्णालीमा पर्याप्त पूर्वाधारको विकास भइसकेको छैन । सबै ठाउँमा सुविधायुक्त स्वास्थ्य संस्था छैनन् । भौगोलिक विकटताका कारण बिरामीलाई सजिलै र समयमै स्वास्थ्य संस्थासम्म पु¥याउनसमेत समस्या हुने गरेको छ । त्यसैले पालिकाहरूले एम्बुलेन्स सञ्चालन गर्दा नागरिकलाई सहज भएको छ । अकालमा ज्यान गुमाउनुपर्ने अवस्थामा न्यूनिकरण भएको छ । स्वास्थ्य संस्थामा नागरिकको पहुँच बढेको छ ।

कर्णाली प्रदेश हिमाली र पहाडी जिल्लाहरूको भू–भाग हो । यहाँका स्वास्थ्य संस्थाहरूसम्म सहज पहुँच छैन । जसले गर्दा एम्बुलेन्स अपरिहार्य छ । तर स्वास्थ्य संस्थाहरूले पर्याप्त एम्बुलेन्स सञ्चालन नगर्दा बिरामीलाई आवश्यक परेको समयमा नपाइने समस्या छ । पछिल्लो समय पालिकाहरूले एम्बुलेन्स सञ्चालन गर्न थालेका छन् । जुम्लाको चन्दननाथ नगरपालिकाले मंगलवारदेखि एकैसाथ एम्बुलेन्स र शववाहन सञ्चालनमा ल्याएको छ । जिल्लामा पहिलोपटक शववाहन सञ्चालन भएको हो । शववाहनसँगै चन्दननाथ नगरपालिकामा पहिलो पटक एम्बुलेन्स पनि सञ्चालनमा आएको छ । कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा पालिकाले शववाहन र एम्बुलेन्स खरिद गरेर सञ्चालनमा ल्याइएको हो । शववाहन सञ्चालनमा आएसँगै नागरिकलाई सहज भएको छ । विविध कारणले मृत्युवरण गरेका व्यक्तिलाई अन्तिम संस्कारका लागि लैजाने क्रममा निजी सवारी साधनलाई ठूलो रकम तिर्नुपर्ने बाध्यता हटेको छ । यस्तै दैलेखको नारायण नगरपालिकाले नागरिकको सहजताका लागि बुधवारदेखि शववाहन सञ्चालन गर्ने भएको छ । यसअघि पालिकामा शववाहन नहुँदा नागरिकलाई सास्ती हुने गरेको थियो । जिल्ला बाहिर उपचारका लागि लगिएका आफन्तको मृत्यु हुँदा अन्य सवारी साधनले शव बोक्न नमान्दा समस्या हुने गरेको हो ।

पछिल्लो समय कर्णालीका अधिकांश पालिकाले एम्बुलेन्स र शववाहन सञ्चालनमा ल्याएका छन् । स्थानीय आवश्यकतालाई ध्यानमा राखेर एम्बुलेन्स र शववाहन खरिद गरिएको जनप्रतिनिधिहरू बताउँछन् । शववाहन नहुँदा नागरिकले शवलाई डोको, बोरा र सडक पुगेको ठाउँमा समेत ट्याक्टरमा बोक्ने गरेका थिए । पालिकाहरूले प्राकृतिक प्रकोपले, भिरबाट लडेको, बेवारिसे लासको शूल्क लिदैनन् भने अन्यको हकमा अवस्था हेरेर शूल्कमा सहुलियत गर्ने गरेका छन् । यसले नागरिकलाई थप सहजता प्रदान गरेको छ । बिरामीहरूलाई समयमै स्वास्थ्य संस्थामा पु¥याउन तथा शवलाई एक ठाउँबाट अर्को ठाउँमा पु¥याउन पालिकाले सञ्चालन गरेका एम्बुलेन्स र शववाहन प्रभावकारी भएका छन् ।

प्रकाशित मितिः   २ चैत्र २०७९, बिहीबार ०५:०३