बजेट नहुँदा निर्माणमा ढिलाइ

सुर्खेत: ११ वर्षअघि निर्माण थालिएको जडिबुटी संकलन तथा प्रशोधन केन्द्र अलपत्र परेको छ । कर्णाली प्रदेशका १० जिल्लामा पाइने जडिबुटी संकलन गर्न वीरेन्द्रनगर ९ स्थित काँक्रेविहारमा २०६८ सालदेखि केन्द्रका लागि भवन निर्माणको काम थालिएको थियो । तर ११ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न भएको छैन ।

सुर्खेत उद्योग वाणिज्य संघले निजी–साझेदारी मोडेलमा केन्द्र निर्माणको काम अघि बढाएको हो । जसमा अहिलेसम्म भवन निर्माणका लागि मात्रै चार करोड रूपैयाँ खर्च भइसकेको छ । तर भवन अझै पूरा हुन सकेको छैन । निर्माणाधीन अवस्थामा रहेको केन्द्रको काम अहिले बजेट अभावले रोकिएको छ । कर्णालीमा संकलन केन्द्र नहुँदा अहिले कर्णालीको जडिबुटी लुम्बिनी प्रदेशको नेपालगञ्जमा संकलन हुने गर्दछ ।

कर्णालीमा एक सय ४७ प्रजातिका जडिबुटी पाइन्छन् । तर संकलन र प्रशोधन केन्द्र नहुँदा ती जडिबुटीको सही सदुपयोग हुन सकेको छैन । बजारीकरणमा पनि सरकारले बेवास्ता गरिरहेको छ । केन्द्रको भवन नै नबन्दा हिमाली जिल्लाबाट संकलन गरेर ल्याएको जडिबुटीले मूल्य नपाएको जडिबुटी व्यावसायीहरू बताउँछन् ।

जडिबुटी संकलन केन्द्र नहुँदा संकलनका साथै प्रशोधनमा समेत समस्या हुने गरेको छ । ‘समयमा भवन बनेको भए कर्णालीको जडिबुटी कुहिनबाट जोगिने थियो’ व्यावसायी राजेन्द्र विष्ट भन्छन्, ‘बजारीकरणमा पनि ठूलो सहयोग पुग्थ्यो ।’ उनले भवन अलपत्र पर्दा सरकारी रकमको दुरूपयोग भएको जनाए । विष्टका अनुसार अहिले कर्णालीको जडिबुटी भण्डारण गर्न काठमाडौं पठाउनु पर्ने बाध्यता छ । तर यता करोडौ खर्च गर्दा पनि संकल तथा प्रशोधन केन्द्रको भवनसमेत सम्पन्न भइसकेको छैन, बनाइएको भवन पनि दिनप्रति दिन जीर्ण बन्दै गएको छ । स्थानीयका अनुसार अहिले संकलन केन्द्रको भवन बालबालिकाले खेल्ने ठाउँमा परिणत भएको छ । ‘कर्णाली जडिबुटीमा आत्मनिर्भर भनेर के गर्ने, हिमालबाट संकलन गरेर ल्याउँछौँ, प्रदेश राजधानीमा समेत संकलन र भण्डारण गर्ने ठाउँ छैन,’ व्यावसायी विष्ट भन्छन्, ‘भण्डारण गर्ने स्थान नहुँदा जडिबुटी कुहिएर खेर जाने गरेको छ ।’

जडिबुटी संकलन तथा भण्डारण केन्द्र नहुँदा संकलन गरेर ल्याएको जडिबुटी सड्ने र गुणस्तर कायम गर्न निकै चुनौती हुने व्यावसायीहरूको भनाइ छ । तत्काल केन्द्र निर्माण गर्नुका साथै हिमाली जिल्लाका जडिबुटीलाई त्यही प्रसोधन गर्ने वातावरण बनाउन सके मात्र सहज हुने उनीहरू बताउँछन् । व्यावसायीहरूका अनुसार अहिले कर्णालीकाको जडिबुटी नेपालगञ्ज हुँदै भारततर्फ सस्तो मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता छ । यदी सुर्खेतमै संकलन र प्रशोधन गरेर बिक्री गर्न समे जडिबुटीले मूल्य पनि राम्रो पाउने बताइन्छ ।

सुर्खेत उद्योग वाणिज्य संघले भने जतिसक्दो छिटो भवन निर्माण गरेर केन्द्र सञ्चालनमा ल्याउन पहल भइरहेको जनाएको छ । बजेटको जोहो भएमा २०८१ भित्रै प्रशोधन केन्द्र सञ्चालनमा आउने दाबी संघका अध्यक्ष लक्ष्मण कँडेलले गरे । उनका अनुसार काँक्रेविहारको करिब सात कट्ठा जमिनमा भवन निर्माण गरिएको भएपनि भित्रका संरचना बनाउन बाँकी छ । एक हजार पाँच सय ७० टन क्षमताको जडिबुटी संकलन केन्द्र बनाउने गरी भवन निर्माण गरिएको हो । ‘अब निर्माणको कामलाई तीव्रता दिनेछौँ’ अध्यक्ष कँडेलले भने ।

रकम अभावमा निर्माण कार्य ढिलाइ भएको जनाइएको छ । प्रशोधन केन्द्र नभएकै कारण कर्णालीको बहुमूल्य जडिबुटी सस्तोमा निकासी भइरहेको बताउँदै अध्यक्ष कँडेलले अब जतिसक्यो चाँडो सञ्चालन गर्न प्रदेश सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । उनका अनुसार भौतिक संरचना निर्माणको ८० प्रतिशत काम सकिएको छ ।

कर्णाली प्रदेशमा प्रशस्त जडिबुटी रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ । जडिबुटीकै व्यावसायिक खेती गर्न सकिने सम्भावना रहेको मन्त्रालयका सचिव मोहनदेव जोशीले बताए । त्यही सम्भावनालाई मध्यनजर गर्दै जडिबुटी खेतीको लागि प्रदेशलाई चार क्षेत्रमा विभाजन गरिएको छ ।

प्रकाशित मितिः   २ चैत्र २०७९, बिहीबार ०५:०५