पूर्वाधार विकास गर

भौतिक पूर्वाधार विकासका काममा जहिल्यै ढिलाइ हुने गरेको छ । विभिन्न व्यवधान निम्तिदा निर्माणअघि नै आयोजनाहरु संकटमा पर्दै आएका छन् । औद्योगिक विकासका पनि यस्तै समस्या देखिने गरेको छ । कर्णाली प्रदेश औद्योगिक विकासमा पछि छ । यहाँ पर्याप्त उद्योग स्थापना हुन सकेका छैनन् । ठूला उद्योग छैनन् । उद्योग स्थापनाका लागि भएका प्रयास पनि सफल हुन सकेका छैनन् । पूर्वाधार विकास नहुँदा सुर्खेतमा दुई ठूला सिमेन्ट उद्योग सञ्चालनमा आउन सकेका छैनन् । पश्चिम सुर्खेतको चौकुनेमा एक दशकअघि निर्माण अनुमति पाएको ‘सुर्खेत सिमेन्ट उद्योग’ सञ्चालन हुन नसकिरहेको बेला गत वर्ष स्वीकृत भएको ‘सूर्यतारा सिमेन्ट उद्योग’ पनि पूर्वाधार अभावकै कारण सञ्चालन हुन सकेको छैन । यी दुवै एकै पालिकामा सञ्चालन हुने उद्योग हुन् ।

चार दशकअघि नै अध्ययन गरिएको सुर्खेत सिमेन्ट (चौकुने) उद्योग सञ्चालनका लागि २०६६ मा मुक्ति श्री प्रालिलाई जिम्मा दिइएको थियो । तर सरकारबाट अनुमति पाएको एक दशक बितिसक्दासम्म पनि उक्त उद्योग स्थापना हुन सकेको छैन । उद्योग स्थापनास्थलमा सम्पर्क कार्यालय राख्नेबाहेक निर्माणको कुनै काम अघि बढेको छैन । कम्पनीका अनुसार उद्योगका लागि करिब ९० रोपनी जग्गा अधिग्रहण गरिएको छ । दैनिक एक हजार टनभन्दा बढी सिमेन्ट उत्पादन गर्ने क्षमताको उद्योग स्थापना गर्ने योजना लामो समयदेखि अलपत्र छ । एउटा उद्योग स्थापनाअघि नै अलपत्र परिरहेको चौकुनेमा गत वर्ष मात्रै अर्को सिमेन्ट उद्योग स्थापनाका स्वीकृति भएको थियो । लगानी बोर्डले करिब १५ अर्ब लगानीमा चौकुने ९ मा सूर्यतारा सिमेन्ट उद्योग स्थापनाका लागि अनुमति दिएको थियो । स्वीकृति भएलगत्तै उद्योग दर्ता गरिएपनि निर्माणको काम भने अघि बढ्न सकेको छैन । पूर्वाधार अभावकै कारण उद्योग सञ्चालनमा समस्या भएको उक्त कम्पनीले जनाएको छ । अहिले उद्योग स्थापनास्थलमा पर्खाल निर्माणको काम भइरहेको छ । तर अन्य पूर्वाधार नहुँदा उद्योग स्थापनाको अन्य काम भने सञ्चालनमा कठिनाइ देखिएको हो । उद्योग स्थापनाका लागि कम्तीमा २२ मेगावाट विद्युत आवश्यक पर्दछ । तर आवश्यक विद्युत छैन ।

औद्योगिक विकासका लागि आधारभूत पूर्वाधार निर्माण गर्नु अपरिहार्य हुन्छ । सडकको सहज पहुँच, विद्युत उपलब्धतादेखि पानी र सञ्चारलगायतका पूर्वाधार तयार भएपछि अन्य उद्योग स्थापनामा पनि सहजता हुन्छ । तर पश्चिम सुर्खेतमा यिनै आधारभूत पूर्वाधार नहुँदा दुई ठूला सिमेन्ट उद्योग स्थापनामा कठिनाइ भएको छ । पूर्वाधार निर्माणमा राज्य संवेदनशील हुन जरुरी छ । आर्थिक विकासको मेरुदण्ड औद्योगिक विकासका लागि आवश्यक पूर्वाधार र वातावरण तयार पार्नु राज्यको दायित्व हो ।

प्रकाशित मितिः   २१ फाल्गुन २०७९, आईतवार ०५:०३