‘आगामी बजेटमा कर्णालीलाई प्राथमिकता’

सुर्खेत: नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संघीय सरकारको आगामी बजेटमा कर्णालीले प्राथमिकता पाउने दाबी गरेका छन् । आउँदो आर्थिक वर्षको बजेट कर्णालीलाई प्राथमिकतामा राखेर ल्याइने उनले बताए । ‘ठूलो भूगोल र कम जनसंख्या भएको कर्णाली र सुदूरपश्चिममा संघीय बजेट न्यून आउने गरेको यसअघिको परम्परालाई तोड्दै नयाँ बजेट ल्याउँछौँ’ शनिवार वीरेन्द्रनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खड्काले भने ।

यसअघि चुनावका बेला गरेको बाचा आगामी आर्थिक वर्षको बजेटमार्फत सम्बोधन हुने उनको भनाइ छ । ‘अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहालसहितका शीर्ष नेताहरू कर्णालीका जिल्लाहरूमा भएका चुनावी अभियानका क्रममा मैले नै कर्णालीलाई बजेटमा प्राथमिकता दिने प्रस्ताव राखेको थिएँ, त्यसमा अहिलेका प्रधानमन्त्री प्रचण्डले समर्थन जनाउनु भएको थियो,’ खड्काले भने, ‘चुनावका बेला गरेको बाचा आगामी आर्थिक वर्षको बजेटमार्फत सम्बोधन हुन्छ ।’

संघीय सांसदसमेत रहेका खड्काले भेरी किनारमा नयाँ सहर निर्माणको काम सुरु गरिएको बताउँदै छिन्चुदेखि उत्तर जोड्ने सडकलाई फोरलेनको बनाउनका लागि ठेक्का आह्वान गरिएको बताए । उनले मदन भण्डारी राजमार्ग कालोपत्रेको काम भइरहेको, भेरीको टापु खटाङमा तीन मुखे झोलुङ्गे पुलको निर्माणका लागि माटो परीक्षणको काम भइरहेको बताउँदै कांग्रेस नेतृत्वमा भएका र हुँदै गरेका कामहरू आम जनतामाझ पु¥याउनुपर्ने बताए । ‘विकास निर्माणका कामहरू गरेर मात्रै हुँदो रहेनछ, ती कामहरूका बारेमा जनतालाई जानकारी गराउन जरूरी छ,’ उनले भने, ‘टोल तहसम्म हुने छलफलमा कांग्रेस नेतृत्वमा भएका कामहरूलाई पुर्‍याउन निर्देशन दिन्छु ।’

खड्काले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि मात्रै नयाँ सरकार गठनको विषयमा छलफल हुने समेत बताएका छन् । ‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुहुन्छ,’ उनले भने, ‘त्यसपछि उहाँकै नेतृत्वमा कांग्रेससहित सरकारमा सहभागी हुन्छ ।’

प्रकाशित मितिः   २१ फाल्गुन २०७९, आईतवार ०५:०२