गाउँघरमै सेवा, नागरिकलाई सहजता
सुर्खेत: सल्यानको दार्मा गाउँपालिकाले स्वास्थ्य संस्थाको पहुँचभन्दा टाढा रहेका नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिन सुरु गरेको छ । ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिलालाई घरमै पुगेर सेवा दिन थालिएको हो । ‘घरदैलोमा स्वास्थ शिक्षा’ कार्यक्रम अन्तर्गत ‘नागरिकसँग स्वास्थ्यकर्मी भेटघाट’ गर्ने गरिएको हो ।
घरमै पुगेर उनीहरूको स्वास्थ्य अवस्था चेकजाँच गरिन्छ भने थप उपचारका लागि समेत परामर्श दिने गरिएको छ । पालिकाले यो कार्यक्रम विषेश गरी फरक क्षमता भएका, ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती तथा सुत्केरी महिला र स्वास्थ्य संस्थाको पहुँचभन्दा टाढा रहेका नागरिकलाई प्राथमिकतामा राखी सञ्चालन गरेको गाउँपालिका अध्यक्ष निमबहादुर केसीले जनाए । नागरिकले घरआगनमै स्थानीय सरकार आएको अनुभूति गर्न पाउन भनेर कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ ।
अधिकांश नागरिकले स्वास्थ्य संस्थामा गएर सेवा लिन नसक्ने अवस्था भएपछि घरदैलो कार्यक्रम थालिएको हो । पाठेघर खस्ने समस्या पहिचान र उपचार गर्न गाउँघरमै शिविरसमेत सञ्चालन गर्ने गरिएको छ । पालिकाभर दुई सय ९३ जनामा पाठेघरको मुखको क्यान्सर रोगको परीक्षण गरिएकोमा आठ जनामा रोग फेला परेको थियो ।
पालिकाले ज्येष्ठ नागरिक तथा आर्थिक रूपमा विपन्न नागरिकलाई स्वास्थ्य सेवाको सहज पहुँच पुराउन निःशुल्क एम्बुलेन्स र निःशुल्क औषधिसमेत उपलब्ध गराउँदै आएको छ । दिर्घ रोगीहरूलाई घरमै पुगेर स्वास्थ्य जाँच तथा औषधि उपचारसमेत गर्ने गरिएको छ । दम, सुगर, मधुमेहलगायत नियमित औषधि खानुपर्ने बिरामीहरूको स्वास्थ्य चेकजाँचसँगै उपचारसमेत गर्ने गरिएको हो । त्यति मात्रै होइन स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन पालिकाले सबै वडाका स्वास्थ्य चौकीलाई व्यवस्थित गरेको छ ।
यस्तै जुम्लाको सिंजा गाउँपालिकाले स्वास्थ्य चौकीमा सुत्केरी हुन प्रेरित गर्दै ‘शून्य घर सुत्केरी’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । टोल–टोलमा स्वास्थ्य स्वयम्सेविका मार्फत सचेतना कार्यक्रम पनि सञ्चालन गरेको छ । कार्यक्रमको उद्देश्य स्वास्थ्य संस्थामा सुत्केरी हुन प्रेरित गर्ने रहेको गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । उनका अनुसार अहिले सबै आमाहरू सुत्केरी हुन स्वास्थ्य संस्थामा जाने गरेका छन् । यो भन्दा पहिला असुरक्षित तरिकाले घरमै सुत्केरी हुने गरेका थिए । जसले गर्दा मातृ तथा शिशुको रोगको पहिचान नै हुन नसकी मृत्यु हुने गरेको थियो । मातृ तथा शिशु मृत्यूदर शून्य पार्ने उद्देश्यले पालिकाका ६ वटै वडाका प्राथमिक स्वास्थ्य केन्द्रलाई समेत व्यवस्थित बनाइएको छ । बिरामीको सहजताका लागि स्ट्रेचर तथा निःशुल्क एम्बुलेन्सको समेत प्रबन्ध पालिकाले मिलाएको अध्यक्ष धितालले जानकारी दिए ।
पालिकाले छोटो दुरीका लागि स्ट्रेचर तथा लामो दुरीका लागि निःशुल्क एम्बुलेन्स सेवा दिन थालेको छ । ज्येष्ठ नागरिकलाई स्वास्थ्यकर्मीले घरमै पुगेर उच्च रक्तचाप, सुगर, दमलगायत रोग जाँच गरी आवश्यक औषधि निःशुल्क उपलब्ध गराउने गरेका छन् । भौगोलिक दृष्टिले विकट बस्तीहरूमा कार्यक्रम प्रभावकारी मानिएको गाउँपालिकाले जनाएको छ । ज्येष्ठ नागरिकलाई आफ्नो स्वास्थ्य अवस्था तथा महिलालाई गर्भको बच्चाको अवस्थाका बारेमा समयमै जानकारी नहुँदा ज्यान गुमाउनुपर्ने बाध्यता भएपछि गाउँपालिकाले उक्त अभियानको थालनी गरेको अध्यक्ष धितालले बताए ।
दैलेखको आठबिस नगरपालिकाले पनि स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन गाउँपालिकाका सबै स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर (प्रसूति गृह) सञ्चालन गर्न थालेको छ । बर्थिङ सेन्टर सञ्चालनमा रहे पनि व्यवस्थित नहुँदा नागरिकले सेवा लिन खासै रुचाएका थिएनन् । अहिले स्वास्थ्य चौकीलाई व्यवस्थित बनाउँदा (प्रसूति गृह) मा सेवा लिनेको संख्या वृद्धि भएको छ । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन भौतिक संरचनासँगै दक्ष जनशक्तिलाई समेत ध्यानमा राखिएको नगरप्रमुख तर्क बडुवालले बताए । उनका अनुसार स्वास्थ्य संस्थाका सेवाबाट नागरिक सन्तुष्ट बनेका छन् ।
यसरी स्थानीय सरकारले आम नागरिकलाई स्वास्थ्य सेवाको सहज पहुँचमा पु¥याउन थालेका छन् । आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितता गर्न स्थानीय सरकारले कार्यक्रम विस्तार गर्दै लगेका छन् । स्थानीय सरकारको सक्रियतामा गाउँघरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने उचित संरचना निर्माण भएपछि ज्येष्ठ नागरिक, महिला, बालबालिका तथा विपन्न वर्गलाई सहज भएको छ ।
प्रकाशित मितिः २१ फाल्गुन २०७९, आईतवार ०५:०५
साझा बिसौनी ।