आयोजनामा प्रगति

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन आयोजना निर्माण कार्यले तीव्रता पाएको छ । निर्धारित समयअगावै पहिलो चरणको काम सम्पन्न गरेको आयोजनाले अहिले धमाधम दोस्रो चरणका कार्य अघि बढाएको हो । दोस्रो चरण अन्तर्गत बाँध र विद्युतगृहसहितका निर्माण कार्य भइरहेको छ । आयोजनाको दोस्रो चरणका मुख्य काम बाँध र विद्युतगृह निर्माणका लागि चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण निर्माण जेभीसँग २०७६ साउनमा ठेक्का सम्झौता भएको थियो । कम्पनीले दोस्रो चरणका सबै काम आर्थिक वर्ष २०७९/०८० सम्म सक्नुुपर्ने हुन्छ । हालसम्म आयोजनाको प्रगति उत्साहजनक देखिएको छ । अहिले आयोजनाको मुख्य काममा दुई सय जनाले नियमित काम गरिरहेका छन् । त्यसबाहेक अन्य सहायक योजनाहरूमा पनि दुई सयकै हाराहारीका कामदारले काम गरिरहेका छन् ।

आयोजना अन्तर्गत हाइड्रोमेकानिकल तर्फको काम तीव्र गतिमा भइरहेको छ । हाइड्रोमेकानिकल (एचएम) सम्बन्धी कामका लागि चीनको ज्हेजियाङ ओरिएन्ट इञ्जिनियरिङ कम्पनीसँग दुई अर्ब १३ करोड ७४ लाख ९३ हजार नौ सय १६ रूपैयाँमा सम्झौता भएको थियो । त्यसमध्ये हालसम्म २१ करोड २७ लाख ४५ हजार बजेट खर्च भएको छ । त्यसैगरी सिभिलअन्तर्गत ६ अर्ब १६ करोड ५२ लाख रकम सम्झौता भएकोमा दुई अर्ब ४५ करोड ७९ लाख रकम खर्च भएको छ । हेडवक्र्स, विद्युतगृह निर्माणलगायतलाई तीन चरणमा विभाजन गरेर काम भइरहेको छ । आयोजनाको इलेक्ट्रोमेकानिकल तर्फको योजना सम्पन्न गर्न तीन अर्ब २८ करोड ८० लाखको सम्झौता गरिएको छ । गत साउनमा सम्झौता गरिएकोमा हालसम्म पाँच करोड ७२ लाख बजेट खर्च भएको छ । पानी डाइभर्ट गरेर मुख्य बाँधस्थलमा ढलान गरी बबईको हात्तीखालमा पावर हाउसको जग खन्ने काम र स्लोप प्रोटेक्सनसाथै सर्ज साफ्ट निर्माणसँगै पाईलिङ्ग लगायतका काम चलिरहेको छ ।

भेरी–बबई आयोजनाको कूल ३६ अर्ब ८० करोड ७७ लाख रूपैयाँ लागतमध्ये हालसम्म १५ अर्ब ७६ करोड १६ लाख ३१ रूपैयाँ खर्च भइसकेको छ । अर्थात् आयोजनाको वित्तीय प्रगति ४२ दशमलव ८२ तथा भौतिक प्रगति ५८ दशमलव पाँच प्रतिशत हासिल भएको देखिन्छ । यसले आयोजना निर्धारित समयमै सम्पन्न हुने संकेत देखाएको छ । निर्माण सुरु भएर लामो समय अलपत्र परेका आयोजनाहरू थुप्रै छन् । तर भेरी–बबई आयोजनामा अहिलेसम्म कुनै अवरोध सिर्जना भएको छैन । निर्धारित समयमै आयोजनाको निर्माण कार्य सम्पन्न गर्न सकेमा अन्य विकास योजनाहरूलाई पनि यसले राम्रो सन्देश प्रदान गर्नेछ ।

प्रकाशित मितिः   २९ माघ २०७९, आईतवार ०५:०३