अन्तिम चरणको अन्वेषण हुँदै

जमिनमुनि चार किलोमिटरसम्म ‘ड्रिलिङ’ गरेर अन्तिम चरणको सर्वेक्षण गरिनेछ । यो सर्वेक्षणबाट पेट्रोलियम पदार्थ भएको सतह र भण्डारणको अवस्था पत्ता लगाइनेछ । आगामी फागुनभित्र ड्रिलिङ सुरु गर्ने तयारी गरिएको छ ।

सुर्खेत: दैलेखमा पेट्रोलियम अन्वेषणका लागि अन्तिम चरणको काम सुरु हुने भएको छ । यसअघि दुई चरणको अध्ययनमार्फत पेट्रोलियम पदार्थ रहेको पुष्टि गरिएको थियो । अब तेस्रो चरण अन्तर्गत पेट्रोलियम भण्डारणको अवस्था पत्ता लगाइनेछ ।

चिनियाँ प्राविधि टोलीले अन्तिम चरणको अन्वेषण गरेपछि दैलेखमा पेट्रोलियम खानीको अवस्था र व्यावसायिक उत्खनन् सम्भावनाको टुँगो लाग्ने छ । अन्तिम चरणमा हुने ‘ड्रिलिङ’ लगायतको कामपछि स्थानीय क्षेत्रमा कति पेट्रोलियम भण्डारण छ भन्ने पत्ता लाग्नेछ । अन्वेषणको प्रतिवेदनले पेट्रोलियम खानी सञ्चालन गर्न सम्भव देखाएमा उत्खनन् योजना अघि बढ्ने जनाइएको छ । आगामी फागुनभित्रै ड्रिलिङ गर्नेगरी तयारी गरिएको छ ।

चिनियाँ प्राविधिकको टोलीले २०७६ मा स्थलगत अध्ययन गरेको थियो । नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सेस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरिसकेको छ । अब ड्रिलिङमार्फत पेट्रोलियम पदार्थको अन्वेषणको थप काम अघि बढाउने तयारी भइरहेको दैलेखबाट निर्वाचित प्रतिनिधिसभा सदस्य अम्मरबहादुर थापाले जानकारी दिए ।

संघीय सरकारले पेट्रोलियम पदार्थको अन्वेषणको काम अघि बढाउन ४५ रोपनी जग्गा अधिग्रहणका लागि स्वीकृति दिइसकेको छ । गत सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गर्न स्वीकृति दिने निर्णय गरेको हो । अब चिनियाँ प्राविधिक टोलीले थप ड्रिलिङ गरेर सतहमा पेट्रोलको मात्रा पत्ता लगाउने काम गर्नेछ । प्रतिनिधिसभा सदस्य थापाले चिनियाँ प्राविधिक टोलिले जमिनमा रहेको पेट्रोलका स्टोर पत्ता लगाएर जग्गा अधिग्रहण गर्ने जानकारी दिए । ‘लगानी भन्दा उत्पादन बढ्ने देखिएमा अन्वेषणका थप काम अघि बढाइने छ’ उनले भने, ‘ड्रिलिङ गर्नका लागि साढे चार किलोमिटर जमिनमा जानुुपर्छ । सतह थाहा पाउने, भण्डारण पत्ता लगाउने काम गरिनेछ ।’ पेट्रोल रहेको कुरा पत्ता लागेकाले कति छ भन्ने कुरा पत्ता लगाउन काम अघि बढ्ने उनले जानकारी दिए ।

दैलेखको भैरवी गाउँपालिका वडा नम्बर –१ मा क्याम्प स्थापना गरेर अन्वेषणको काम थालनी हुने भएको छ । संघीय सरकारले पेट्रोलियम पदार्थको अन्वेषणको कामलाई प्राथमिकतामा राखेर काम अघि बढाउन लागेको छ । आउँदो महिनामा नै पेट्रोलियम पदार्थको अन्वेषणको कार्य प्रारम्भ हुने कर्णाली प्रदेशसभा सदस्य घनश्याम भण्डारीले बताए । उनले भने, ‘इकुपमेन्ट ल्याउँदा सडकका मोडहरू साघुँरा भएकाले सडक विभागलाई छिटो काम गर्न भनिएको छ ।’
यसअघि पहिलो र दोस्रो चरणमा गरी दुुई वटा अध्ययन गरिएको छ । अब गरिने अध्ययन अन्तिम हुने भण्डारीले बताए । उनले भने, ‘एउटा अध्ययनले पेट्रोलियम पर्दाथ हो भन्ने पत्ता लाग्यो । अर्को अध्ययनले आवश्यकता पहिचानसँगै कति क्षेत्र भन्ने पत्ता लाग्यो । अबको अध्ययन कति क्षमतामा छ भनेर गहिरो अध्ययन हुनेछ ।’ अन्तिम अध्ययन भएकाले कति क्षमताको पेट्रोलियम पर्दाथ छ भन्ने कुरा पत्ता लगाउने र गहिराई मापन हुनेछ । स्टोरेज पत्ता लागिसकेपछि उत्खनन्को काम अघि बढ्नेछ ।

चिनियाँ टोलीले दैलेखमा रहेको श्रीस्थान, नाबिस्थान र पादुकामा बलिरहेको ज्वाला पेट्रोलियम पदार्थ नै रहेको भनी विभिन्न चरणको अन्वेषणकै क्रममा जनाइएको थियो । उक्त टोलीले पहिलो चरण सम्भाव्यता अध्ययन र दोस्रो चरण ड्रिल मेशिनमार्फत अन्वेषण कार्य गरिसकेको छ ।

सरकारले नै प्राथमिकतामा राखेकाले दैलेखमा पेट्रोलियम उत्खनन् कार्य चाँडै अघि बढ्ने जिल्ला समन्वय समिति दैलेखका प्रमुख नवराज शाहीले बताए । यो योजना दैलेख र कर्णालीकै लागि महŒवपूर्ण रहेको भन्दै उनले आर्थिक विकास र जनताको जीवनस्तर विकासमा ठूलो सहयोग पुग्ने समेत जनाए । निरन्तर बलिरहेको ज्वाला अब पेट्रोलियम पदार्थका रूपमा भण्डारमा परिणत हुने र नेपालको मानचित्रमा दैलेख नयाँ रूपमा उल्लेख हुने पनि उनको भनाइ छ ।
कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्री मंगलबहादुर शाहीले पेट्रोलियम पदार्थको अन्वेषणको काम चाडै सुरु हुने आशा व्यक्त गरे । उनले भने, ‘सरकारको प्राथमिकतामा परेकाले छिट्टै यसको काम थालनी हुने देखिन्छ । त्यसका लागि आवश्यक तयारीमा प्रदेश सरकार लाग्नेछ ।’

प्रकाशित मितिः   २९ माघ २०७९, आईतवार ०५:०५