साइबर अपराधमा वृद्धि

कर्णाली प्रदेशमा प्रविधिको बढ्दो प्रयोगसँगै साइबर अपराधका घटनामा पनि वृद्धि भएको पाइएको छ । बढ्दो प्रविधिको प्रयोगसँगै साइबर अपराधका घटना पनि अस्वाभाविक तरिकाले वृद्धि भइरहेका हुन् । कम्प्युटर, मोबाइल आदिजस्ता विद्युतीय उपकरणको नेटवर्कका माध्यमबाट हुने आपराधिक कार्यलाई साइबर अपराध भनिन्छ । नक्कली फेसबुक बनाएर गालिगलौज गर्ने, चरित्र हत्या गर्ने, धम्की दिनेलगायतका गतिविधि हुने गरेको प्रहरीको भनाइ छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग गरी साइबर अपराध गर्नेहरूको संख्या बढेको हो । सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, युटुब, म्यासेन्जर, अनलाइन, इमेल, भाइबर र ह्वाट्सएपमार्फत साइबर अपराधका घटना हुने गरेको प्रहरीले जनाएको छ ।

कर्णाली प्रदेशमा मुख्य गरी फेसबुक आइडी ह्याक गर्ने, अश्लील शब्दहरू पोष्ट गरी चरित्र हत्या गर्ने, भ्रामक समाचारहरू पोष्ट गर्ने र अनलाइन ठगी गरेको प्रकृतिका धेरै उजुरी पर्ने गरेका छन् । प्रहरीका अनुसार फेसबुकमार्फत अश्लील शब्द पोष्ट गरेर चरित्र हत्या गर्नेक्रम निकै धेरै रहेको छ । पछिल्लो साढे तीन वर्षको अवधिमा प्रदेशमा साइबर अपराधका एक सय ९९ वटा उजुरी परेका छन् । सामाजिक सञ्जालमा अश्लील शब्द पोष्ट गरी चरित्र हत्या गर्नेदेखि अनलाइन ठगी गर्ने घटनाहरूमा वृद्धि भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कर्णालीमा आर्थिक वर्ष २०७६÷०७७ मा साइबर अपराधसम्बन्धी १५ वटा उजुरी परेका थिए । त्यसको तुलनामा पछिल्लो आर्थिक वर्ष २०७७/०७८ मा झन्डै तीन गुणाले उजुरी बढे । उक्त आर्थिक वर्षमा ४१ वटा साइबर अपराधसम्बन्धी उजुरी परेका थिए । आर्थिक वर्ष २०७८÷०७९ मा साइबर अपराधका एक सय उजुरी परेका थिए भने चालु आर्थिक वर्ष २०७९/०८० को यो अवधिमा ४३ वटा साइबर अपराधसम्बन्धीका उजुरी परेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । साढे तीन वर्षको अवधिमा एक सय ९९ उजुरी परेकोमा त्यसमध्ये एक सय ३० उजुरी फेसबुकमार्फत अश्लील शब्द पोष्ट गरेर चरित्र हत्या गरिएकोसँग सम्बन्धित रहेका छन् । यस्ता घटनाबाट सबैभन्दा बढी महिलाहरू पीडित बनेको प्रहरीको तथ्यांकले देखाएको छ । दिनप्रति दिन बढिरहेको साइबर अपराधको यो तथ्यांकले प्रविधिको सदुपयोगभन्दा दुरूपयोग बढी भइरहेको देखिन्छ ।

नेपालमा साइबर अपराधको कानुन नभएकाले सामाजिक सञ्जाललगायतबाट पीडित मुद्दालाई विद्युतीय कारोबार ऐनअनुसार कारबाही गर्ने गरिएको छ । उक्त ऐनको दफा ४७ मा कम्प्युटर, इन्टरनेटलगायतका विद्युतीय सञ्चार माध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएको छ । सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री, कसैप्रति घृणा र द्वेष फैलाउने सामग्री प्रकाशन तथा प्रदर्शन गर्न बन्देज छ ।

प्रकाशित मितिः   २२ माघ २०७९, आईतवार ०५:०४