मातृभाषालाई चुनौती बन्दै अंग्रेजी

भाषा मानव जीवनको सबै कुरा व्यक्त तथा प्राप्त गर्ने स्वविकसित साधन हो । त्यसैले भाषालाई मानव जीवनको कार्यसम्पादनको माध्यमका रूपमा लिइन्छ । व्यक्तिले अङ्गहरूको चाल गरेर, ध्वनि निकालेर (बोलेर) र व्यक्त गर्न खोजेको कुरालाई निश्चित संरचनामा अक्षरको÷परिचित स्थायी संकेतको आकार दिएर कागजमार्फत व्यक्त गर्दै आएको पाइन्छ । यसर्थमा भाषा सांकेतिक, मौखिक र लिखित गरी तीन रूपमा अस्तित्वमा छ ।

भाषा सबैले जन्मिएपछि सिक्न सुरु गर्छन् । सुरुवातमा भाषा सिकाइ प्रक्रिया अनौपचारिक भएपनि निकै छिटो हुन्छ । भाषा सिकाइको गुरु माता÷आमालाई मानिन्छ । आमाले बोल्ने भाषालाई मातृभाषा भनिन्छ । मान्छे आमाले सिकाएको यही भाषाको माध्यमबाट आफ्ना आवश्यकता र अनुभव व्यक्त गर्न सुरु गर्दछ । औपचारिक शिक्षा लिने कार्यमा संलग्न भएपछि उसले विद्यार्थीको कर्तव्यको रूपमा अरूको उद्देश्य पूरा गर्न अंग्रेजीलगायतका भाषा सिक्नुपर्छ । आमाले बोलेकै आधारमा वा आमाले सिकाएको भाषालाई मातृभाषा भन्दछन् भने त्यसपछि सिकिएका भाषालाई दोस्रो भाषा भनिन्छ । वर्तमान समयमा अंग्रेजी भाषामैत्री प्रविधि र प्रवृतिका कारण धेरै व्यक्तिको लागि अंग्रेजी भाषा नै दोस्रो भाषा भएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य नेपालमा कक्षा एकदेखि स्नातक तह प्रथम वर्षसम्मको पाठ्यक्रममा अंग्रेजीलाई अनिवार्य विषयको रूपमा समावेश गरी लागू गरिएको छ । कक्षा ११ र १२ मा अंग्रेजी भाषा र अंग्रेजीमा साहित्य विषयलाई ऐच्छिक विषयका रूपमा कार्यान्वयन गरिएको छ । यसका अतिरिक्त विज्ञानलगायतका केही विषयको पठनपाठन अंग्रेजी भाषामै हुँदै आएको पाइन्छ । नेपाली भाषालाई भने त्यसको ५० प्रतिशत मात्रै अनिवार्य गरिएको छ । त्यसैगरी स्नातक तहदेखि विद्यावारिधिसम्म मूल विषय अंग्रेजी लिएर अध्ययन गर्न पाउने व्यवस्था विभिन्न विश्वविद्यालयहरूमा छ । मूल्याङ्कन प्रणाली पनि अंग्रेजी भाषाको प्रवद्र्धनमा नै उद्यत देखिन्छ । परीक्षामा सोधिने प्रश्नहरू पनि मूल विषय नेपाली बाहेक अन्य सबै विषयका प्रश्नहरू अंग्रेजी भाषामा सोधिन्छन् । कक्षा ८, १०, ११ र १२ मा समेत अनिवार्य नेपालीबाहेक सबै विषयका प्रश्न पत्र नेपाली र अंग्रेजी भाषामा दिइन्छ । विज्ञान र वाणिज्य शास्त्रलगायतका विषयहरूमा पूर्ण अंग्रेजी भाषाको प्रयोग हुने गरेको छ ।

नेपालमा सञ्चालित अधिकांश निजी विद्यालयहरूले अनिवार्य नेपाली बाहेक सबै विषयमा अंग्रेजी भाषाको माध्यमबाट शिक्षा प्रदान गरिरहेका छन् । कतिपय अभिभावकहरूले त छोराछोरीले अंग्रेजी बोल्न, पढ्न र लेख्न सक्नुलाई सन्तानको ठूलो सफलताको रूपमा लिने गरेको पाइन्छ । कक्षा १० को माध्यमिक शिक्षा परीक्षामा पनि अनिवार्य नेपालीमा उत्कृष्ट (ढण्+रद्धन्एब्) कमै विद्यार्थीले प्राप्त गरेको नतिजाबाट पनि शुद्ध नेपाली कमजोर हुँदै गएको पुष्टि हुन्छ । गाउँघरमा अझै पनि ऐच्छिक अंग्रेजी र नेपाली विषयमा उपाधि हासिल गरेकालाई हेर्ने दृष्टिकोण फरक पाइन्छ भन्दा फरक पर्दैन । समुदायको नजरमा अंग्रेजी विषय लिएकालाई केही बढि जान्ने व्यक्तिसरह व्यवहार गरेको पाइन्छ ।

संवत् २०७२ मा जारी नेपालको संविधानको भाग–१ को धारा–६ ले नेपालमा बोलिने सबै भाषालाई राष्ट्रभाषाको रूपमा व्याख्या गरेको छ । त्यसैगरी धारा ७ मा नेपालको राष्ट्रिय कामकाजको भाषा नेपाली हुने व्यवस्था छ । तर नेपालको शिक्षा प्रणालीले राष्ट्र र राष्ट्रिय भाषाभन्दा अन्तराष्ट्रिय भाषामा जोड दिएको पाइन्छ । प्रदेशले प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने कुनै भाषालाई प्रादेशिक कामकाजको भाषा बनाउन सक्ने अधिकार दिएको छ । तर प्रदेश र भाषा आयोगले त्यसमा ठोस पहल गरेको देखिँदैन । मगर भाषालाई कर्णाली प्रदेशको कामकाजी भाषा बनाउन सकिने भनिए पनि हालसम्म त्यसमा काम हुन सकेको छैन । धेरैजसो सरकारी वेवसाइटहरू र तिनीहरूका दस्तावेजहरू नेपाली र अंग्रेजीबाहेक कुनै भाषामा उपलब्ध छैनन् । इण्टरनेटमा नेपालीमा प्रकाशित हुने विषयवस्तु उपलब्धताको आधारमा अति न्यून छ । निजी क्षेत्रको कामकाजी भाषा नै अंग्रेजी हो भन्दा फरक पर्दैन । अधिकांश संस्थानहरूले आफ्ना आवधिक प्रतिवेदनहरू र प्रकाशनहरू अंग्रेजीमा तयार पार्ने र प्रकाशन गर्ने गरेका छन् । केही अनलाइन संस्करणहरूले नेपाली युनिकोड समर्थन गर्ने अक्षर लिपिको प्रयोग गरेपनि डाउनलोड योग्य दस्तावेजमा कमै मात्र कार्यान्वयन भएको छ । अझ भनौँ, नेपालीहरू मौलिक आविस्कार नेपाली युनिकोडको प्रयोग तथा आफ्ना मातृभाषा लेख्न र बोल्नभन्दा अंग्रेजीमा काम गर्न सहज अनुभव गर्छन् । यसले नेपालीको अंग्रेजी भाषाप्रतिको मोहलाई स्पष्ट रूपमा प्रमाणित गर्छ ।

आधुनिक युगसँगै भाषाको महŒवमा पनि कमी आएको महशुस गर्न सकिन्छ । मल्लकालिन एक राजाले १५ ओटासम्म भाषा बोल्न सक्थे । तर हाल केही सम्प्रदायका बालबालिकाहरूमा मातृभाषी लवजसमेत हराउँदै गएको छ । प्रस्तुत तथ्यले हामी हाम्रो गौरव र इतिहास भाषाजस्तो अमूल्य मौलिकतालाई तिलाञ्जली दिइरहेको पुष्टि गर्छ । अर्को शब्दमा अंग्रेजीको पछि दौडने र आफ्नो परम्परागत भाषा जोगाउन ध्यान नदिने बानीले आफ्नो भाषाको इतिहास अध्ययन गर्ने अवसरको सिर्जना हुन सक्ने सम्भावना बढेर गएको छ । राज्यले संविधानमार्फत बहुभाषिक नीति लागू गर्ने सुनिश्चितता गरेपनि आचरणमा त्यस्तो देखिएको छैन । त्यसैले भाषालाई सर्वव्यापी प्रयोगका लागि नभइ सञ्चारका लागि सिक्नु पर्छ । बहुभाषिक नीति तुरुन्त लागू गरिनुपर्छ र भाषिक विविधतालाई देशको सम्पदाको तहमा सम्वद्र्धन गरिनुपर्छ । यसका लागि जनसहभागितामा जोड दिन रचनात्मक गतिविधि सञ्चालन गर्न सकिन्छ ।

अन्तराष्ट्रिय भाषा अंग्रेजी सिक्न चाहानुलाई सकारात्मक रूपमा लिइनुपर्छ । तर नेपाल र नेपाली भाषाभन्दा अंग्रेजीमा दक्ष हुनु एवम् मातृभाषाको लवज कमजोर हुँदै जानु चिन्ताको विषय हो । किन कि अंग्रेजीले हाम्रो मातृभाषा बोल्ने दर घटाउँदै गएको देखिन्छ । अझ भनौँ अंग्रेजी भाषाले नेपालका विविधताका पहिचान मातृभाषाहरूलाई मार्दै गएको छ । त्यसैगरी स्थानीय पाठ्यक्रम लागू गर्ने नाममा केही विद्यालयले अंग्रेजीलाई जोड दिनुले मात्रृभाषाहरूको लोप हुने सम्भावना बढेको छ । यसले नेपालजस्तो भाषिक विविधताको पहिचान बोकेको गाथा हराउन सक्छ । कतिपय समुदायका व्यक्तिलाई आफ्नो मातृभाषाको लवजमा बोल्न आउँदैन भने केहीलाई आफ्नो मात्रृभाषा पनि बोल्न आउँदैन । नेपालको सन्दर्भमा मातृभाषालाई अंग्रेजीले चुनौती बढाएको मान्न सकिन्छ । त्यसैगरी मातृभाषामा शिक्षा प्रदान गर्ने कार्य प्रभावकारी नभएकोले नेपाली र अंग्रेजी बाहेकका मातृभाषिका लागि भाषाको मौलिकता जोगाउन थप चुनौती देखिएका छन् । नेपाली मातृभाषा हुने बाहेक अरूलाई यसको खतरा दोब्बर छ । किन कि नेपाली र अंग्रेजी मात्र अनिवार्य सिकाइन्छ । त्यसमा पनि ९० प्रतिशत विषयवस्तु अंग्रेजीमा नै सिक्न प्रेरित गर्ने गरिएको छ । वैदेशिक रोजगारमा जानेहरूले सम्बन्धित देशको भाषा सिक्ने क्रम बढेको छ । यद्यपि, त्यसलाई पनि मातृभाषाको सम्वद्र्धन विपरित मान्न सकिन्छ ।

यसप्रकार अंग्रेजीप्रतिको मोह, पाठ्यक्रमको मर्म विपरितका कार्यहरू र जिम्मेवार निकायहरूमा उत्तरदायित्व तथा सञ्चारको अभाव मुख्य जडहरू मान्न सकिन्छ । नेपालको निजी शिक्षा नीतिलाई आधार मान्ने हो भने उनीहरू मौलिक पहिचान बोकेको मातृभाषाको फैलावटभन्दा अंग्रेजी भाषाको विस्तारमा ध्यान दिइरहेका देखिन्छन् । धारणाको ज्ञान मातृभाषामा भन्दा अन्य भाषामा दिन सकिँदैन । तर यो सिद्धान्त विपरित अंग्रेजीमा कण्ठाग्रह गर्न जोड दिने गरेको देखिन्छ । यसले जन्मभूमिसँग जोडिएको मातृभाषामा स्वयम् समुदायलाई नै कमजोर बनाउँदै गएको छ भने अंग्रेजी भाषाको उपस्थिति बलियो भएको छ । सोझो भाषामा उल्लेख गर्नुपर्दा नेपाल सरकार अंग्रेजीले ग्रस्त छ । जुन देशको राष्ट्रिय कामकाजी भाषा नेपाली छ त्यही देशमा पहिलो दिन अंग्रेजी विषयको मात्रै परिक्षा लिइन्छ । यस पक्षमा समयमै सन्तुलनका लागि सम्बन्धित निकायहरूले गम्भीरतापूर्वक लिई कदम चाल्न जरुरी छ । केही प्राविधिक शब्दहरू बाहेक सबै कुराको योजना र धारणा सम्बन्धित मातृभाषामा अनुवाद गर्ने कार्यमा तदारुकता देखाउनुपर्छ । राष्ट्रियतामा नकारात्मक असर पार्ने बाहेक सबै सामग्रीलाई सम्बन्धित मातृभाषाहरूमा उल्था गर्न विशेष प्रोत्साहन दिनुपर्छ ।

समग्रमा उल्लेख गर्दा नेपालमा बोलिने र अस्तित्वमा रहेका विभिन्न मातृभाषाहरूको सन्दर्भमा अंग्रेजीले प्रतिकूल असर पारेको छ । तसर्थ हाम्रा मातृभाषाहरूलाई समयमा सम्वद्र्धन तथा संरक्षण गर्न अंग्रेजी भाषामा सिमितता प्रदान गर्नुपर्छ । भाषाको बलियो आधार नै लिखित दस्तावेज भएकोले राज्यले हरेक भाषाका आधिकारिक लिखित दस्तावेज संग्रहित गर्दै निरन्तर सम्वद्र्धन र संरक्षण गर्न सक्नु पर्छ । यदि यसो हुन सकेमा नेपाल मातृभाषाको विविधताको एक महान स्थल बन्नेमा शंका गर्न सकिँदैन ।

प्रकाशित मितिः   २२ माघ २०७९, आईतवार ०५:०३