‘राजनीतिक स्थायित्व आवश्यक’
सुर्खेत: कर्णाली प्रदेशसभा स्थापनाको पाँच वर्ष पूरा भएको छ । प्रदेशसभाले शनिवार आफ्नो पाँचौ स्थापना दिवस मनाएको छ । २०७४ माघ २१ गते प्रदेशसभाको पहिलो बैठक बसेको दिनलाई स्थापना दिवसको रूपमा मनाउने गरिएको छ । सोहीअनुसार शनिवार एक औपचारिक समारोहकाबीच प्रदेशसभाको वार्षिकोत्सव मनाइएको हो । प्रदेशसभा सचिवालयले आयोजना गरेको उक्त समारोहका अतिथि वक्ताहरूले कर्णालीको विकास र कानुन निर्माणमा प्रदेशसभाले प्रभावकारी भूमिका खेल्नुपर्ने अपेक्षा व्यक्त गरेका छन् । राजनीतिक अस्थिरताले कर्णालीको संंसद्का गतिविधि पनि प्रभावित बनिरहेको भन्दै त्यसतर्फ सबै गम्भीर बन्नुपर्ने बताइएको छ । सरकार परिवर्तनसँगै संसद्मा पनि असर पर्ने भएकाले राजनीतिक स्थायित्वका लागि सबै एकजुट हुनुपर्ने औल्याइएको हो ।
वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले कर्णालीको संसद् र सरकारलाई जनताको हित र विकास निर्माणमा दत्तचित्त भएर सिर्जनात्मक भूमिका निर्वाह गर्न सुझाए । उनले अधुरा योजना सम्पन्न गर्ने र जनताको आधारभूत आवश्यकता अनुसारका नीति तथा कार्यक्रम बनाएर अघि बढ्नुपर्ने बताएका हुन् । शिक्षा, स्वास्थ्य र रोजगार सिर्जनामा सरकारको ध्यानाकर्षण गराएका उनले विकासका पूर्वाधार, विद्युतीयकरण, सिँचाइलगायतका परियोजना निर्माण गर्ने विषय तीनै तहका सरकारको प्राथमिकतामा पर्नुपर्ने धारणा राखे ।
कर्णाली सरकारका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभाको वार्षिकोत्सवमा शुभकामना मन्तव्य दिँदै कर्णालीको समृद्धिका लागि एकतावद्ध हुन आवश्यक रहेको जनाए । उनले भने, ‘कुराभन्दा पनि जनताले काम गर्न पठाएकाले नीति, ऐन, कानुन र संविधानमा रहेर काम गर्नुपर्ने अहिले आवश्यकता हो ।’ कर्णाली सरकारले प्रदेशको समृद्धिको योजना बनाएकाले त्यसको कार्यान्वयनका लागि एकजुट हुनुको विकल्प नरहेको उल्लेख छ । एकता नै राष्ट्रिय सहमितको बाटो भएको बताएका शर्माले जनता र राष्ट्रको आवश्यकतालाई आत्मसाथ गरेर काम गर्नुपर्ने औल्याए । संविधानमा समाजवाद उन्मुख व्यवस्था उल्लेख गरिएको स्मरण गराउँदै उनले अब के गर्दा समाजवादको बाटोमा पुगिन्छ भनेर बहस गर्न जरुरी रहेको बताए । सभामुख नन्दा गुरुङले कर्णालीको समृद्धि र विकासका लागि सबैको सहकार्य र समन्वय आवश्यक रहेको बताइन् । उनीले आफूले संसद्को कामकारबाहीलाई प्रभावकारी बनाउन आफ्नो समन्वयात्मक भूमिका रहने भन्दै निस्पक्ष र स्वतन्त्र तवरले सबैसँग सहकार्यको वातावरण बन्ने विश्वास व्यक्त गरिन् ।
कर्णाली प्रदेशसभाले पहिलो कार्यकालको सुरुवातमै प्रदेशको नाम र राजधानीको नाम टुँगो लगाएको थियो । पाँच वर्षको अवधिमा प्रदेशसभाले ५३ वटा कानुन निर्माण गरेको छ । अघिल्लो कार्यकालमा सत्ता राजनीतिमा फेरबदल भइरहँदा प्रदेशसभाको गतिमा भने असर परेको थियो । प्रदेशसभाका सदस्यहरू मूल दायित्वबाट विमुख भएर सत्ता राजनीतिको खेलमा रुमलिँदा कानुन निर्माण र जनजीविका सवाल आझेलमा परेकाले यो कार्यकालमा त्यसो हुन नहुने जानकारहरूले बताएका छन् । पहिलो कार्यकालमा प्रदेशसभामा पारित हुने अन्तिम चरणमा पुगेका विभिन्न क्षेत्रसँग सम्बन्धित १२ वटा महŒवपूर्ण विधेयकहरू निष्क्रिय भएका थिए । दर्जन विधेयक निष्क्रिय हुँदा प्रदेशको बजेट तथा स्रोत–साधनको लगानी पनि खेर गएको थियो ।
कर्णाली प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भइसकेको छ । पहिलो कार्यकालमा जस्तो राजनीतिक अस्थिरता हुन नदिनका लागि यो पटक सचेत हुनुपर्ने नागरिक समाजका अगुवा पीताम्बर ढकाल बताउँछन् । ‘अघिल्लो कार्यकालले कानुन निर्माण गरे पनि राजनीतिक अस्थिरताले संसद्का कामकारबाही प्रभावित भए, केही महत्वपूर्ण कानुनहरू पारित हुन सकेनन्,’ उनले भने, ‘त्यसबाट पाठ सिकेर अब ती विधेयकहरू पुनः अघि बढाउनुपर्ने आवश्यकता छ ।’ ढकालले गएका पाँच वर्षमा प्रदेशसभाकोे जग बसेकाले अब जनमैत्री कानुन निर्माणलाई प्राथमिकता दिइनुपर्ने सुझाए । प्रदेशले पाउनुपर्ने अधिकार अझैपनि पूर्णरूपमा प्रयोग गर्न नसकिएको अवस्था रहेकाले अधिकार प्राप्ति गरी सभालाई थप व्यवस्थित र शक्तिशाली संरचनाको रूपमा स्थापित गर्नुपर्ने उनको भनाइ छ ।
प्रकाशित मितिः २२ माघ २०७९, आईतवार ०५:०२
साझा बिसौनी ।