खेलकुदमा लगानी

खेलकुद क्षेत्रको विकासका लागि स्थानीयस्तरबाटै सक्रियता बढेको छ । पूर्वाधार विकासदेखि प्रशिक्षण र प्रतियोगिता आयोजनामा स्थानीय सरकारले पनि लगानी बढाउन थालेका छन् । स्थानीय सरकारले पूर्वाधार निर्माणमा लगानी गर्न थालेपछि पालिकास्तरमा खेलकुदका गतिविधि पनि बढेका छन् । खेलकुदको विकासका लागि पूर्वाधार तथा खेलाडीको क्षमता अभिवृद्धि गर्न पालिकाले लगानी बढाउन थालेका हुन् ।

दैलेखको महावु गाउँपालिकामा पालिकास्तरीय एक खेल मैदान र तीन वटा वडास्तरीय खेल मैदान निर्माणाधीन अवस्थामा छन् । चालु आर्थिक वर्षमा पालिकाले एक वडा एक खेल मैदानको कार्यक्रम पनि सुरु गरेको छ । जसअन्तर्गत पालिकाका ६ वटै वडामा खेलमैदान निर्माणका लागि बजेट विनियोजन भइ कार्यान्वयनको चरणमा छ । उक्त पालिकाले खेल पूर्वाधारका लागि प्रत्येक वडामा एक–एक लाखका दरले ६ लाख बजेट छुट्याएको हो । दैलेखकै भगवतीमाई गाउँपालिकाले पनि खेलकुदको विकासका लागि पूर्वाधारमा जोड दिइएको छ । गाउँपालिकाले खेलकुद विकास समिति गठन गरी कार्यालय स्थापनासमेत गरेको छ । पालिकास्तरीय खेलकुद प्रतियोगिता सञ्चालन, खेलाडीको व्यवस्थापन, उनीहरूको तालिम प्रशिक्षणलगायतका विषय हेर्नेगरी दुई जना कर्मचारी खटिएका छन् । संघीय सरकारले उपलब्ध गराएको डेढ करोड रकमबाट पालिकास्तरीय खेलमैदान निर्माण भइरहेको छ । तीन सय जनाले हेर्न मिल्ने ‘स्टेडियम’ निर्माणको काम अन्तिम चरणमा पुगेको छ । संघीय सरकारले हरेक वर्ष छनोटमा परेका पालिकालाई खेलकुदका स्थानीय खेल पूर्वाधार निर्माणका लागि बजेट दिँदै आएको छ । सोही अन्तर्गत भगवतीमाईमा पनि पालिकास्तरीय खेलमैदान निर्माण भइरहेको हो । नेपाल सरकारको नीतिअनुसार स्थानीय तहमा खेल पूर्वाधार निर्माण गर्दा ७० प्रतिशत केन्द्र सरकारको र ३० प्रतिशत सम्बन्धित स्थानीय तहको लगानी रहने व्यवस्था गरिएको छ । रुकुम–पश्चिमको चौरजहारी नगरपालिकाले खेल पूर्वाधारलाई प्राथमिकता दिएको छ । खेलकुद क्षेत्रको विकास अन्तर्गत नगरपालिकाले पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिएको हो ।

अघिल्लो कार्यकालमा सडक र शिक्षा, स्वास्थ्यजस्ता पूर्वाधारको विकासलाई मात्रै प्राथमिकता दिएका स्थानीय सरकारले दोस्रो कार्यकालमा भने खेल पूर्वाधारमा पनि जोड दिएका छन् । युवाहरूलाई कुलतबाट बचाउन, स्वस्थ्य बनाउन, सतमार्गमा लगाउन तथा अनुशासित बनाउन खेलकुदको महङ्खवपूर्ण भूमिका हुने भन्दै यस क्षेत्रको विकास र प्रवद्र्धनमा पालिकाहरू जुटेका हुन् । खेलकुदको विकासका लागि धमाधम योजना बनाएका पालिकाहरूलाई बजेटको भने अभाव छ । प्रदेश र संघीय सरकारसँगको समन्वयमा स्थानीय सरकारले खेल पूर्वाधार निर्माणदेखि खेलकुदका गतिविधिहरू अघि बढाउँदै लगेका छन् । यसले कर्णालीको खेलकुद विकासमा महङ्खवपूर्ण योगदान पुग्नेछ ।

प्रकाशित मितिः   १९ माघ २०७९, बिहीबार ०५:०३