आपलकालीन मूल्याङ्कन उपकरण विधिद्वारा उपचार

सुर्खेत: कर्णाली प्रदेश अस्पताल सुर्खेतले नेपालमै पहिलो पटक आपतकालीन मूल्याङ्कन उपकरण विधिबाट गरिने उपचारको मान्यता पाएको छ । विश्व स्वास्थ्य संस्था नेपालको सहयोगमा देशभरका सात वटा ठूला अस्पतालहरू यो विधि लागू गर्नको लागि छनोट भएका छन् । त्यसमा कर्णाली प्रदेश अस्पताल पनि परेको हो । कर्णाली प्रदेश अस्पतालमा धेरै बिरामीहरूले सेवा लिने भएकोले यो अस्पतालले अन्तर्राष्ट्रियस्तरको मान्यता प्राप्त विधिबाट उपचार गर्ने मान्यता पाएको अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए । आकस्मिक सेवाको गुणस्तरलाई बढाउनको लागि उक्त परियोजना सञ्चालन गरिने उनले बताए ।

यो परियोजनालाई तीन भागमा विभाजन गरी सञ्चालन गरिएको थियो । जसमा लागू हुनुभन्दा अगाडि अस्पतालमा आकस्मिक विभागमा आउने बिरामीहरूको स्वास्थ्य अवस्था तथा उपचार पद्धतीको बारेमा तथ्याङ्क संकलन गरिएको थियो भने दोस्रो चरणमा अस्पतालको सेवाको गुणस्तर अझै वृद्धि गर्नको लागि आकस्मिक विभागमा काम गर्ने सबैलाई तालिम दिइएको थियो । तालिम पश्चात् विश्व स्वास्थ्य संस्थाबाट मान्यता प्राप्त आपलकालीन मूल्याङ्कन उपकरण विधिको प्रयोग गरेर प्रदेश अस्पतालको आपतकालीन सेवालाई सञ्चालन गरिएको हो । विश्व स्वास्थ्य संस्थाका प्रतिनिधि र आपतकालीन सेवाका विशेषज्ञ प्रतिनिधि तथा स्वास्थ्य संस्थाबाट खटाइएका कर्मचारी एवम् अस्पतालका विभागीय टोलिले आपलकालीन मूल्याङ्कन उपकरण विधिको प्रयोग गरेका थिए ।

आपलकालीन मूल्याङ्कन उपकरण विधिमा उल्लेख गरिएका बुँदाहरूमा कणाली प्रदेश अस्पतालले सबै प्रक्रिया पूरा गरेकोले उक्त विधिको मान्यता पाएको अस्पताल प्रशासनले जनाएको छ । विज्ञ टोलिले नेपालभरि नै यो विधिको प्रयोग गरी एकरूपता ल्याउनको लागि कर्णाली प्रदेशबाट परियोजना सुरु गरेको छ । आपलकालीन मूल्याङ्कन उपकरण विधिको प्रयोग नेपालमै पहिलो पटक कर्णाली प्रदेश अस्पतालाई प्रदान गरिएकोले अस्पतालमा आउने बिरामीहरूलाई थप सहज हुने निर्देशक खड्काको भनाइ छ ।

प्रकाशित मितिः   १९ माघ २०७९, बिहीबार ०५:०२