स्वरोजगारका लागि सीपमूलक तालिममा जोड

सुर्खेत: स्वरोजगारको लक्ष्य हासिल गर्न सीपमूलक तालिम आवश्यक रहेको वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । प्रादेशिक दलित तथा आदिवासी जनजाती गैरसरकारी संस्थाहरूको क्षमता अभिवृद्धि तालिमका सहभागी सरोकारवालाहरूले यस्तो बताएका हुन् । लक्षित वर्गको विशेष कार्यक्रमको बजेटसमेत अन्य क्षेत्रमा लगानी गरिँदा आफूहरू मर्कामा परेको सीमान्तकृत समुदायका व्यक्तिहरूको गुनासो छ । दलित अधिकारकर्मी बसन्त विकले लक्षित वर्ग विशेष कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताए । उनका अनुसार अहिले वास्तविक लक्षित वर्गले सरकारी सुविधा पाउन सकेका छैनन् । विपन्न वर्ग विशेष कार्यक्रम गाउँ तथा वडा तहसम्म पु¥याइनुपर्ने उनी बताउँछन् । परम्परागत सीपको संरक्षण गर्दै त्यसलाई आधुनिकरण गर्नका लागि आवश्यक तालिम सञ्चालन गरिनुपर्ने विकको भनाइ छ । कर्णालीका दशवटै जिल्लाका दलित अधिकारर्मीहरू भेला भएको उक्त कार्यक्रममा बोल्दै दलित अधिकारकर्मी अमर सुनारले सरकारले अधिकारकर्मीहरूले गर्ने काममा समेत सहयोग नगरेको आरोप लगाए । क्षमता अभिवृद्धिका लागि आयोजित कार्यक्रममा सुनारले लक्षित वर्ग सरकारका सेवा सहज रूपमा उपयोग गर्नबाट वञ्चित भएको बताए । युवा, दलित, जनजातीलगायतका वर्ग तथा समुदायलाई आवश्यकताका आधारमा सीप विकास तालिमको खाँचो रहेको सुनारले औंल्याए ।

सामाजिक विकास मन्त्रालयका सचिव सन्तबहादुर सुनारले आफू दक्ष भएमात्रै सम्बन्धित क्षेत्रमा सफलता हासिल गर्न सकिने भएकाले योग्ष्ता, क्षमता र दक्षताको विकास गर्न आवश्यक रहेको बताए । सरकारले दिने सेवा, सुविधालाई जनमुखी बनाउन आवश्यक रहेको भन्दै उनले सेवा क्षेत्रलाई सहज र पहुँचयुक्त बनाइनुपर्ने उल्लेख गरे । बेरोजगारीका कारण पछिल्लो समय युवा पुस्तामा बढ्दो नैराश्यता कम गर्न युुवा लक्षित तालिम तथा स्वरोजगारका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनको जोड छ । गैरसरकारी संस्था सरकारका सारथी भएको बताएका सचिव सुनारले सरकारी र गैरसरकारी निकायको सहकार्यमा रोजगारमूलक कार्यक्रमहरू अघि बढाइनुपर्ने जनाए । प्रदेश सरकारले जुन क्षेत्रको बजेट हो त्यही शीर्षकमा खर्च गर्ने परिपाटी बसाल्दै लगेको दाबी गरेका उनले सीमान्तकृत समुदायको रोजगारी र जीविकोपार्जनमा सबै गम्भीर बन्नुपर्ने बताए ।

प्रकाशित मितिः   १९ माघ २०७९, बिहीबार ०५:०१