पाँच वर्षपछि शौचालयमा भेटियो शव

सुर्खेत: जाजरकोटमा एक जना महिलाले श्रीमान्को हत्या गरेर शव शौचालयको सेफ्टी ट्यांकीमा फालेको पाँच वर्षपछि पत्ता लागेको छ । प्रहरीका अनुसार भेरी नगरपालिका–६ सिस्नेकी भद्रकला कामीले २०७४ पुस ३० गते श्रीमान्को हत्या गरी शव शौचालयमा गाडेकी थिइन् । यो घटना अहिलेसम्म गुपचुप थियो । जाजरकोट प्रहरीले मंगलवार उक्त घटनाबारे जानकारी प्राप्त गरी अनुसन्धान अगाडि बढाएको हो । भद्रकलाले लाठ्ठिले हान्दा उनका श्रीमान् काले कामीको मृत्यु भएको र मुत्युपछि शव शौचालयमा फालेको प्रहरी अनुसन्धानबाट खुलेको छ । भद्रकला र उनका छोराहरू गोविन्द विक तथा तुल्सीराम विकले शव घर नजिकै शौचालयमा पुरिदिएका थिए । उक्त कुरा अहिलेसम्म पत्तो लागेको थिएन । अहिले सो विषयमा प्रहरीले अनुसन्धान बढाउँदा काले कामीको शव शौचालयमा पुरेको अवस्थामा भेट्टाएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले बताए । उनका अनुसार शव शौचालयको खाडलमा पुरेको गोप्य सूचनाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली घटना स्थलमा पुगेर शौचालयको खाडल उत्खनन् गर्दा काले कामीको शव भेटिएको श्रेष्ठले बताए । उनका अनुसार काले कामीको पुरै दाँतसहितको खप्पर ९टाउको०, प्लास्टिकको डोरीले बाँधिएको ज्याकेट, पाइन्ट र सोही ज्याकेट पाइन्टभित्र मानव कङ्गाल हड्डीहरू फेला परेको छ । प्रहरीका अनुसार भद्रकला र उनका छोरा तुल्सीराम विकलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान अगाडि बढाइरहेको छ ।

प्रकाशित मितिः   १९ माघ २०७९, बिहीबार ०५:०१